क्रिकेटको ह्याङओभर
डेढ महिना लामो विश्वकप क्रिकेटको उन्नाइसौं संस्करण भर्खरै सकियो। ‘यस पटकको विश्वकपमा अन्तिम खेलमा क्रिस गेलले गरेको रन आउट क्या खतरा। ओपनिङ ब्याट्सम्यान तामिम इकवालको ब्याट र कप्तान मुर्तजाको बलले त केही लछारेन तर पनि बंगलादेशका सकिब अल हसनको अल राउन्ड प्रदर्शनचाहिँ हो के ! न्युजिल्यान्डको ‘क्याप्टेन कुल’ केन विलियम्सन त बबालै हो। तर पनि विचराको केही लागेन आखिरमा। विराट कोहलीको ढर्रै बढी। सुपरओभरको ह्याङओभरले कति दिन सताउने हो किवी टोलीलाई ? ’ अफिस, कलेज, क्यान्टिन, बाटोघाटोमा क्रिकेटप्रेमीमाझ हुने गरेका यस्ता चिरबिर सुनिँदैन अब। तर यसका प्रतिध्वनि भने समवेत गुञ्जिरहनेछन्।
क्रिकेट र आक्रोश
आक्रोश (अर्थात् अग्रेसन) को विशेष भूमिका रहन्छ क्रिकेटमा। खेलमैदानमा तीव्र गतिका बलरले यदाकदा ‘बाउन्सर’ बलिङ गरेर विपक्षी ब्याट्सम्यानलाई त्रस्त मानसिकतामा राख्छन्। फुकेर रन लिन सक्दैनन् ब्याट्सम्यानले। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एक ओभरमा दुइटासम्म बाउन्सर बल फाल्ने अनुमति दिएको छ, सन् २०१२ को अक्टोबरबाट। बाउन्सर बलबाट खेलाडी घाइते हुनु त सामान्य हो। तर यसैको आघातले ज्यान गुमाउनेमा अस्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युज पनि पर्छन्। सन् २०१४ मा घरेलु प्रतियोगिता खेलिरहँदा सिन अवोटको बाउन्सर प्रहारबाट उनी मरे। त्यसैले त क्रिकेट खेल पूर्णतः निरापद भने छैन।
साथसाथै मनोवैज्ञानिक दबाब सिर्जना गर्न शब्दवाण बर्साउने प्रचलन पनि व्याप्त छ क्रिकेटमा। अस्ट्रेलिया सधैं अग्रपंक्तिमा रह्यो यस मामलामा। ‘स्लेजिङ’ पनि भनिने यो प्रकरणको सुरुआत नै अस्टे«लियाबाट भयो। विस्तारै अन्य टिमले पनि उसको सिको गर्न थाले। सौरभ गांगुली र रिक्की पोन्टिङ वा ह्यान्सी क्रोनिए र स्टिभ वा बीचको मैदानभित्र र बाहिर हुने वाकयुद्घ र त्यसको मनोवैज्ञानिक दबाबको स्थिति क्रिकेटको थप आकर्षण बन्थ्यो, यसले खेलमा रोमाञ्चकता थपिँदै जान्थ्यो।
अस्ट्रेलियाका पूर्व लेग स्पिनर सेन वार्नका लागि त ‘स्लेजिङ क्रिकेटका लागि प्रभावकारी अस्त्र हो’ रे। अस्ट्रेलिया र पाकिस्तानबीच सन् १९९० मा भएको एउटा म्याचमा पाकिस्तानी ब्याटसम्यान जावेद मियांदाद क्रिजमा थिए, बलिङ गर्दै थिए मर्भ ह्युज। मियांदादले ह्युजलाई भने, ‘साह्रै मोटो छौ तिमी, के क्रिकेट खेल्न आएको ? तिमी त बस चालक पो हुनुपर्ने।’ एकछिनमा ह्युजकै बलमा मियांदाद आउट भए। खेलमैदान छोड्दै गरेका उनलाई ह्युजले भने, ‘टिकट प्लिज।’ तर पछिल्ला वर्षमा स्लेजिङ व्यक्तिगत गालीगलौजमा केन्द्रित हुँदा तनावसँगै झडपका घटनाले खेलभावनामा प्रतिकूल असरसमेत पार्न थाल्यो।
आमजीवनभन्दा माथिको सोच र अभ्यासलाई ‘हाई कल्चर’ भनी बुझ्ने हो भने क्रिकेट हेर्नु पनि ‘लक्जरी कल्चर’मा पर्न सक्ला। तर क्रिकेटप्रतिको लगाव बढ्दो छ।
टी २० अर्थात् २० ओभरको खेलको सुरुआतसँगै परम्परागत क्रिकेट अर्कै मोडमा पुगिसक्यो। खेलमा प्रयोग हुने नर्तक नर्तकीहरू (चियरलिडर्स)मार्फत खेललाई मनोरञ्जनबाट ग्ल्यामरतिर धकेलिँदै छ। इन्डियन प्रिमियर लिग अर्थात् आईपीएल यस्तै व्यावसायिक २०-२० क्रिकेट प्रतियोगिता हो। अथाह धनराशी छ त्यसमा। त्यसैले त दसैंबजारका मालझैं उच्च मूल्यमा अनुबन्धित हुन्छन् ख्यातनामा खेलाडीहरू। फुटबलमा जस्तै हरेक टिमले विश्वभरिका खेलाडी किन्छन्। एउटै टिमबाट खेल्न थालेपछि भाइचारा बढ्ने नै भयो, स्लेजिङ कम हुने नै भयो। त्यसैले त विगतमा देखिने कटुता र आक्रोशको पारो ह्वात्तै तल झरेको छ क्रिकेटमा अहिले।
क्रिकेट र कूटनीति
कूटनीतिका विविध माध्यममध्ये खेल कूटनीति पनि अगाडि नै छ। चीन अमेरिकाबीचको राजनीतिक तनाव मत्थर गर्न सन् १९७१ मा दुई देशका खेलाडीबीच टेबुलटेनिस खेलाएर कटुताको ‘आइसब्रेक’ भएको थियो। ‘पिङपोङ डिप्लोमसी’को रूपमा निकै चर्चित भयो यो घटना। खेल र राजनीति यसरी जेलिएका छन् आपसमा अन्तर्देशीय सम्बन्धको हकमा। रंगभेदी नीतिका विरुद्घ सन् १९९० अघिसम्म दक्षिण अफ्रिकामाथि प्रतिबन्ध थियो, यो टोली लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरै रह्यो।
भारत र पाकिस्तानबीचको तनाव कम गर्न पनि क्रिकेट कूटनीति अवलम्बन गरिएको छ यदाकदा। सन् २००५ मा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको आह्वानमा पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ दुई देशबीचको एउटा क्रिकेट प्रतियोगिता हेर्न भारत पुगेका थिए। यही घटनाले ‘इन्डिया ट्राइज क्रिकेट डिप्लोमेसी’ शीर्षकमा कभरेज पायो दी न्युयोर्क टाइम्समा। जिम्बाबेका तत्कालीन शासक रवर्ट मुगावेको विरोधमा इङ्ल्यान्डले म्याच बहिष्कार गरेको घटना पनि ताजै छ क्रिकेटप्रेमीमाझ।
क्रिकेट र वर्षा
छाना पूरै ढाकिएको अस्ट्रेलियाको मेलवर्न स्टेडियम त अपवाद भइगयो। अन्यथा फुटबलजस्तो पानी पर्दा पनि खेलाउन सम्भव छैन क्रिकेट। वर्षा कति भयानक तगारो बन्नसक्छ भन्ने त यस पटकको विश्वकपमै देखियो। वर्षाकै कारण राम्रै लयमा खेलिरहेका देश पनि प्रतियोगिताबाट बाहिरिएका उदाहरण थुप्रै छन्। सन् १९९२ को विश्वकपमा वर्षाले प्रभावित खेलमा ‘डकवर्थ लेविस’ नियमबमोजिम १ बलमा २२ रनको असम्भव लक्ष्यको सिकार बनेर सेमिफाइनलबाट बाहिरिएको थियो दक्षिण अफ्रिका। मैदानको अवस्था र टस कसले जित्यो र सोहीअनुसार ब्याटिङ वा फिल्डिङ के रोजियो, त्यसमा क्रिकेट खेलको गति र दिशा दुवै सोझिने नै भयो।
क्रिकेट र समर्थक
कुनै टोली वा देशलाई समर्थन गर्नु कसैको नितान्त व्यक्तिगत विषय हो। तर अन्य खेलमा झैं क्रिकेटमा पनि समर्थकको सकस पनि पेचिलो विषय बन्न जान्छ। गत साल भारतका एकजना क्रिकेटप्रेमीले आफूलाई विराटभन्दा अस्ट्रेलिया र इङ्ल्यान्डका ब्याट्सम्यान मन पर्ने खुलासा गरे। विराटको रिसको पारो चढिहाल्यो। उनले कटाक्ष गरे, ‘त्यसो भए किन भारतमा बस्नू ? जुन देशको ब्याट्सम्यान मन पर्छ, त्यही देश गए हुन्छ।’ यस्तो लाग्छ- कमाइधमाइदेखि सत्ता सोपानको भरपर्र्दो माध्यम मात्र होइन; भारतमा अन्ध राष्ट्रवाद झल्काउने गतिलो क्षेत्र पनि बन्दै छ क्रिकेट। अस्ट्रेलिया र इङ्ल्यान्डको समर्थनमा त यस्तो असहिष्णुता देखियो भने कुनै भारतीय मुसलमानले पाकिस्तानको समर्थन गर्छु भन्यो भने के होला अवस्था ? बंगलादेशका हिन्दूहरूको पीडा पनि उस्तै छ। उनीहरू चाहेर पनि भारतीय क्रिकेट टिमको खुला समर्थन गर्न सक्दैनन्। पाकिस्तानी मूलका बेलायती नागरिकको द्विविधा पनि समान होला।
खेल मनोरञ्जनको माध्यम ठान्छन् धेरैले। आमजीवनभन्दा माथिको सोच र अभ्यासलाई ‘हाई कल्चर’ भनी बुझ्ने हो भने क्रिकेट हेर्नु पनि ‘लक्जरी कल्चर’मा पर्न सक्ला। तर क्रिकेटप्रतिको लगाव बढ्दो छ। भारतमा त क्रिकेटको छायाँमा अन्य खेलहरू अस्तित्व बचाउन संघर्षरत छन्। भारत र पाकिस्तानका लागि क्रिकेट प्रतिष्ठा मात्र नभएर एक अलग लगाव वा धर्मजस्तै बनिसक्यो। यी दुई टिमबीच खेल हुँदा त्यहाँका सञ्चारमाध्यम नै युद्घमैदानमा उत्रेझैं गरी प्रस्तुत हुने गर्छन्। यस्तै प्रतिष्ठाको लडाइँ देखिन्छ, अस्ट्रेलिया र इङ्ल्यान्डबीचको ‘एसिज टेस्ट’ शृंखलामा पनि।
क्रिकेट र मिलेमतो
खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ अर्को भाइरस हो क्रिकेटको। सट्टेबाजहरू पैसाको बिटो लिएर खेलाडीको पछि लागिरहेका हुन्छन्। निद्रा त्यागी त्यागी जाग्राम बसेर हेरेको म्याच ‘अल्रेडी फिक्स्ड’ भएको रहेछ भने कस्तो लाग्ला दर्शकलाई ? आनन्द लिँदै हेरिएको खेल फगत एक अभिनय हुँदैन त त्यतिखेर ? अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत र पाकिस्तानका खेलाडीको खातामा खेल मिलेमतोको दुर्नामीको आलो घाउ र गहिरो खत बढी भेटिन्छ। सन् २००० मा भारत भ्रमणका बेला तत्कालीन दक्षिण अफ्रिकी कप्तान ह्यान्सी क्रोनिए आफ्ना केही साथीसहित मिलेमतोमा फसे। पछि क्रिकेट जीवनबाट टाढिनु पर्यो र अन्ततः २००२ मा दुनियाँबाटै। सन् २००७ को विश्वकपमा त मिलेमतोको लहरो तान्दै जाँदा पहरो नै गर्जियो। फलतः पाकिस्तान टोलीका तत्कालीन प्रशिक्षक वव उल्मरको होटलभित्रै हत्या भयो। अफसोस्, जसरी हामीकहाँ लाउडा काण्ड, धमिजा काण्ड, वाइड बडी काण्ड, मदन-आ िश्रत हत्याकाण्ड जस्ता काण्डैकाण्ड रहस्यमै छन् अझै; क्रोनिए, उल्मर आदिको मृत्युसँगै खेल मिलेमतोको डरलाग्दो सञ्जाल भने पटाक्षेप हुन सकेन कहिल्यै। ठूला माछा नसमातिने नियति उस्तै रहेछ जताततै— चाहे राजनीतिमा होस् या खेलमा।
अन्त्यमा
उपनिवेशवादको जनक देश इङ्ल्यान्डबाट सुरु भएको क्रिकेट खेलको सबैभन्दा बढी फैलावट दक्षिण एसियामै देखिन्छ यतिखेर। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानजस्ता विश्कप खेल्ने देश मात्र होइनन्; नेपालजस्ता इमर्जिङ टोलीका लागि पनि अन्य क्षेत्रभन्दा क्रिकेटले नै सम्भावना बोकेको छ ‘ग्लोबल लाइलाइट’ पाउने दिशामा। हाम्रा लागि नयाँ आशापुञ्ज बनेको छ क्रिकेट निराशाबीच पनि।