बाढी प्रभावित क्षेत्रमा पुगेर देउवाले भने : मन्त्रीहरु हेलिकप्टरबाटै फर्किए, हामी आयौँ
सिरहा : बाढी प्रभावितहरुलाई सरकारले राहत बाँड्ने काममा ढिलाइ गर्न नहुने भन्दै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् ।
देउवाले शुक्रवार सिरहाको बाढी प्रभावित क्षेत्रमा नीरिक्षण गर्ने क्रममा पीडितलाई राहत चाँडै दिनुपर्ने बताए । उनले कमला नदीको बाढीबाट पीडित भएका सिरहा नगरपालिका ६ बसपिटा, वडा नम्बर १४ सुकचैना र गागन खोलाको बाढीबाट प्रभावित औरही गाउँपालिका २ तुलसीपुर गाउँ नीरिक्षण गरे ।
‘संघीय सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर माथिबाटै हेरेर फर्के हामी अहिले मधेशको जिल्लामा स्थलगत नीरिक्षण गर्दैछौँ,’ नेता देउवाले भने । बाढीबाट घर पूर्ण रुपमा गुमाएकाहरुलाई सरकारले बासको व्यवस्था गर्नुपर्ने देउवाको भनाइ थियो ।
साथै अब फेरि यसरी बस्तीहरु डुबानमा नहुन दिनको लागि सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल चलाउनुपर्ने उनको सुझाव छ । यस विषयमा संसदमा कुरा राख्ने पनि उनले बताए ।