ड्रोन क्यामेरासहित चीनियाँ नागरिक पक्राउ
मुस्ताङ : लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा ड्रोन क्यामेरासहित एकजना चीनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित एरियामा ड्रोन क्यामेरा उडाएपछि ४८ वर्षीय चीनियाँ नागरिक चेनवोलाई अस्थायी प्रहरी पोष्ट चराङले शुक्रबार नियन्त्रणमा लिएको हो।
सहयोगी बिना एक्लै उपल्लो मुस्ताङ पुगेका चीनियाँ नागरिक चेनवोले शुक्रबार बिहान ६ बजे चराङ क्षेत्रमा ड्रोन क्यामेरामार्फत दृष्य खिचेका थिए। ड्रोक कराएको आवाज आएपछि चराङ प्रहरी पोष्टका असई डोलराज भण्डारीसहित ३ जनाको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी नियन्त्रणमा परेका चीनियाँ नागरिक चेनवोले ड्रोन उडाउन प्रतिबन्ध भएको बारे अनविज्ञ रहेको प्रहरीसमक्ष बयान दिएका छन्। सामान्य नेपाली भाषासमेत बोल्न सक्ने उनलाई शनिबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बुझाएको थियो। प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि नेपाल नागरिक उड्यन प्राधिकरणलाई जिम्मा लगाउने गरी जोमसोमस्थित नागरिक उड्यनलाई शनिबार नै जिम्मा लगाएको जिप्रका मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।
यता, चेनवोले प्रयोग गरेको ड्रोन क्यामेरा कब्जामा लिएर सोधपुछपछि उनलाई छाडिएकाे नागरिक उड्ययन कार्यालय जोमसोमका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए। नेपाल सरकारले उपल्लो मुस्ताङ एरियालाई नियन्त्रित तथा निषेधित क्षेत्र घोषणा गरेको छ।
गत बैशाखमा 'सम्हालिन्छ कहिले मन' चलचित्रले लोमान्थाङमा ड्रोन उडाउँदा प्रहरीले नियन्त्रणमा लिएको थियो। उपल्लो मुस्ताङमा पर्यटक मन्त्रालयको अनुमति लिएर आएका टोलीले प्याराग्लाईडिङको परीक्षण समेत गरेका थिए। मुस्ताङको तल्लोक्षेत्र कागबेनी र मुक्तिनाथक्षेत्र माथि ड्रोन प्रयोग गर्न प्रतिबन्ध गरिएको एक्यापले जनाएको छ। तर तल्लोक्षेत्रमा भने स्थानीय प्रशासनको अनुमति लिए पुग्छ।