‘उत्कृष्ट कथा’का विषयमा

‘उत्कृष्ट कथा’का विषयमा

डिजिटल पत्रिका १२खरी डट्कम्द्वारा प्रकाशित उत्कृष्ट कथासंग्रह २०७६ मा समेटिएका अधिकांश कथाको स्तर देखेर निराश भएको छु म। उत्कृष्ट दाबी गरिएको कथासंग्रहमा समावेश दुई दर्जनमध्ये तीन चार थान कथा औसत कोटीका र बाँकी सबै औसतभन्दा पनि तल्लो स्तरका मात्र हुनु आख्यान साहित्यको कुनै पनि गम्भीर पाठकलाई विचलित र चिन्तित बनाउनका लागि पर्याप्त हुने विषय हो।

यस संग्रहमा राखिएका कथाहरू अनलाइन जर्नल १२खरीले डिसहोम केबुल नेटवर्क कम्पनीको आर्थिक सहयोगमा आयोजना गरेको ‘राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता-२०७६’ नामक महत्वाकांक्षी साहित्यिक प्रतियोगितालाई ध्यानमा राखेर लेखिएका हुन्। विशेष प्रयोजनमा लेखिएका यी कथाहरूलाई त्यस खास प्रयोजनको सफलता वा असफलताको मापदण्डका रूपमा पनि हेरिने हुनाले यिनको स्तरको महत्व दुई गुना भएको छ भन्नपर्ने हुन्छ।

छोटकरीमा भन्नुपर्दा खुला आधुनिक कथा प्रतियोगिता २०७६ का लागि आएका सयौं मध्येबाट छानिएका यी दुई दर्जन कथाले सो बहुचर्चित प्रतियोगिताको समग्र स्तर कस्तो रह्यो भन्ने कुरामाथि पनि प्रकाश पार्दछन् अथवा यी कथाहरूलाई नै प्रतियोगिताको सफलता वा असफलताका मानक मान्नुपर्ने हुन्छ।

यस मानदण्डबाट यी कथाहरूको अध्ययन गरेर हेर्दा १२खरीले आयोजना गरेको कथा प्रतियोगितालाई पूर्ण रूपमा असफल मान्नुबाहेक अर्को कुनै उपाय देखिँदैन। नेपाली साहित्यको समसामयिक इतिहासमा आफ्नो प्रकारको पहिलो ठूलो धनराशि लगाइएको कथा प्रतियोगिताको असफलताले यसको परिकल्पना गर्ने १२खरीका सम्पादक र लगानीकर्ता डिसहोमको व्यवस्थापन पक्षलाई यस्ता प्रकृतिका साहित्यिक कार्यक्रमहरू आयोजना गर्दा अपनाउनुपर्ने अतिरिक्त सावधानीलाई लिएर एकाध उपयोगी पाठ भने अवश्य पनि सिकाएको छ। सञ्चारको क्षेत्रमा सक्रिय ती दुई सफल व्यावसायिक उपक्रमका कर्ताधर्ताहरूले त्यो पाठ सिक्छन् कि के गर्छन् त्यो भने हेर्न बाँकी नै छ।

संग्रहका २५ थान कथाहरूमध्ये मुस्किलले आधा दर्जनवटा कथामा मात्र ती कथाका सर्जकहरूको सक्षम कथावाचनको झलकी देख्न सकिन्छ।

आयोजक संस्थाका अनुसार नेपाली कथा साहित्यको इतिहासकै सर्वाधिक ठूलो रकमको पुरस्कार राखिएको त्यस कथा प्रतियोगितामा झन्डै नौ सय कथाकारले सहभागिता जनाएका थिए। प्रतियोगितामा सामेल हुन आएका कथाकारहरूको त्यो संख्यालाई निकै उत्साहवद्र्धक मान्नुपर्छ भलै अधिकांश सहभागीका निम्ति कथा लेखन रहरको विषय मात्र थियो।

तिनै नौ सयमध्ये आयोजकहरूको दृष्टिमा उत्कृष्ट ठहरिएका २५ कथाको छनोट गरेर तयार गरिएको भनिएको प्रस्तुत संकलनमा समावेश, ढंग नपुर्‍याई लेखिएका अधिकांश कथाले भने पाठकहरूलाई राम्रो आख्यान पढेको आनन्द दिनुको सट्टा निराश र क्षुब्ध बनाउँछन्। संग्रहमा परेका अधिकांश कथा विषयवस्तुको निर्वाह, परिवेश निर्माण, चरित्रहरूको सन्तुलित विकास, रचना शिल्प, प्रयोगधर्मिता र भाषिक लालित्यका दृष्टिले निकै कमजोर र टिठलाग्दा छन्। डिजिटल पत्रिका १२खरी डट्कम्ले नेपाली कथा साहित्यको प्रवद्र्धनमा रचनात्मक योगदान गर्ने सदाशयका साथ सञ्चालन गरेको त्यस महत्वाकांक्षी साहित्यिक परियोजनालाई असफल बनाउने कारण बनेका छन् यस संग्रहका अधिकांश कमजोर कथाहरू।

उत्कृष्ट कथासंग्रह २०७६ का संकलनका सम्पादक राजेन्द्र पराजुलीले ‘कथामा समकालीन अनुहार’ शीर्षकमा लेखेको आफ्नो सानो भूमिकामा छ : ‘यस संकलनमा परेका २५ उत्कृष्ट कथा अहिलेको समयका अनुहार हुन्। नेपाली कथाका सामर्थ्य र शक्ति पनि यिनै र यस्तै हुन्। यी कथामा समकालीन समाजको दृश्य रेखांकित भएको छ। यस्ता महत्वपूर्ण कथा एउटै पुस्तकमा पढ्न पाउनु अवसर पनि हो।’

परियोजनाको महत्ताको बखान गर्दै निम्छरा कथाहरूको यो संकलनको बचाउ गर्ने र यसप्रतिको पाठकीय उत्सुकतालाई जगाउने प्रयत्न गरेका छन् उनले। सम्पादकका रूपमा राजेन्द्रले आफ्नो धर्म निर्वाह गर्ने प्रयत्नमा जे लेखेको भए पनि संग्रहका कमजोर कथाहरूले उनको बयानको सत्यापन गर्न सक्लान् भन्नचाहिँ निक्कै नै असजिलो छ।

यथार्थमा यस संग्रहमा भएका सबै कथा पढ्ने कुनै पनि गम्भीर पाठकले ती कथाहरूमा सम्पादक पराजुली भनेझैं न अहिलेको समाजको अनुहार प्रस्टसँग देख्न पाउँछ न त यिनमा समकालीन समाजको दृश्य रेखांकित भएको जस्तो अनुभूति नै गर्न सक्दछ। विषयवस्तु र कथ्यमा तालमेल, भाषिक शुद्धता, कथावाचनमा निजी शैलीको छाप, उक्तिचातुर्यको प्रदर्शन र प्रयोगशीलता जस्ता सफल कथालेखनका विशेषताहरूका दृष्टिले संग्रहका अधिक कथा निम्छरा छन् त्यसैले बिर्सनयोग्य लाग्दछन्। यस संग्रहका कथाहरू पढेपछि पाठकलाई पक्का विश्वास हुन थाल्छ ः यसमा रहेका झन्डै ८० प्रतिशत कथा ठूलो राशिको पुरस्कारको लोभले हुट्हुटिएका अधिकांश अभ्यासी लेखकहरूद्वारा हतार हतारमा लेखेर प्रतियोगिताका लागि पठाइएका हुन्। जाहेर छ संग्रहमा भएका यस्ता कमजोर कथाहरूले सम्पादकद्वारा आफ्नो भूमिकामा गरिएका ठूल्ठूला दाबीको कुनै प्रकारको पुष्ट्याइँ गर्न सक्दैनन्।

अनलाइन पत्रिका १२खरीले आयोजना गरेको त्यो चर्चित कथा प्रतियोगिता त्यति बेला नै संकटमा परेको थियो जब नेपाली साहित्यमा स्थापित अधिकांश कथाकारले त्यस प्रतियोगितामा भाग लिन अस्वीकार गरिदिएका थिए। उनीहरूको अस्वीकृतिका कारण त्यस प्रतियोगिताको उच्च महत्व र सर्वस्वीकार्य हैसियत गुमेको थियो। कुनै पनि साहित्यिक प्रतियोगितामा दिइने पुरस्कारको रकम ठूलो छ भन्दैमा सबै स्रष्टा तँछाडमछाड गरेर त्यसमा भाग लिन आउँछन् भन्ने कथा प्रतियोगिताका आयोजकहरूले सोचेका थिए भने त्यो उनीहरूको ठूलो भूल थियो भन्ने सत्य सामुन्ने आइसकेको छ।

अधिकांश स्थापित र नेपाली आख्यानको क्षेत्रमा आफ्नो स्थान बनाउन संघर्षरत बहुसंख्यक कथालेखकहरूले सहभागिता नगरेको परियोजनामा आएका कथाहरूमध्येबाट छानिएका हुनाले यस संग्रहमा संकलित ती २५ थान कथा नै अहिले नेपालीमा लेखिइरहेकामध्ये रोज्जा कथाहरू हुन् भन्ने संग्रहका सम्पादक मण्डलको दाबी अपुष्ट साबित हुन्छ।

यस संग्रहमा संकलित कथाहरूले आधुनिक नेपाली कथाको प्रामाणिक बान्कीसम्म पनि राम्रोसँग प्रस्तुत गर्न सक्दैनन्। हो, यस संग्रहका कथाहरूले १२खरीले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता (२०७६) मा सहभागिता गरेकामध्ये राम्रा कथाहरूको प्रतिनिधित्व गर्छन् भनेर कसैले दाबी गर्छ भने त्यसलाई भने नमान्नुपर्ने कुनै कारण देखिँदैन।

डिजिटल पत्रिका १२खरी जस्तो एउटा विशुद्ध व्यावसायिक सञ्चारमाध्यमले नेपाली आख्यान साहित्यको प्रवद्र्धनमा योगदान गर्ने सदुद्देश्य राखेर गर्न खोजेको एउटा असल काम यसरी निरर्थक बुद्धिविलासमा परिणत हुनु निश्चय पनि दुःखलाग्दो कुरो हो। उत्कृष्ट ठहरिएका ३ वटा कथालाई तृतीयदेखि प्रथमसम्म क्रमशः ४० हजार, ६० हजार र एक लाख रुपैयाँको पुरस्कार राखिएको पुरस्कार रकमका दृष्टिले ऐतिहासिक यो कथा प्रतियोगिताको चरम असफलताले यसका आयोजकहरूलाई मात्र होइन, नेपाली साहित्यलाई माया गर्ने सबैलाई विस्मित र निराशसमेत बनाएको हुनुपर्छ।

होहल्ला धेरै तर उपलब्धिका हिसाबले प्रभावहीन सिद्ध भएको कुनै कामलाई अथ्र्याउनु पर्‍यो भने अंग्रेजहरूले भन्ने गरेको ‘चियाको कपमा उठेको आँधीको तरंग’जस्तै भएको छ १२खरी डिजिटल पत्रिका चलाइरहेको वित्तीय पत्रकारितामा नाम कमाएका पत्रकारहरूको समूहको यो महत्वाकांक्षी परियोजना। साथै यस घटनाले साहित्य र कलाका संवेदनशील क्षेत्रमा काम गर्न चाहने जो कसैले पनि ती क्षेत्रसँग जोडिएर आउने मिहिन भावनात्मक विषयप्रति सजग हुनैपर्छ, होइन भने वाञ्छित सफलता हासिल गर्न सकिँदैन भन्ने पाठ पनि सिकाएको छ।

खुला आधुनिक कथा प्रतियोगिता २०७६ का आयोजकहरूले त्यस परियोजनामा सम्मानजनक सहभागिता गराउने बाटोमा त्यति बेला आफैंले तगारो हालिदिएका थिए जब प्रतियोगिता नयाँ, पुराना, सबैखाले उमेर, अनुभव, ख्याति र मान्यता भएका कथालेखकहरूका निम्ति समान रूपले खुला रहेको घोषणा गरिएको थियो।

त्यसमाथि न १२खरीका कर्ताधर्ताहरूको वास्तविक नियतका बारेमा कसैलाई थाहा थियो न त तिनीहरूको इमानदारीमाथि विश्वास गर्न सकिने कुनै आधार नै कतै उपलब्ध थियो। प्रतियोगिताको निर्णय निष्पक्षताका साथ हुन्छ भन्ने कुराको प्रत्याभूति हुने आधार नै पनि कतै दृष्टिगोचर थिएन। प्रतीक प्रधान जस्ता कर्पोरेट पत्रकारिताको क्षेत्रका परिचित अनुहारहरू अचानक दुई लाखको थैली देखाउँदै साहित्यको सेवा गर्न आएका थिए। उनीहरूलाई लागेको हुँदो हो, नेपाली साहित्यको दुनियाँमा एक लाख रुपैयाँको पुरस्कार पाउने कुराले ठूलो अर्थ राख्छ , त्यसैले नेपाली कथाकारहरू प्रायः सबैले नै खुसी खुसी यस कथा प्रतियोगितामा भाग लिनेछन्। उनीहरूले त्यस्तो सोचेका थिए भने गलत सोचेका थिए भन्ने कुरा प्रतियोगितामा भएको कमजोर सहभागिताले पुष्टि गर्‍यो।

बाह्रखरीको उत्कृष्ट कथा २०७६ को समीक्षामा धेरै शब्द खर्च गरिरहन आवश्यक छ जस्तो मलाई लाग्दैन। संग्रहका २५ थान कथामध्ये मुस्किलले आधा दर्जन कथामा मात्र ती कथाका सर्जकहरूको सक्षम कथावाचनको झलकी देख्न सकिन्छ। आश्चर्यको कुरा त के पनि छ भने विपुल सिजापति, राजुबाबु श्रेष्ठ, महेश थापा, अभय श्रेष्ठ, माधव सयपत्री जस्ता यसअघि कथालेखनमा आफ्नो राम्रो सीप देखाइसकेका सर्जकहरूले पनि यस संग्रहका लागि दिएका आआफ्ना कथाबाट पाठकलाई पूरै निराश बनाएका छन्।

यस संग्रहका कथाहरूको आधारमा भन्ने हो भने आजको नेपाली कथाको मूल प्रवृत्ति अतिनाटकीयता हो भन्नुपर्ने हुन्छ। विशुद्ध आञ्चलिक भन्न सकिने कर्मसही घर्तीमगरको कथा मात्र होइन, दोस्रो र तेस्रो पुरस्कार जितेका लक्ष्मण वियोगी र सुमित्रा न्यौपानेका कथाहरू पनि अतिनाटकीय उडन्तरे कथाका नमुना बनेका छन्। यस संग्रहका सबै कथामा निहित एउटा समान कुरो के देखिन्छ भने यी सबै कथा भाषिक दृष्टिले कमजोर छन् र कुनै एक जान्ने र निर्दयी सम्पादकको हातमा परे भने पूरै छ्याकटे बन्न पुग्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.