मुहानदेखि दोभानसम्म विमोचन
काठमाडौं : काशीराज आचार्यको कविता संग्र्रह ‘मुहानदेखि दोभानसम्म’को लोकार्पण गरिएको छ। मासिक रूपमा हुने अभिव्यक्ति भेटघाटका अवसरमा बिहीबार राजधानीमा अभिव्यक्ति साहित्यिक पत्रिकाका प्रधान सम्पादक नगेन्द्रराज शर्मा तथा ‘रचना’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले संयुक्तरूपमा कृतिको लोकार्पण गरिएको हो।
प्रधान सम्पादकद्वय शर्मा र घिमिरेले २०३० को दशकदेखि साहित्य साधनामा लागिपरेका भए पनि ढिलो गरी पुस्तक प्रकाशन गरेका आचार्य र उनको कृतिबारे बोलेका थिए।
कविका फुटकर रचना विभिन्न पत्रपत्रिकामा लगभग ४५ वर्षदेखि प्रकाशित छन्। आफ्नै हिमालयबाट निस्कने पानी मिसिएको समुद्रसम्म पुग्न आफूलाई पासपोर्ट र भिसा लाग्ने भएकाले मन दुखेको प्रसंग उल्लेख गर्दै कवि आचार्यले विदेश बस्दा सिर्जना गरेका कविताको संग्रह निकालेको बताए।
अभिव्यक्ति भेटघाटका अवसरमा रमेश गोर्खाली, किशोर पहाडी, नारायण तिवारी, वियोगी बुढाथोकी, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, भारद्वाज मित्र, विधान आचार्य, देविका तिमिल्सिना, लव गाउँले, रामप्रसाद पन्त, राजेश खनाल, जयदेव भट्टराई, विष्णुबहादुर सिंह, चेतनाथ कणेल ‘हरित’, त्रिभुवनचन्द्र वाग्ले, रोशन थापा नीरवलगायतले कविता वाचन गरेका थिए।