मानव बेचबिखनको जरो

मानव बेचबिखनको जरो

विभिन्न अध्ययनअनुसार हातहतियार र लागुपदार्थ ओसारपसारपछि विश्वमा अर्को समस्या मानव बेचबिखन पर्छ। यो समस्या नेपालमा पनि पछिल्ला दिनमा निकै जर्जर रूपमा देखा परेको छ। पाँच महिनाभित्र ६ स्थानबाट दुई सय २९ जना नेपालीको उद्धार गरिएको भन्ने सरकारी तथ्यांकले यसलाई पुष्टि गरिसकेको छ। गरिबी, सूचनाको अभाव, लैंगिक हिंसा, महत्वाकांक्षाजस्ता कारणले मानिस बेचबिखनको जोखिममा छन्। यसलाई न्यूनीकरण गर्न सरकारले प्रभावकारी रणनीति बनाउन सकेको छैन। बनेका गतिविधिलाई रोक्न बनाइएका कानुनी व्यवस्थाको कार्यान्वयन पक्ष पनि फितलो छ।

कुनै पनि व्यक्तिलाई जबर्जस्ती तथा धोखाद्वारा शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्य मानव बेचबिखन तथा ओसारपसार हो। पहिले देहव्यापार गराउन नेपाली महिला मानव बेचबिखन तथा ओसारपसारको सिकार हुन्थे। अहिले अपराधीको मनसाय त्यत्तिमा मात्र सीमित छैन। चेली वा बालबालिका मात्र नभई अब जो–कोही बेचबिखन तथा ओसारपसारबाट प्रभावित हुन सक्छन्। यसको मतलव हो, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति र यसका कारण पनि परिवर्तन भइरहेका छन्। यसले प्रभावितहरूको क्षेत्र पनि फराकिलो बनाएको छ।

दुई वर्षअघि राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको ‘मानव बेचबिखनको अवस्था’ नामक अध्ययन प्रतिवेदनले पनि यसलाई पुष्टि गर्छ। ०७२ सालको भूकम्पपछि धेरै बालबालिका टुहुरा भएका र बेचबिखनको जोखिममा रहेको प्रतिवेदनको सार छ। बेचबिखन तथा ओसारपसारका मुख्य प्रवृत्तिमा नक्कली विवाह, राम्रो रोजगारीको आश्वासन, यात्रासम्बन्धी नक्कली कागजात देखाई आफन्तको प्रयोग गर्ने गरेको पनि प्रतिवेदनले औंल्याएको छ। यसरी बेचिनेमध्ये अधिकांशलाई रोजगारीको प्रलोभन देखाएर मुलुक कटाउने गरिएको छ। बेचबिखनमा अपरिचित व्यक्ति संलग्न हुने विगतको प्रवृत्तिमा अहिले परिवर्तन आएको छ। आफन्त तथा चिनजानका मानिस नै यस्ता कार्यमा संलग्न हुने गरेका छन्।

मुख्य समस्या के हो भने आफन्तबाटै बेचिएर उद्धार गरी ल्याइएकामध्ये पनि अधिकांशले प्रहरीमा उजुरी दिन सक्दैनन्। कतिले त्रासका कारण उजुरी दिँदैनन् भने कतिले कानुनी बाटा नबुझेर घटना बाहिर ल्याउन सकिरहेका छैनन्। प्रहरीकहाँ उजुरी परेर पनि पक्राउ परेकामध्ये अधिकांश व्यक्ति यस्ता कार्यमा संलग्न एजेन्ट मात्र छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गिरोहका मुख्य नाइकेहरू सधैँ प्रहरीको छायामा पर्छन्।

एजेन्टहरू पक्राउ परे पनि मुख्य नाइके पक्राउ गर्न नसकिएपछि उनीहरू मुलुक बाहिर बसेरै भए पनि नयाँ एजेन्टमार्फत यस्ता कार्यलाई निरन्तरता दिन सक्रिय रहन्छन्। मानव बेचबिखनका प्रवृत्ति र पात्र परिवर्तन भए पनि यसलाई न्यूनीकरण गर्न सरकार भने असमर्थ छ। एक पटक पक्राउ परेर छुटेका व्यक्ति पुनः यस्तै कुकर्ममा लाग्ने गरेका समाचार पनि सार्वजनिक भइरहेका छन्। यस्ता व्यक्तिलाई बेलाबखत प्रहरीले पक्राउ पनि गरिरहेकै छ। यस्ता घटनाले कानुनी व्यवस्थाअनुसार कारबाही गरेर मात्र मानव बेचबिखनको समस्या समाधान नहुँदोरहेछ भन्नेसमेत देखाएको छ। तसर्थ यस्ता घटना न्यूनीकरणको मुख्य उपाय भनेको जनचेतना नै हो। यस्ता विषयमा जनचेतना जगाउन स्थानीय स्तरमै तालिम सञ्चालन गर्ने र यस्ता तालिममा सहभागीहरूको सञ्जाल नै बनाएर एक ठाउँबाट अर्को ठाउँमा सूचना प्रवाह गर्न सकिन्छ।

मुलुक संघीय संरचनामा गएको छ। हरेक स्थानीय सरकारले मानव बेचबिखनबारे विशेष अभियान सञ्चालन गर्न नीति तथा कार्यक्रममै समावेश गर्न सक्छन्। यसका लागि संघीय सरकारले सहजकर्ताको भूमिका खेल्ने हो भने मानव बेचबिखन निरूपणका लागि अर्को प्रभावकारी कदम हुन सक्छ। त्यसका साथै स्थानीय सामाजिक क्लबलगायत बाल तथा आमा समूहलाई यसमा परिचालन गर्न सकिन्छ। जे–जसरी हुन्छ, सरकारका तीनै तह लागिपरेर यो जघन्य अपराध निमिट्यान्न पार्नु जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.