कहिले हट्ला धौलीगंगाको त्रास ?

कहिले हट्ला धौलीगंगाको त्रास ?

दार्चुला : भारतको धौलीगंगा जलविद्युत् आयोजना दार्चुलाको महाकाली नदीबाट ७ किलोमिटर टाढा पर्छ। २८० मेगावाट विद्युत उत्पादन हुने उक्त आयोजनाको बाँधको उचाइ ५८/५९ मिटर अग्लो छ।

जलाशयमा क्षमता बढी पानी भएपछि निकास गरिन्छ। निकास गर्दा महाकाली तटीय क्षेत्रमा बाढी आउँछ। पाँच वर्षअघि बिना सूचना बाँधको ढोका खोलिएपछि नेपाली भूभागमा ठूलो जनधनको क्षति भएको थियो।

यसपटक जिल्ला प्रशासन कार्यालयले महाकालीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका नागरिकलाई सचेत हुन सार्वजनिक सूचना जारी गरेको छ। मालिकार्जुन गाउँपालिका सलेतीका शेखर धामीले यसवर्ष पनि बाढीको त्रास बढेको बताए।

महाकाली नदी दार्चुला भारततर्फ लागेपछि शारदा नदीका नामले चिनिन्छ। यसैमा भारतले विद्युत् उत्पादनका लागि धौलीगंगामा बाँध बनाएर जलाशय निर्माण गरेको हो।

सीमा पारि भए पनि आयोजनाको प्रभाव क्षेत्रमा नेपालका अधिकांश भूभाग पर्छन्। बैतडी, डडेलधुरा र कञ्चनपुरसमेत आयोजनाको प्रभाव क्षेत्र हो। बढी भएको पानी डिस्चार्ज गर्न बाँधका ढोका खोल्दा २०७० साल असार २ र ३ गते महाकाली नदीमा भीषण बाढी आएको थियो। त्यसले दार्चुलामा धेरै क्षति भएको थियो।

पानी बढी भएका बेला प्रायः बाँधका ढोका राति खोल्ने गरिएकाले बढी त्रास हुने तटीय क्षेत्र जौलजीबीका सागर धामी बताए। महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख मित्र बरालका अनुसार बिहान र बेलुका दुईपटक धौलीगंगा प्रोजेक्टले विद्युत् उत्पादन गर्छ।

‘एकैपटक २ सय ८० मेगावाट विद्युत् उत्पादन गर्दा सामान्यतया १ सय ७ क्युमेक पानी डिस्चार्ज हुन्छ,’ उनले भने, ‘त्यति परिमाणमा पानी छोड्दा महाकाली नदीको सतह कति बढ्छ, त्यसलाई नाप्ने यन्त्र र उपकरण हामीसँग छैन।’

पानीको डिस्चार्ज नाप्ने यान्त्रिक व्यवस्था नहुँदा जलस्तर कति बढेको हो भन्ने थाहा पाउन गाह्रो हुने गरेको उनले बताए। नेपालतर्फ महाकाली तटीय क्षेत्रमा पानीको डिस्चार्ज मापन स्टेसन छैन। दत्तु र डडेलधुराको परशुराम नगरपालिकामा पानी मापन केन्द्र भए पनि अत्याधुनिक प्रविधि नभएकाले तथ्यांक भरपर्दो हुँदैन।

‘दार्चुला सदरमुकामसम्म महाकाली नदीको डिस्चार्ज मापन आवश्यक छ,’ उनले भने, ‘डिस्चार्ज म्यानेजमेन्ट टेक्नोलोजी डीएचएमले आफ्नो टेक्नोलोजीमा राख्नुपर्ने हो, राख्न सकेको छैन।’ बरालका अनुसार भारतसँग समन्वय गरेर सदरमुकाममा महाकालीको डिस्चार्ज मापन केन्द्र राख्न सके दुवै देशका स्थानीयलाई बाढीको अवस्थाबारे पूर्व सूचना पाउन सहज हुन्छ।

असार १३ बाट बाँधको पानी छाड्ने सूचना नेपाली पक्षलाई दिए पनि दुई दिन अगावै ड्यामबाट पानी छोडिएको थियो। नियमित पावर जेनेरेट गर्दा सूचना नदिने र ड्याम सफा गर्नुपरे वा ठूलै पानी पर्ने सम्भावना बढे भारतीय पक्षले पत्राचार वा फोनबाट नै भए पनि २०७० सालयता सूचना दिने गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.