दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन
नयाँ दिल्ली : भारतको राजधानीसमेत रहेको नयाँ दिल्ली राज्यका पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ। उनी ८१ वर्षकी थिइन्। दीक्षितको पारिवारिक श्रोतका अनुसार भारतीय कङ्ग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ बर्ष नेतृत्व सम्हालेकी उनको एक निजी अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो ३:५५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ।
दीक्षितलाई केही दिन पहिले स्वास्थ्यमा समस्या देखिएपछि केही दिन पहिले एस्कोर्ट्स अस्पतालमा भर्ना गरिएको थियो। दीक्षित कङ्ग्रेसका पूराना नेता उमाशंकर दीक्षितकी बुहारी हुन् भने भारतको केन्द्रीय मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालेकी सफल नेतृ रहेको कङ्ग्रेसका नेताहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
दीक्षितको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रतिपक्षी दलका नेताहरू सोनिया गान्धी, राहुल गान्धीलगायतले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।