ड्याम् ड्याम्
यो त्यही सहर हो
साँघुरा गल्लीहरुमा
श्रीपेचधारी चोक चोकमा
अनि देवालयको छेउछाउमा
आप्mनै शरीर धरौटी राखेर जित्न हिडेका थियौं
एउटा लामो युद्ध
जसको मोर्चा सम्हाल्नेको अनुहार सपाट थियो
बादल डम्म लागेको एक बिहान त्यो अनुहार
कृत्रिम घाम बोकेर आइपुगेको थियो हाम्रो आँगनमा
र हामी उभिएको एक चोक्टो भूगोल देखाउँदै भनेको थियो
हेर्नुस् त त्यो पहिरो, तपार्इंंहरुकै पहिचानको त हो
उबडखाबड परेको त्यो गोरेटो, तपाईंहरुकै जिन्दगीको हो
पहेलिँदै गएको छ, तपाईंहरुको हरियो अस्तित्व
हामी तपाईंहरुलाई स्मरण गराउन आइपुगेका हौं
कि तपाईंहरुले लगाइराख्नु भएको लबेदा कसैले च्यातिसकेको छ
त्यसैले तपाईंहरुको आङ प्रस्टसँग देखिइरहेको छ
अब तपाईंहरुले थाहा पाउनुपर्छ
किन त्यो शिरको कुलागी एकातिर मात्र ढल्किरहेको छ ?
कसरी तपाईंहरुको अँगेनुबाट अगुल्टो चोरियो ?
उसले अझ देब्रे मुठ्ठी कस्दै भनेको थियो
आउनुस् हामीसँग
एउटा लामो यात्रा तय गरौं
एउटा गहिरो संवेदना खन्नुछ
च्यातिएको लबेदा सिलाउनुछ
पत्ता लगाउनुछ,
कुन किराले खाईरहेको छ हाम्रो अस्तित्वको जरा ?
अब अगुल्टो चोर्ने हातहरुमा हतकडी लगाउनुछ
त्यो शिरको कुलागी सन्तुलित राख्नुछ
सुनेपछि संवेदनाको आकाश छोएर बोलिएका भाकाहरु
भेटेपछि हाम्रै गोरेटो भएर बगेका पैतालाहरु
अनि उभरिएपछि हाम्रै जस्तो देखिने अनुहारहरु
एउटा दमित युग फेर्न लालायित हुँदै
उमेरको बहीखाता बन्द गरेर
हामीले उठाएका थियौं औजार
र प्रयोग गरेका थियौं-
ड्याम् ड्याम
अचानक
एक अपरान्ह त्यो लामो युद्धको
एकदमै छोटो अन्त्य गरेर
गायब भयो त्यो सपाट अनुहार
लामो समयपछि
अचेल, टेलिभिजनका स्क्रिनहरुमा
त्यो सपाट अनुहार
पल्याक् पुलुक् गर्छ
एक पटक आँखा गोल गोल घुमाउँछ
आप्mनो अनुहार फुकालेर संसद्को डेस्कमा राख्छ
अनि हाम्रो काढिएको छालामा लेखिएको ऐनमा
ल्याप्चे ठोक्छ-
ड्याम् ड्याम
उसले नबिर्सनुपर्ने हो
यो खप्परभित्र अझै सुरक्षित छ चेतनाको ढिक्का
त्यस्तै औंला हाम्रो पनि छ
जसले स्वस्तिक चिन्ह समाएर
उसको बहिर्गमनमा
ठोक्नेछ छाप-
ड्याम् ड्याम्।