उन्यू फुल्छ त ?

उन्यू फुल्छ त ?

हिजोका दिनमा छेपारेले ठुँगेरै मान्ठालाई माथ्र्यो रे ! यसरी छेपारोले सधैं मान्ठाको नास गर्दा मान्ठाको संख्या घट्ने भएपछि भगवान्लाई चिन्तित बनाएको थियो रे !

रणबहादुर परियार ‘रे’को कथा अघि बढाउँदै छन्, ‘भगवान्ले त्यसपछि जुक्ति निकालेछन् र छेपारोलाई उर्दी दिँदै भनेछन्, ‘तुइले धेरै टोकेर मान्ठाको चोला मारिस् अब तुइले उन्यू फुलेको दिनमा मात्र मान्ठालाई ठुँगेर मार्न पाउँछस्।’

छेपारोले कुरै नबुझी हुन्छ भनेर मुन्टो हल्लाएछ। उही दिनदेखि छेपारो ढुंगाको आडमा बसेर उन्यू हेर्दो रहेछ। फुल्ने कहिल्यै होइन। रणबहादुर थप्छन्, लाटोगाँडो छेपारोलाई भगवान्ले लडाएरै छाडे। र, मान्ठालाई बचाए।’

कथा बताइसकेपछि रणबहादुरको अनुहार मलिनो हुन्छ। उनी बल गर्दै हाँस्न खोज्छन् तर हाँसो फुरे पो। मलाई भने कथा रमाइलो लागेको थियो। म मज्जाले हाँसेँ। म हाँसिसकेपछि पनि उनी हाँसेनन् बरु खिन्न हुँदै भने, ‘मु पनि त्यही छेपारो भएको छु। कुरिबसेको छु। कहिले उन्यू पूmल्छ र मेरो जुनी फिरिन्छ भनेर।’

उनको कथा टुंगिँदै गर्दा मलाई भने म हाँसेकामा ग्लानि महसुस भयो। उनी मसँग उभिएरै कुरा गरिरहेका थिए। झुरुप्प घरहरू गाउँको बीचमा छन्। एकअर्कासँग टाँसिएका घरहरूको माटोले बनेको छत खाली मैदानजस्तै दखिन्छ। यही मौदानको डिलमा हामी उभिएका छौं। छेउमा ससाना घन्टीहरू, ध्वाजापताका बेरिएको त्रिशूल र माटोमा छरिएका अबिरहरूसहितको सानो थान छ। थानमा मस्टो बस्छन्। यी मस्टो महादेवका सेवकहरू हुन्। कर्णालीको भूभागमा यिनै मस्टोलाई पुजिन्छ।

म पुग्दा दमाहा घन्किरहेको थियो र त्यसैको तालमा सेता लुगा लगाएर धामी नाचिरहेका थिए। धामीका आङमा मस्टो चढेसी नाच्दा र’छन्। काठमाडौं खाल्टोमा हुर्केको मलाई उनीहरूको नाचले रोमाञ्चित पारेको थियो। कर्णालीको खाँट्टी मस्टो परम्परालाई मैले नजिकबाट हेर्न पाएको थिएँ।

कुरा मोड्न म बसेरै कुरा गरौं भन्छु। उनी मलाई डोर्‍याउँदै माटोको छतको तलपट्टि पर्ने आफ्नो घर लैजान्छन्। साँघुरो घरभित्र पसेको म हेरिबसेको छु। सानो खाटमा ओछ्याइएको राडी बोकेर निस्कन्छन् उनी। पाहुनालाई स्वागत गर्न उनीसँग घरमा त्यो राडीबाहेक अरू केही छैन।

म र उनी राडीमा टुसुक्क एकअर्काको सामुन्ने फर्केर बसेका छौं।

रणबहादुर सोध्छन्, ‘सर, चिया खान्या हुन् ? ’

उनको साससँगै रक्सीको गन्ध मेरो नाकमा ठोकिन्छ।

‘म नि रक्सी खान्या हुन्’, उनकै लवजमा ठट्टा गर्छु। मेरो कुरा सुनेर उनी बेस्कन हाँसे। बल्ल एकैछिन अघिको निस्सार र उदेकलाग्दो माहोल फेरिन्छ।

रणबहादुरको गाउँ जुम्लाको लिही हो। अघिल्लो वर्षको कार्तिक पूर्णेमा म उनको गाउँ पुग्दा हिउँद लाग्ने तरखर हुँदै थियो। लिही गाउँको फेदमा तिला कर्णाली सललल बगिरहेको छ। बीचमा कर्णाली राजमार्ग अनि मास्तिरको ढिस्कोमा लिही गाउँ। निक्खर नीलो आकाशमा सेता बादलका छायाँ बैजनी रङका पहाडमा परेका थिए। हरियो रङको नामोनिसान कतै थिएन।

रणबहादुर नाम सुन्दा कुनै जमानाको बहुलठ्ठी राजा रणबहादुर शाह हुन् कि जस्तो पो लाग्छ। तर, उनी दमाहा घन्काएर मस्टो बोलाउने टोलीका दमाई हुन्। मलाई भने यही नामले बेलाबेलामा झुक्याइदिन्छ। उनको आङमा नयाँ कोट झुन्डिएको थियो। दारी काटेर सफाचट भएका थिए। अनुहारको छाला मुजा परिसके पनि उनी ह्यान्डसम देखिया छन्। उनले दमाहाको तालमा धामीलाई जगाउँदै र सेलाउँदै गरेको वर्षौं भयो।

देवताको काम गर्ने मान्ठा त खुसी हुनुपर्ने हो। तर, उनी सधैं निराश देखिन्छन्। उल्टो भगवान्लाई नै प्रश्न तेस्र्याइदिन्छन्, ‘भगवान्को काम गर्‍यो भने सबै मिल्छ भन्यो, काम गर्‍यो। मिल्या केही नाइँ। खै त कसलाई हेरे भगवान्ले ? ’

अघिल्लो रात नै टाढैबाट उनले बेस्कन दमाहा पिटिरहेको देखेको थिएँ। उनको दमाहाको लयमा नै सेता लुगा लगाएका धामीहरू कलात्मक तरिकाले नाचिरहेका थिए। दमाहा बजाउँदै गर्दा उनी कहिले शान्त देखिन्थे त कहिले उग्र। उनले दमाहा पिटेको सुन्दा मलाई पनि भीडबाट फुत्त निस्केर नाच्दिऊँ नाच्दिऊँजस्तो लागेको थियो तर पाइला अगाडि बढेन। उनले पिटेको दमाहाको धुनले नै म उनीप्रति आकर्षित भएको हुँ। त्यसैले बिहानको सूर्य डाँडासम्म पुग्नुअगाडि नै म उनको घर पुगेको थिएँ। यो पूर्णे चार रात पाँच दिनसम्म चल्छ। म पुग्दा बल्ल दोस्रो दिन भएको थियो।

उनीसँग सामान्य परिचय हुनेबित्तिकै उनले मलाई आफूभित्र उकुसमुकुस भएर गुम्सिएको छेपारोको कथा सुनाइहाले। म निःशब्द भएर उनको कथा सुनिरहेको थिएँ। पछि कुरै नबुझी हाँसेँ। मलाई खल्लो लागिरहेको थियो। तैपनि उनले आपूmलाई किन छेपारो भनेको होला भन्ने उत्सुकता ममा छँदै थियो तर सोधिहाल्ने आँट भएन।

छेपारोपछि उनले आफ्नै कथा सम्झन खोजे। उनको पुर्खा मुगुको खादँबाट रोकायाहरूसँगै तीन सय वर्षअगाडि आएका थिए रे। हामी बात मारिरहेको घर र आँगन उनै रोकायाले दिएका रहेछन्। त्यसबाहेको जग्गा उनको नाममा छैन।

हिजो रातभर दमाहा पिटेबापत उनले एक पाथी चामल पाए। त्यतिले मुस्किलले एक हप्ताको खुराक पुग्छ। यसरी चारवटा पूर्णेमा बजाएको बाजाले उनलाई चार हप्ता पुग्छ। बाँकी ४८ हप्ता नि ?

मैले भेट्दा उनी दमाहा मात्र बजाएर थाकेका थिएनन्। हिउँद र बर्खा नभनी उनी थोत्रो गाडी चढेर कर्णाली राजमार्ग हुँदै राजस्थान पुग्छन्। होटेलमा काम गर्छन्, भारी बोक्छन्। जसोतसो तराईको सस्तो चामल किन्ने पैसाको जोहो गर्छन्।

जमाना बदलियो, नियति बदलिएन। रुपैयाँ ल्यायो खायो। समयको चक्र यसरी नै घुमिरहेको छ। यही नाथे चामल जोहो गर्ने कामले उनलाई झन् थकाइदिन्छ।

त्यसमाथि मस्टो परम्परा धान्न पनि उनी नै जाग्नुपर्छ। उनी आफ्नो दुवै हात खुम्च्याएर बसेका छन्। हिजोको दमाहा लगाउँदाको दुःखाइ अझै मरेको छैन। त्योभन्दा बेसी दुःखाइ उनको मनमा छ। दमाहा बजाउने दमाईको नाम, परिचय टाढाटाढासम्म पुग्नु त कता हो कता, उल्टो आफ्नै गाउँमा हेपिएर पिल्सिएर बस्नु परेको छ।

दमाई कलाकार सधैं हेलामा बाँच्ने। तर, दमाहाले धानेको परम्परालाई कर्णालीको विशिष्ट सांस्कृतिक पहिचान भनेर गरिने प्रचारले रणबहादुर जस्ताले पाउने के होला ? मनमनै आपूmलाई प्रश्न गर्छु अनि पुलुक्क उनलाई हेर्छु। फेरि प्रश्न उठ्छ मनमा- जीविकोपार्जनसँग नजोडी कहिलेसम्म बाँच्ला त यो परम्परा ?

कैलाश मानसरोवरको तलतिर पर्ने भूभाग हुनाले कर्णाली क्षेत्रलाई देवभूमि पनि भनिन्छ। उनी भन्छन्, ‘यो देवभूमि हो र देवता भनेको माटोमा मिसिएको हुन्छ। बाजा बजाएर आफ्नो देवता वा मस्टो ल्याउनुपर्छ।’ त्यसैले उनी देवताको काम गर्ने मान्ठा सम्झन्छन् आफूलाई।

देवताको काम गर्ने मान्ठा त खुसी हुनुपर्ने हो तर उनी सधैं निराश देखिन्छन्। उल्टो भगवान्लाई नै प्रश्न तेस्र्याइदिन्छन्, ‘भगवान्को काम गर्‍यो भने सबै मिल्छ भन्यो, काम गर्‍यो। मिल्या केही नाइँ। खै त कसलाई हेरे भगवान्ले ? ’

उनका भगवान् बोल्ने भए पो जवाफ देलान्। उनी उन्यू फुल्छ कि भन्याजसरी जवाफ कुरेका कुर्‍यै पो हुने भए भन्ठान्छु।

‘ऊ बेलादेखि अहिलेसम्म बाजा बजाएर नै भगवान्, राजा र नेताको सवारी यस जमिनमा भएको हो’, उनी मलाई गर्विलो स्वरमा बताउँछन्। मलाई ठीक लाग्छ उनको कुरा।

कुराकानीकै क्रममा मेरो फोनको घन्टी बजिदिन्छ। यसरी फोनकै घन्टी मुस्किलले बज्ने ठाउँमा हिउँदका चिसा ६५ दिन मैले अध्ययन गर्दै बिताएको थिएँ। यी दिनहरूमा आमासँग घरमा संवाद गर्न मलाई निकै महाभारत परेको थियो। रणबहादुर र कर्णालीका अरू यस्तै बहादुरहरूले कसरी काठमाडौंका शासकसँग संवाद गर्लान् ? , मेरो मनमा प्रश्न उब्जिन्छ।

बिहा गर्‍या छ कि नाइँ ? कति उमेर भयो ? यस्ता प्रश्नको ताँती उनी मतिर सोझ्याउँछन्। म विवाह गर्‍या छैन, २९ वर्ष खत्तम हुन लाग्यो भन्छु।

जुम्लामा मैले तीन छोराछोरी भइसकेका २० वर्षीया आमाहरू थुप्रै भेटेको छु। बुबाहरूको पनि उमेर उस्तैउस्तै हो।

मेरो अविवाहित उमेरले उनलाई अचम्म बनायो। ‘यत्रो उमेरमा नि बिहे गर्‍या नाइँ सर, तिम्रो डेट एक्सपाइर भइसक्यो’, उनले यसो भनिसकेपछि हाँसोको फोहरा छुट्छ।

अब वातावरण सहज बनिसकेको छ। फेरि रणबहादुरलाई छेपारोकै कुरा सोध्छु। उनी फेरि पनि मलीन हुन्छन्। आवाज केही पनि आउँदैन। एकैछिनको मैनतापछि उनी पारिको डाँडामा इसारा गर्छन्।

त्यहाँ आँखाले देखिनेजति बारीका पाटाभरि स्याउका बुट्टा लस्करै मिलेर बसेका छन्। बोट अझै हरियो देखिन्छ। म कुरा नबुझेर छेपारो पो छ कि भनेर हेर्छु, देखिए पो।

एकछिनको मौनतापछि प्याट्ट उनको बोली फुट्छ। उनी र गाउँका लगभग ८० घर दलितले ६ वर्षअगाडि स्याउका बुट्टा लगाइदिएका रहेछन्। मेरो आँखामा समेटिन नसेकेको सबै जमिन बोहरा र रोकायाको हो। त्यस बेला पाखाभरि स्याउको बुट्टा रोपेबापत उनी र उनीजस्तै दमाईलाई तीन सय रुपैयाँको दरले ज्याला र एक केजी दाल दिइएको थियो। यो स्याउ लगाउने कार्यक्रम नेपाल रेडक्रसको हो। एक घर एक स्याउ बगैंचाको नारा जुम्लामा गुञ्जन थालेको पनि सात वर्ष भयो।

 कुनै सीडीओले काम देखाउनकै लागि यो योजना र नारा हचुवाका भरमा घन्काएका थिए। यिनको योजना सफल पार्न विभिन्न गैरसरकारी संस्था अहोरात्र खटिए। सरकारी संस्था कति खट्छन् भन्ने कुरा त हामी सबैलाई थाहा छँदै छ, कुरै नगरुम्। एक घर एक स्याउ बगैंचाको योजना लागू हुनुअघि र पछिका विस्तृत अध्ययनका कागजपत्र मैले कतै भेटेको छैन। कसैले भेट्नुभयो भने मेरो ठेगानामा पठाइदिनुस् है।

त्यस बेला त मक्खै परेका थिए रणबहादुर। तर, यसपालि सुर्खेतका व्यापारी आएर पहिलो छिमलको स्याउ राजस्थान पुग्ने मोटरमा हालेर लगे। यता केजीको ५० रुपैयाँका दरले बोहराका गोजीमा पैसो गयो। उनी घरको आडमा बसेर छेपारोझैं यो सबै चर्तिकला हेर्दा रहेछन्। स्याउका बोटमा पूmल मन्ठाका फले। दमाई नाथे उन्यू फूल्छ कि भनेर जुनी जुनी कुरेर बसेका छन्। मान्ठालाई त भगवान् र सरकार सबैले बचाउन चाल चल्दो रहेछ। छेपारो हरेक याम हरेक काल उन्यू फुल्ने प्रतीक्षामा छ।
@dhakal_rabindra


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.