रानी–जमरा नहरको पानी पुनः कर्णालीमा

रानी–जमरा नहरको पानी पुनः कर्णालीमा

टिकापुर : रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले मुख्य इन्टेकबाट छोडिएको पानी नहर हुँदै पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमा पानी ल्याए पनि उक्त पानी ५ दशमलव ५ किलोमिटर दक्षिणतर्फ निर्माण गरिएको सेटलिन बेसिनमार्फत् पुनः कर्णाली नदीमै फालिएको हो।

नहरबाट ल्याइएको पानी झण्डै एक सय वर्ष अगाडिदेखि परम्परागत रुपमा सिँचाइ हुँदै आएको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कुलरिया कुलामा फालिएको छ। ऊर्जा, जल श्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजनाको पहिलो खण्ड सम्पन्न गरी मुख्य ढोकाबाट नहरमा सिँचाइ पुर्‍याएको दाबी गरेका थिए।

नहरको संरचना पूर्ण नहुँदै सञ्चालनमा मन्त्री पुनको दावी गलत भएको भन्दै समाचार प्रकाशित भएपछि आयोजनाले मुख्यनहरका तीन ढोका सञ्चालन गरेर पानी पुनः नदीमै फालेको हो। वर्षायाममा परम्परागत रुपमा सञ्चालित कुलामा पर्याप्त पानी आउने गरेको छ। वर्षातमा आयोजनाले नहरको पानी कुलामा पठाउनु औचित्य नभएको किसानले बताएका छन्।

इन्टेकबाट नहरमा ल्याइएको पानी कर्णालीमा फालिँदै। फोटोः अन्नपूर्ण


जमरा कुलो जलउपभोक्ता समितिका अध्यक्ष लालबीर चौधरीले नहरबाट सञ्चालित पानीको वर्षायाममा आवश्यक नभएको बताए। ‘अहिले परम्परागत रुपमै कुलाहरुबाट पानी ल्याइरहेका छौं। नहरको पानीको अहिले काम छैन, कुलामा पानीको मात्रा मात्रै बढ्नसक्छ’ चौधरीले भने, ‘आयोजनाको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमापानी छोडेर बल्चौरस्थित सेटलिन बेसिनसम्म परीक्षण मात्रै गरिएको हो।’

चौधरीकाअनुसार मुख्य इन्टेक क्षेत्रबाट सेटलिन बेसिनदेखि परम्परागत रुपमा सञ्चालित कुलामा पानी फाल्न सकिए हिउँदको समयमा कुलाबाट सिँचाइ गर्न सकिनेछ। किसानले रानीकुलामा जानकी गाउँपालिकाको मालझुल, कुलरिया कुलामा लम्कीचुहाको बल्चौर र जमरा कुलामा जानकी गाउँपालिकाको कटासेबाट पानी ल्याइरहेका छन्।

परम्परागत रुपमा सञ्चालित कुलाबाट आएको पानीसमेत बढी हुँदा टिकापुर–२ स्थित रानीकुलाको नहरबाट बाइपासमार्फत कर्णाली नदीमा पानी फालिएको छ।

आयोजनाले मुख्य इन्टेकका चौध ढोकामध्ये तीन ढोकाबाट पानी मुख्य क्यानलमा छोडेको छ भने आठ वटा मध्ये तीनवटा हेड रेगुलेटरमार्फत् नहरमा पानी छोडेको छ। बल्चौरस्थित सेटलिन बेसिनदेखि लम्कीशाखासम्मको क्षेत्रमासमेत नहर निर्माण सम्पन्न भएको छैन। त्यस्तै आयोजनाले कटासे क्षेत्रमा निर्माण शुरु गरेको ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको हाइडोपावरको कामसमेत पूरा भएको छैन।

आयोजना प्रमुख मधुकर रानाकाअनुसार हाइडोपावर क्षेत्रमा झण्डै ६ सय मिटर बढी नहर निर्माण हुन बाँकी छ। नहर निर्माण सम्पन्न नहुँदा किसानहरु भने परम्परागत रुपमा कर्णाली नदीबाट पानी ल्याएर सिँचाइ गर्दै आएका छन्।

प्रमुख रानाले नहर पूर्ण रुपमा सञ्चालन नभई परीक्षण मात्रै गरिएको बताए। ‘मुख्य इन्टेकमा जडान गर्नुपर्ने हेडरेगुलेटर मध्ये तीनवटा जडान गरिसकेपछि सेटलिन बेसिनसम्म पानी छोडेर परम्परागत कुलामै पानी छोडेका छौं,’ रानाले भने, ‘बाँकी नहर निर्माण नभए पनि परम्परागत रुपमा सञ्चालित सिँचाइ प्रणालीमार्फत् पानी लगाउन सकिनेछ।’

चिसापानीस्थित मुख्य इन्टेकदेखि ५ दशमलव ५ किलोमिटर तल रहेको सेटलिन बेसिनमासमेत ढोका जडान गरिएका छैनन्। रानाले ढोका जडान लगायतका साना–तिना कामहरु बाँकी रहेकाले नहरबाटै पानी सञ्चालन हुन अझै केही समय लाग्ने बताए। हाल दो श्रो चरण अन्तर्गत लम्कीशाखा नहरको ५ दशमलव ५ किलोमिटर नहर निर्माण सम्पन्न भएको छ।

विश्व बैंकको सहयोगमा सञ्चालित राष्टिय गौरवको आयोजनामा पहिलो चरणमा टीकापुर नगरपालिका, जानकी गाउँपालिकाको १४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेछ। त्यस्तै दो श्रो चरणमा लम्की शाखानहरको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य छ। नेपाल सरकार, विश्व बैंक र जन श्रमदान गरी आयोजनाले कुल लागत २७ अर्व रुपैयाँमा काम सुरु गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.