१६ वर्षको उमेरमा कक्षा ४ मा भर्ना भएँ

१६ वर्षको उमेरमा कक्षा ४ मा भर्ना भएँ

भाइबहिनी हो, अहिले हामी नेपालीको मानसिकता नै अंग्रेजी पढ्नु सबैभन्दा ठूलो हो भन्ने भएको छ। त्यो कुरा मलाई गलत लाग्छ। अंग्रेजी भाषा जान्नु भनेको नेपाली भाषालाई पन्छाउनु पनि होइन। यसलाई पनि जान्नुपर्छ।


मैले १० वर्षको उमेरदेखि लेख्न सुरु गरेँ। आजसम्म निरन्तर लेखिरहेको छु। जीवनमा धेरै किताब लेखेँ। जति लेखेँ मुख्यतः विद्यार्थी भाइबहिनीहरूका लागि लेखेँ। भाइबहिनी हो, सायद तिमीहरूले पनि मैले लेखेको पुस्तक पढेका छौ होला। यो अंकुरमार्फत आज तिमीहरूसँग आफ्नो मनको कुरा साट्न पाउँदा एकदमै खुसी भएको छु।

मेरो जन्म २००० सालमा तेह्रथुम जिल्लामा ब्राह्मण परिवारमा भएको हो। बाल्यकाल त्यहीँ बित्यो। सानोमा मैले गाउँकै भवानीप्रसाद निरौला पण्डितबाट अक्षर सिकेँ। म ६ वर्षको हुँदा उहाँले काठको सानो पाटीमा बासको छेस्कोले हात समातेर लेख्न सिकाउनु हुन्थ्यो। उहाँबाटै मैले नेपाली अक्षर अ, आ.. देखि क, ख...सम्म सिकेँ।

त्यो समयमा महिलाले पढ्ने चलन थिएन। हामी ७/८ जना ब्राह्मण परिवारका केटाहरूले मात्र पढ्न पायौं। गाउँमा सानो कटेरो जस्तो ब्रह्मचारिणी विद्या भनेर स्थापना गरिएको थियो। गुरुले हामीलाई बिहान उठेदेखि बेलुकासम्म के के गर्नुपर्छ ? के के गर्नुहुँदैन भन्ने व्यावहारिक र सांस्कारिक कुरा सिकाउनुहुन्थ्यो। घरमा पनि बुवाले धार्मिक कुराहरू लेख्ने, पढ्ने गर्नुहुन्थ्यो। उहाँले विशेषगरी बिहान पूजा गर्दा होम गर्नुहुन्थ्यो। म त्यही सुन्थेँ।

घरमा यस्तो क्रियाकलाप देखिन्थ्यो भने उता गुरुले पनि वेद पढ्न सिकाउनुहुन्थ्यो। त्यतिबेला नै मैले वेदको ४० अध्यायसम्म पढिसकेको थिएँ। मलाई ७ अध्यायसम्म कण्ठ थियो। त्यसैगरी मैले संस्कृतको आधारग्रन्थ मानिने लघुसिद्धान्त कौमुदी पनि राम्ररी अध्ययन गरिसकेको थिएँ। यही किताबले आज मलाई नेपाली व्याकरण होस् या अंग्रेजी वा कुनै भाषिक पुस्तक लेखनमा ठूलो योगदान पुर्‍याएको छ।

गाउँका अरू साथीहरू गोठालो जान्थे। त्यहाँ उनीहरू डन्डिबियो खेल्थे। म पनि खेल्ने भनेर छिटोछिटो घरबाट निस्किन्थेँ। भाइ र म पढ्न नगई दिनभरि उनीहरूसँग खेलेर बस्थ्यौं। यसरी सात दिन लगातार पढ्न गएनौं। एकदिन बुवाले थाहा पाउनुभयो। घरमा लगेर डोरीले बाँधेर राख्नुभयो। अबदेखि यस्तो काम नगर्नू भनेर आमाले धेरै सम्झाउनुभयो। त्यो दिनदेखि कहिल्यै पढ्न छोडेनौँ।

म १० वर्षको हुँदा बुवाको निधन भयो। त्यसपछि म भिनाजुको घरमा गएर बसेँ। भिनाजु अदालतमा काम गर्नुहुन्थ्यो। उहाँसँगै बस्दा मैले त्यसबेलाको राणाकालीन मुलुकी ऐन पनि पढेँ। मेरो सानैदेखि अलि छिटो पढ्ने बानी थियो। अरूले पाँच मिनेट लगाएर पढ्ने कुरा म दुई मिनेटमै पढेर सिद्धाउँथेँ। भिनाजुले वादीप्रतिवादी तमसुक, बन्धकी, अर्जीजस्ता तमसुक लेख्न सिकाइदिनुभयो। यो काम चार वर्षसम्म लगातार गरेँ। त्यो लेखेबापत पैसा पनि आउँथ्यो। यही अभ्यासले मेरो अक्षर पनि राम्रो भयो।

यी सबै काम गरिसकेपछि १६ वर्षको उमेरमा भदौको महिनामा एकैचोटी कक्षा ४ मा भर्ना भएँ। यहीबाट मेरो औचारिक शिक्षा प्रारम्भ भयो। त्यसपछि मात्रै ए, बी, सी डी सिकेको हुँ। भर्ना भएको चार महिना पछि परीक्षा दिएँ। प्रथम भएँ। त्यसपछि मैले कहिल्यै दोस्रो हुनु परेन। २०२१ सालमा एसएलसी पास गरेँ। मैले जीवनमा जति कुरा पढेँ त्यो कुरामा जानकार थिएँ।

पहिले अंग्रेजी सबैभन्दा अप्ठ्यारो हुन्छ भन्ने लाग्थ्यो। तर त्यस्तो रहेनछ। भाषा जति अभ्यास गर्‍यो त्यति नै बुझिने रहेछ। मैले जीवनभरि विद्यालयमा अंग्रेजी विषय लिएर पढिनँ। तर मैले सबै अंगे्रजी व्याकरण र शब्दकोश लेखेको छु। म आजसम्म मुख्यतः भाषाको हिज्जे शुद्ध हुनुपर्छ भन्ने अभियानमा लागेको छु।

एसएलसी पास गरेपछि मैले शिक्षक भएर काम गरेँ। म पुस्तक पसलमा गएर खुब पढ्थेँ। एकदिन नारायणप्रसाद काफ्ले नामका पुस्तक पसलेले मलाई ‘तपाईं सक्नुहुन्छ भने अहिलेको शिक्षालाई हुने अंग्रेजी व्याकरण लेख्नुस् म छाप्छु ’ भन्नुभयो। त्यसको भोलिपल्टदेखि नै त्यसको काम सुरु गरेँ। सबैले सजिलै बुझ्न सक्ने सरलभन्दा सरल ढंगले व्याख्या गरेर लगभग दुई वर्ष लगाएर ‘गौतम्स हाइयर इङ्लिस ग्रामर’ नामक अंग्रेजी व्याकरण लेखेँ। तर पसलेले नछाप्ने भन्नुभयो। त्यसपछि आफैं बनारस गएर सुरुमा ११ सय कपी छपाएँ। त्यसपछि रेडियो नेपालबाट विज्ञापन गरियो। ती सबै किताब २२ दिनमै बिक्री भयो। यसले मलाई झन् हौसला बढ्यो र मैले लेखिरहेँ।

वर्ड मिनिङ्, वर्णमाला, व्याकरण, अनुवाद, गाइड आदि गरी आजसम्म ९९ वटा किताब लेखिसकेको छुँ। मेरो १००यौं किताब ‘गौतम मानक नेपाली शब्दकोश’ आउने क्रममा छ।

भाइबहिनी हो, अहिले हामी नेपालीको मानसिकता नै अंग्रेजी पढ्नु सबैभन्दा ठूलो हो भन्ने भएको छ। त्यो कुरा मलाई गलत लाग्छ। अंग्रेजी भाषा जान्नु भनेको नेपाली भाषालाई पन्छाउनु पनि होइन। यसलाई पनि जान्नुपर्छ। हामीले जुनसुकै कुरा मनले गर्‍यौं भने अवश्य सफल हुन्छौं। त्यसैले तिमीहरूलाई पनि अंग्रेजी सिक्न गाह्रो लाग्छ भने चिन्ता नगर्नू। तर अभ्यास गर्न भने नछोड्नू। अंग्रेजी पनि सजिलै सिक्न सकिन्छ।

मैले प्रायः नेपाली र अंग्रेजी व्याकरणसँग सम्बन्धित कुराहरू नै बढी लेखेको छु। लेखनको सुरुआतमा अलिअलि साहित्य पनि लेख्थेँ। २०३५ सालमा ‘पुस्तककारमा आभास’ नामक कविता संग्रह पनि निकालेको छु।

(गौतमसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.