मृत्यु संस्कार पाँच दिन बनाउनुपर्छ भन्ने अभियन्ताको निधन

मृत्यु संस्कार पाँच दिन बनाउनुपर्छ भन्ने अभियन्ताको निधन

 काठमाडौं : ‘मान्छे १३ दिने अन्तेष्टि गर्छन् तर त्यसभित्र थुप्रै आडम्बर देखेको छु। त्यसैले समाजमा देखिएको पीडालाई मुक्ति दिन पाँच दिने अन्त्य पद्धतिको बाटो खोजिएको हो’, संस्कार सुधार समाजका संस्थापक अध्यक्ष शंकरप्रसाद पोखरेलले भनेका थिए। सार्वजनिक रुपमा समाजलाई देखाउन गरिने १३ दिने अन्त्य पद्धतिलाई छोट्याउने उनै पोखरेलको ६९ वर्षको उमेरमा निधन भएको छ। उनको काम पाँच दिन सक्ने गरी पशुपतिस्थित क्रियापुत्री भवनमा काम थालिएको छ।

ब्लड क्यान्सरले चैत अन्तिम सातादेखि उपचाररत पोखरेलको शुक्रबार सिभिल अस्पतालमा निधन भएको हो। शनिबार शोकसभामा माइलो भाइ शम्भुले भने, ‘मैले थाहा पाएदेखि दाजुले थिचोमिचो र आडम्बर हटाउनुपर्छ भनेर लाग्नुहुन्थ्यो।’परम्पराअनुसार १० दिन लगाएर गरिने मलिन षोडसीमध्येका प्रेत शरीर बन्ने भनिएका १० पिण्डश्राद्धलाई मृत्यु संस्कारको सरलीकृत अवधारणाको शास्त्रसम्वत् विधिबाट सम्पन्न गराउन तीन दिनमै सकिने भएकाले जनचाहनाअनुरुप अभियान सुरु गरेको बताएका थिए।

२०७२ सालमा संस्कार सुधार समाज गठन गरेयता करिब एक सयजनाले पाँच दिने अन्त्य पद्धति अपनाएको समाजका सचिव पद्मराज पोखरेलले जानकारी दिए। उनका अनुसार, पाँच दिने पद्धतिअनुसार आफ्नो अन्तेष्टि होस् भनेर लिखित सहमति जनाउनेको संख्या करिब चार सय छ। समाजले प्रकाशित गरेको ‘पाँच दिने अन्त्य पद्धति’ मा पारस्करगृह्यसूत्र, मनुस्मृति, धर्मसिन्धु, निर्णयसिन्धु, गरुण पुराण आदि आधारमा समाजका लागि बाटो सहज बनाएको हो।

समाज गठन र त्यसपछि नेपाल सरकारका पूर्वसचिवहरु टिकादत्त निरौला, मोदराज डोटेल, काशीराज दाहाललगायत यसको पक्षमा लागि परेका छन्। पूर्वउपप्रधानमन्त्री बामदेव गौतम, पूर्वमन्त्री टेकबहादुर थापा, साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र लगायतले क्रमशः आमा र बुबाको अन्तेष्टि पाँच दिनमा गरेका थिए। पाँच दिनेको पहिलो दिन एउटा, दोस्रो दिन चार पिण्डसँग अस्तिसायमन श्राद्ध र तेस्रो दिन पाँच पिण्डसँग पूर्वपाथेय श्राद्ध गरिने पूरोहित दाताराम रिजालले जानकारी दिए। उनका अनुसार, चौथो दिन ११ औं र पाँचौं दिन १२ औं दिनको काम गरिने छ।

राष्ट्रकवि माधव घिमिरेले १३ दिने काजक्रियाको उपयुक्त निकाय नपाएर बौद्धिक वर्गलाई उकुसमुकुस भएको बताएका थिए। ‘पाँच दिने अन्त्य पद्धति’ मा उनले लेखेका छन्, ‘मलाई पनि यो संस्कार लोप हुनबाट बचाउन शास्त्रीय आधार लिएर समयानुकूल सुधार गर्नुपर्छ भन्ने लागेकै हो।’ 

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागकी प्रमुख प्राडा वीणा पौड्यालले भनेकी छन्, ‘सरल, सहज र मितव्ययी तरिकाले क्रियाकर्म गर्न पाउने वैकल्पिक बाटो खुलेको छ।’ शोकसभामा बोल्दै पूर्वसचिव निरौलाले पोखरेलको अभियान समाज रुपान्तरणका लागि आवश्यक भएकाले निरन्तरता दिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.