मुस्लिम नेत्री ओमरलाई अमेरिकाबाट लखेट्नै चाहेका हुन् त ट्रम्पले ?
‘तिमी आफ्ना शब्दले मलाई आक्रमण गर्न सक्छौ, तिमी आफ्ना आँखाले मलाई काट्न सक्छौ, तिमी आफ्नो घृणाले मलाई मार्न सक्छौ, तै पनि म हावा झैँ उठ्नेछु...’
माया एन्जेलोको यो लोकप्रिय कविता अमेरिकी विधायिका इयान ओमरको जीवनमा झण्डै मिल्नगयो । ओमरले आफ्नो ट्वीटरमा उक्त कविता पोस्ट गरिसक्दासम्म अमेरिकी राजनीति इयान ओमर वा डोनल्ड ट्रम्प भनेर दुई कित्तामा विभाजित जस्तै भएको छ ।
खासमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी मूलकी मुस्लिम अमेरिकी विधायिका ओमरलाई सोमालिया नै फर्काउनुपर्ने प्रतिक्रिया दिएपछि त्यहाँको राजनीति तातेको हो । यतिसम्म कि, ट्रम्पको पक्षमा नारावाजी नै भएको छ ।
तर यस्तो टिप्पणीलाई अमेरिकामा रंगभेदी विचारको रुपमा पनि व्याख्या गरिएको छ । त्यसो त, ट्रम्पले ओमरलाई सोमालिया फर्कन मात्रै भनेनन्, उनले सोमालिया एक असफल देश भन्दै टिप्पणी समेत गरे ।
साँच्चिकै अमेरिकी विधायिका ओमरले देश छाड्नुपर्ने हो त ? यसबारे अमेरिकी न्युज च्यानलले पछिल्ला केही दिनयता हरेक दिन बहस गर्दैआएका छन् ।
ओमर भने ‘अमेरिकी नीतिमाथि आलोचना गर्नु भनेको अमेरिकालाई घृणा गर्नु नभएको’ बताउँछिन् । साथै आफूजस्ता मानिसलाई अमेरिका बस्ने वातावरण नभएको उनको प्रतिक्रिया थियो । ट्रम्पलाई उनी एक ‘पाखण्डी’ भन्दै टिप्पणी गर्छिन् ।
ओमरलाई अहिले थुप्रै महिला अधिकारकर्मी तथा स्वतन्त्र नागरिक उभिएका छन् । सामाजिक संजालमा त इयानको पक्षमा ह्यासट्याग अभियान नै सञ्चालन भएका छन् ।
को हुन् इयान ओमर ?
३७ वर्षीया ओमर सोमालियन मूलकी मुस्लिम राजनीतिज्ञ हुन् । ‘डेमोक्रेटिक फार्मर लेबर पार्टी’को तर्फबाट निर्वाचित ‘कंग्रेस ओमन’ ओमर अधिकारकर्मीको रुपमा पनि चिनिन्छिन् । खासमा उनी अमेरिकामा सोमालियन मूलकी पहिलो विधायिका हुन् । रसिदा त्लाइबसँगै उनी पहिलो मुस्लिम महिला विधायिका पनि हुन् ।
मोगादिसुमा जन्मिएकी ओमर परिवारमा सातौँ सन्तानमध्ये कान्छी छोरी हुन् । उनी २ वर्षको उमेरमै आमाको मृत्यु भएको थियो । मिनेसोट्टास्थित उनी त्यहाँको प्रतिनिधिसभामा २०१६ मै निर्वाचित भएकी थिइन् । यसअघि भने उनी शिक्षणमा थिइन् ।
ओमर मानवअधिकारकर्मीको रुपमा समेत विभिन्न अभियानको नेतृत्व नै गरिसकेकी छिन् । भेनेजुएला संकट, अरबिक मुद्दा, इजरायल–प्यालेस्टाइनी द्धन्द्धको क्रममा पनि उनले प्रतिपक्षी आवाज उठाएकी थिइन् ।
यसबाहेक न्युनतम पारिश्रमिकको विरुद्धमा र तेस्रोलिंगी समुदायको पक्षमा पनि उनले आवाज उठाएकी थिइन् । त्यसो त, ओमरलाई ज्यान मार्ने धम्की समेत पाएकी छन् । फोनबाटै उनको ज्यान मार्ने भन्दै दुईपटक धम्की आएको थियो । यसबाहेक उनले आफूमाथि भएको शोषणका घटना पनि सार्वजनिक गरेकी थिइन् ।
पछिल्लो समय यीनै प्रभावशाली युवतीको मुद्दा अमेरिकामा पेचिलो बनेको छ । राष्ट्रपति ट्रम्पलाई समेत ओमरमाथि गरेको टिप्पणीका कारण आउने चुनाव असहज हुने अपेक्षा गरिएको छ ।
त्यहाँको ठूलो बौद्धिक समुदायले ट्रम्पलाई ‘रंगभेदी’, ‘पाखण्डी’ जस्ता टिप्पणी गर्दै अभियान नै सञ्चालन गरेको छ । चुनावकै चहलपहलमा त्यहाँका थुप्रै मिडियाले ओमरलाई साथ दिएका छन् ।
किन रिसाए त ट्रम्प ?
ट्रम्पले ओमरलगायत चार महिला सांसदलाई अमेरिका छाड्नसक्ने भन्दै प्रतिक्रिया दिएपछि नै राजनीतिक माहोल तात्यो । ओमरलाई उनले नाम नै किटान गरी जहाँबाट आएको त्यहीँ फर्कनुपर्ने भन्दै ‘तुच्छ’ टिप्पणी गरेका थिए ।
ट्रम्प आखिर किन यति धेरै असहिष्णु भए त ? उनका अतिपय अभिव्यक्तिले उनलाई रुखो र रंगभेदी भएको पुष्टि पनि गर्छ । धर्म, जात, लिंग, रंग, सम्प्रदायबारे उनले विना हिचकिचावट यसअघि पनि बोलेका छन् ।
किन त्यसो गर्छन् त उनी ? आलोचना हुनसक्ने ख्याल हुँदाहुँदै पनि यस्ता विवादित टिप्पणी गर्नुको पछाडि उनी आफ्नो परम्परागत कित्ता प्रष्ट पार्न चाहन्छन् । चुनावी माहोल तयार गर्नकै लागि पनि उनले यसरी कित्ता प्रष्ट गरेको बुझिन्छ ।
‘मेक्सिको पर्खालमा तारबार लगाउने,’ ‘आप्रवासीलाई लखेट्ने’ जस्ता प्रतिक्रिया दिएर ‘अमेरिकन फस्र्ट’को राष्ट्रवादी मुद्दालाई ट्रम्पले जानाजान मलजल गरेका थिए । त्यसैगरी अहिले पनि उनी रंगभेदी परम्परावादी सोचलाई प्रश्रय दिइरहेकै छन् ।
एकै अभिव्यक्तिबाट घुमाउरो पारामा आप्रवासी मुद्दा र धार्मिक मुद्दाबारे पक्ष–विपक्षको कित्ताकाट गराए । अन्ततः उनको यो अभिव्यक्ति पनि पहिले झैँ नश्लीय राष्ट्रवादकै श्रृंखला हो ।
-एजेन्सीहरुकाे सहयाेगमा