बाजुरा जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो
बाजुरा : जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ।उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइते सबैलाई सेनाको हेल्किप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकल कलेज लगिएको छ।क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको जीप कर्णाली करिडोरअन्र्तगत जगन्नाथ गाउँपालिका- ५ भुवाखोलामा दुर्घटना भएको हो।
क १ ज २१ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ बस्ने २५वर्षीय रामबहादुर शाही र कैलाली टिकारपुर ४ का चालक २६ वर्षीय रमेश बोगटी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धबसिंह भाटले बताए। जीपमा सवार १६ जनामध्ये २ जना भने शकुसल रहेको प्रहरीले बताएको छ।
घाइते हुनेमा मुगुको खत्याड गाउँपालिका ६ का २८ वर्षीय उवजन शाही, १७ वर्षीय राजेन्द्र शाही, १८ वर्षीय महेन्द्र शाही, ४५ वर्षीय मनकिस्न उपाध्याय, १७ वर्षीय टेक रावल, १६ वर्षीय रमेशबहादुर शाही, १७ वर्षीय तिलकराज उपाध्याय रहेका छन्।
स्वामीकार्तिक खापर १ बस्ने १५ वर्षीय जगत रावल, सोही गाउँपालिका ४ बस्ने ५५ वर्षीय लालवीर चदारा रहेका छन्। जगन्नाथ गाउँपालिका ५ का १९ वर्षीय टंक कामी, २ का २७ वर्षीय जना विक, ५ वर्षीय महेश्वरी कामी रहेको छ।
जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताएको छ। गाडीमा धेरै सवार र कच्ची बाटो भएकाले उकालोमा चढन नसकेर पछाडी फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताए।जीप पिलुचौरबाट कालिकोट जीतेगडातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर गएको वैशाखबाट सञ्चालनमा आएको थियो। जीप मात्र सञ्चालनमा ल्याउने सहमतिमा सडक सञ्चालनमा आएको थियो। कर्णाली करीडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १ सय ४५ किलोमिटर रहेको छ। कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा रहेको छ।