तर्साउने प्रयासमा ‘घर’
काठमाडौं : नेपालमा हरर फिल्म निकै कम बन्छन्, या भनौं जोकोहीले यो जनराको फिल्म बनाउने आँट गर्दैनन्। आजसम्म बनेका एकाध यस्ता फिल्म दर्शकलाई हलसम्म तान्न असफल छन्। कारण विषयप्रतिको अपर्याप्त ज्ञान र उत्कृष्ट प्राविधिक टिमको कमी नै हो। तर यस्तो असफलताबाट चलचित्र ‘घर’ केही हदसम्म माथि उठ्ने क्रममा छ।
अर्पण थापा (शिव) र सुरक्षा पन्त (सरु) फिल्ममा पतिपत्नीको भूमिकामा छन्। आफ्नै घर बनाउने चक्करमा यी दुईले सस्तोमा घर फेला पार्छन्। उक्त घरमा भूतप्रेतले तर्साउने सम्भावनाप्रति यी दम्पती पहिले नै सचेत हुन्छन्। आत्माहरूले तर्साउने विषयमा उनीहरू विश्वास गर्दैनन्। त्यसैले घर किनेर त्यहीँ बस्न जान्छन्। उक्त घरमा प्रवेश गरिसकेपछि नै यी दम्पती र यिनीहरूसँग जोडिन आउने अन्य पात्रहरूको माध्यमबाट त्रसित वातावरण सिर्जना हुन पुग्छ।
हरर फिल्म दर्शक डराउनकै लागि बनाइन्छ। मानिसभित्र लुकेको डर, त्रास, भयलाई यस्ता फिल्मले बाहिर ल्याउने काम गर्छ। प्रायःजसो भयानक परिस्थिति सिर्जना गर्ने, दृश्यहरूबाट आश्चर्यचकित बनाउने, सस्पेन्स क्रिएट गर्ने, मानिसभित्रको सम्पूर्ण ध्यानलाई एकै विषयमा केन्द्रित गराउने र अन्त्यमा यी सबैको जोडबाट मनोरञ्जन दिलाउने काम नै हरर फिल्मको उद्देश्य हुन्छ।
अघिल्लो पटक ‘सुनकेसरी’ फिल्ममा भएका कमीकमजोरीलाई आत्मसात् गर्दै चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले ‘घर’ फिल्म निर्माण गरेका हुन्। यस जनराको फिल्ममा उनको ज्ञान र क्षमता अब्बल नै छ।
हरर सिन क्रिएट गर्न आवश्यक सबै सैद्धान्तिक पक्षलाई उनले प्रयोग गरेका छन्। फिल्ममा ब्याकग्राउन्ड साउन्डमाथि सबैभन्दा धेरै खेलिएको छ। चाहे त्यो घडीको आवाज होस् या आकाशको गड्याङगुडुङ। यसको अधिक प्रयोग कुनैकुनै ठाउँमा अपाच्य पनि लाग्छ।
कलाकारबाट उनले थ्रिल सिर्जना गर्ने अभिनयलाई निचोर्ने प्रयास गरेका छन्। तर यी सबै प्रयत्नका बीच फिल्मले दर्शकलाई तर्साउन सक्दैन। फिल्मको पहिलो हाफ थ्रिल सिर्जना गर्नका लागि भूमिका बाँध्नमै अल्झिएको छ भने दोस्रो हाफबाट मात्र फिल्मले पिकअप लिन्छ।
हरर फिल्म सामान्यतया जीवनका अँध्यारो पक्षको वर्णन हो। जुन अनिश्चित, निकै अचम्मलाग्दो र खतरनाक घटनाको केन्द्रमा बसेर बुनिएको हुन्छ। यस्ता फिल्महरू मानिसले देख्ने नराम्रो सपना, भय, त्रास, रिस, मृत्यु वा कामुक भावहरूसँगको डरबाट सिर्जना हुन्छ। यी सबै विषयलाई ‘घर’ले ध्यान दिइएको छ, जुन फिल्मको राम्रो पक्ष हो।
अर्कोतर्फ यस फिल्मका कमीकमजोरी पनि त्यत्तिकै छन्। क्यामरा एंगलिङमा खासै नयाँपन देखिँदैन। कलाकारको अभिनय, पाश्र्व ध्वनि र छायांकनमा तालमेल नमिलेका थुप्रै दृश्य छन्। डर पैदा गर्न खिचिएका लङ सट्हरूले खासै काम गरेको छैन। प्रसंगबेगर बीचबीचमा देखाइएको भूतप्रेतले फिल्मलाई कमजोर बनाउँछ।
फिल्मको अर्को कमजोर पक्ष ‘प्रेजेन्टेसन’ हो। हरर फिल्ममा कलाकारलाई प्रेजेन्ट गर्ने शैली डरलाग्दो बनाउनु नै हो। यसका लागि अँध्यारो रात, संरचनाको भद्रगोल अवस्था र डार्क मेकअप बढी प्राथमिकतामा पर्छन्। तर ‘घर’मा यो पाटो सशक्त बन्न सकेको छैन।
अचेल हरर फिल्मलाई साइन्स फिक्सन कथासँग जोडिएर देखाइन्छ। नेपालमा भने त्यस्तो प्रविधि विकास हुन बाँकी छ। कलाकारको अभिनयमै नेपाली हरर फिल्म टिक्नुपर्ने बाध्यता हो।
‘घर’मा सबै कलाकारको उत्कृष्ट अभिनय छ। सुरक्षा पन्तले आफूलाई अझै निखार्ने ठाउँ पाएकी छन् भने बेनिशा हमालले आफूलाई कुनै पनि भूमिकामा फिट देखिन सक्ने कलाकारको रूपमा परिचित गराएकी छन्। अर्पणको ‘न्याचुरल’ अभिनयबाट जोकोही प्रभावित हुन सक्छन् भने नवकलाकार अस्मिता खनालले आफ्नो भूमिकालाई न्याय गरेकी छन्।