बेलहिया–बुटवल सडकखण्ड : आठ वर्षमा ८२ प्रतिशत काम
भैरहवा : बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार आयोजनाको काम ८२ प्रतिशत सकिएको छ। विभिन्न समस्या झेल्दै आयोजनाको ८२ प्रतिशत काम सम्पन्न भएको हो। यति काम हुन करिब आठ वर्ष लागेको छ।
भैरहवाको बेलहियादेखि बुटवलको गोलपार्कसम्म साढे २७ किलोमिटर सडक निर्माणको लागि आयोजनाले काम गर्दैछ। जसमध्ये सुरुमा खण्ड–खण्ड गरी बेलहियादेखि बुटवलको राजमार्ग चौराहासम्म २४ किलोमिटरको ठेक्का लगाएर काम गरिएको थियो। त्यसपछि राजमार्ग चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटरको ठेक्का लगाएर काम सुरु गरियो।
यो साढे २७ किलोमिटरको सडक विस्तारमा स्थानीयले अवरोध गरेपछि निर्माण कार्य रोकिएको छ। उनीहरुले सडक विस्तारको क्रममा घर भत्काउनुपर्ने भएपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा रिट दायर गरेका छन्। जुन विचारधिन अवस्थामा छ। जसकारण आयोजनाले सडक विस्तार गर्न पाएको छैन। अदालतले रिटको छिटै सुनुवाई नगर्दा आयोजनाका काममा ढिलाई हुदै गएको छ।
बाँकी रहेको साढे तीन किलोमिटर कुल सडकको १० प्रतिशत हो। २४ किलोमिटरको सडकको निर्माणमध्ये २३ किलोमिटर मुख्य सडकको निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ। त्यस्तै मुख्य सडकको दायाँ–बायाँतर्फ रहेको सर्विस सडक पनि १६ किलोमिटरमा निर्माण सम्पन्न भइसकेको बेलहिया बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मि श्रले बताए।
२४ किलोमिटरमध्ये १४ किलोमिटरमा फुटपाथसमेत बनिसकेको छ। सडकको ‘ग्रिन जोन’ मा हरियाली प्रवद्र्धन गर्ने काम भइरहेको छ। यसको पनि ९ किलोमिटरसम्म बिरुवा रोपिसकिएको र अन्य स्थानमा काम भइरहेको छ। ‘सडकमा हुने सबै काम समानान्तरको रुपमा अगाडि बढिररहेका छन्,’ आयोजना प्रमुख मि श्रले भने, ‘अगामी चैत महिनासम्म २४ किलोमिटरसम्मको सडक तयार भएर पुरै चिटिक्क देखिन्छ।’
बाँकी रहेको सडक पनि अदालतले आदेश दिएलगत्तै काम सुचारु हुने बताए। अन्य काम भने आयोजनाले जारी राखेको छ। विद्युत प्राधिकरण र खानेपानी कार्यालयले आयोजनासँग आवश्यक समन्वय नगरिदिदाँ विद्युतको पोल सार्नेदेखि खानेपानीको पाइप बिछ्याएर घरमा सप्लाई गर्नेसम्मका काम आयोजना आफैले गरिरहेको छ। जसका कारण आयोजनाको काम लम्बिदै गएको देखिन्छ। बेलहियादेखि बुटवलसम्म सडक निर्माणका लागि खण्ड–खण्डमा वर्षैपिच्छे ठेक्का लगाएर कामको सुरुवात गर्दा आयोजना सम्पन्न हुनमा ढिलाइ भएको उनले बताए।