वीरगन्ज भन्सार दुई वर्षदेखि असफल

वीरगन्ज भन्सार दुई वर्षदेखि असफल

वीरगन्ज : मुलुककै अर्थतन्त्रमा आधाभन्दा बढी योगदान दिँदै आएका वीरगन्ज भन्सार नाकाको राजस्व असुली दुई वर्षदेखि निरन्तर खस्कँदै गएको छ। नाकामा वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार छन्।

मुलुकको कुल राजस्व संकलनमा ५१ प्रतिशतभन्दा बढी योगदान दिँदै आएका यी दुवै भन्सार कार्यालयले दुई वर्षदेखि भन्सार विभागले दिएको राजस्व असुलीको लक्ष्य पूरा गर्न असफल भएका हुन्। वीरगन्ज भन्सार कार्यालयले २०७५/७६ मा विभागले दिएको लक्ष्यभन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजस्व संकलन गरेको छ।

यसलाई विभागले गत वर्ष १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएको थियो। तर, उसले लक्ष्यको ८५.९७ प्रतिशत मात्र अर्थात् एक खर्ब ४७ अर्ब ५३ करोड १३ लाख ७५ हजार मात्र राजस्व संकलन गर्न सकेको हो।

२०७४/७५ मा पनि वीरगन्ज भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन। २०७४/७५ मा भन्सार विभागले यसलाई एक खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएको थियो। तर, उसले लक्ष्यभन्दा तीन अर्ब ३८ करोड ९३ लाख ८ हजार कम अर्थात् कुल एक खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजस्व उठाउन सकेको थियो।

लगातार दुई वर्षदेखि विभागले दिएको लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले २०७५/७६ मा सुरुका तीन महिना (साउन, भदौ र असोज)मा मात्रै राजस्व असुलीको लक्ष्य पूरा गर्न सकेको थियो।

त्यसपछिका नौ महिना (कात्तिकदेखि असारसम्म) विभागले दिएको लक्ष्य पूरा गर्न नसकेका कारण गत वर्षको लक्ष्य पूरा हुन नसकेको हो। वीरगन्ज भन्सार कार्यालयले गत वर्ष कात्तिकमा लक्ष्यभन्दा १८ प्रतिशत, मंसिरमा १४ प्रतिशत, पुसमा १७ प्रतिशत, माघमा २३ प्रतिशत, फागुनमा १९ प्रतिशत, चैतमा ३४ प्रतिशत, वैशाखमा २७ प्रतिशत, जेठमा १९ प्रतिशत र असारमा लक्ष्यभन्दा २९ प्रतिशत कम राजस्व संकलन गरेको हो।

सुक्खा बन्दरगाह पनि असफल

वीरगन्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले पनि दुई वर्षदेखि लगातार राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन। सुक्खा भन्सार कार्यालयले २०७५/७६ मा लक्ष्यभन्दा तीन अर्ब ८४ करोड १८ लाख ५३ कम राजस्व संकलन गरेको हो।

२०७५/७६ का लागि भन्सार विभागले कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएको थियो। तर, कार्यालयले गत वर्ष लक्ष्यको ८९.३६ प्रतिशत मात्र अर्थात् ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजस्व संकलन गरेको हो।

२०७४/७५ मा पनि सुक्खा भन्सार कार्यालयले लक्ष्यभन्दा एक अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजस्व उठाएको थियो।

त्यस वर्षमा भन्सार विभागले सुक्खा भन्सार कार्यालयलाई २८ अर्ब २९ करोड ४२ लाख ६० हजारको लक्ष्य दिएको थियो। तर, उसले लक्ष्यभन्दा ४ प्रतिशत कम अर्थात् कुल २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्रै राजस्व उठाउन सकेको थियो।

वीरगन्ज भन्सारले २०७५/७६ मा लक्ष्यभन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजस्व संकलन गरेको छ।

२०७५/७६ मा असोज र जेठबाहेक बाँकी १० महिना विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएकाले ड्राइपोर्ट भन्सार कार्यालयले गत वर्ष विभागले दिएको लक्ष्य पूरा गर्न नसकेको हो।

ड्राइपोर्ट भन्सार कार्यालयले गत वर्ष असोजमा लक्ष्यभन्दा १९ प्रतिशत बढी र जेठमा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व संकलन गरेको थियो। तर, साउनमा लक्ष्यभन्दा ५ प्रतिशत कम, भदौमा १२ प्रतिशत, कात्तिकमा ५ प्रतिशत, मंसिरमा ३ प्रतिशत, पुसमा ११ प्रतिशत, माघमा १५ प्रतिशत, फागुनमा १९ प्रतिशत, चैतमा २१ प्रतिशत, वैशाखमा ३० प्रतिशत र असारमा लक्ष्यभन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको हो।

वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयका कर्मचारीले विभागले दिएको राजस्व संकलनको लक्ष्य नै बढी भएकाले दुई वर्षदेखिको लक्ष्य पूरा हुन नसकेको बताएका छन्।

दुई वर्षदेखि विभागले अघिल्ला वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि गरी राजस्व संकलनको लक्ष्य तय गरेको थियो। नाकाबाट मालवस्तुको पैठारीमा कमी आएकाले लक्ष्य पूरा हुन नसकेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले बताए।

गत वर्ष बढी राजस्व उठ्ने सवारीसाधन र औद्योगिक कच्चापदार्थको पैठारीमा कमी आएका कारण राजस्व असुलीमा असर परेको उनले बताए। महतोले भने, ‘सबैभन्दा बढी राजस्व उठ्ने नयाँ सवारीसाधन, इन्धन र औद्योगिक कच्चापदार्थ हुन्। तर, सवारीसाधन, क्लिंकर, कच्चापदार्थ, मरिच, चिनीलगायत वस्तुको आयात कम भएको, त्यसकै असर राजस्व संकलनमा परेको हो।’

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले पनि भन्सार विभागले जुन परिमाणमा लक्ष्य बढायो त्यसको अनुपातमा व्यापारमा बढोत्तरी नभएकाले राजस्वको लक्ष्य पूरा हुन नसकेको बताए।

‘१० महिनायता ३० प्रतिशत बढाएर लक्ष्य दिएको थियो’, उनले भने, ‘लक्ष्य बढ्यो तर व्यापार घटेको छ। भारत तथा ते श्रो मुलुकबाट आयात हुने मालबस्तुको पैठारीमा कमी आएकाले लक्ष्य भेटाउन नसकिएको हो।’

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि विभागले लक्ष्य बढाए पनि त्यसको अनुपातमा मालसामानको निकासी पैठारीमा वृद्धि हुन नसकेको बताए।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले उद्योग व्यापारमा मन्दी चलिरहेका कारण मालसामान आयातमा कम गरेको बताए। बजारमा मालसामानको खपत र खरिदबिक्रीमै गिरावट आएपछि आयातकर्ताले मालसामान कम मगाइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.