१४ महिनापछि यसरी मिल्यो नेकपामा भागबन्डा
काठमाडौं : सत्तारूढ नेकपाले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज तथा सह-इञ्चार्ज तोकेको छ। लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको हो।
एकता भएको १४ महिनापछि जिल्ला इन्चार्ज र सह-इन्चार्जहरू तोकिएको हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। नेकपाले यसअघि नै जिल्ला अध्यक्ष तथा सचिव तोकिसकेको छ।
६ महानगरमा इन्चार्जहरू तोकिएका छन्। महानगरमा सह-इन्चार्ज भने तोकिएका छैनन्। केही जिल्लामा इन्चार्ज मात्रै तोकिएका छन् भने कतिपय जिल्लामा भागबन्डा मिलाउन १० जनासम्म सह-इन्चार्ज पनि तोकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको बसेको नेकपा सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाट गरेको हो। तर बैठकले विभाग प्रमुखहरू भने तोक्न सकेन।
आउँदो मङ्गलबार बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय विभाग र आयोगहरूको जिम्मेवारीबारे छलफल गर्न बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आइतबार भूगोलका ७७ जिल्लामध्ये तत्कालीन एमालेले ४१ र माओवादीले ३६ जिल्लामा इन्चार्ज पाएका छन्। यो कुल प्रतिशतका हिसाबले तत्कालीन एमालेको ५३.२४ र माओवादीको ४६.७५ प्रतिशत भागबन्डा हो।
६ महानगरपालिकामध्ये तत्कालीन एमालेले ४ र माओवादीले २ इन्चार्जको जिम्मेवारी पाएका छन्। महानगरलाई पनि जिल्लाकै हैसियत दिई नेकपाले नेताहरूको कार्यविभाजन गरेको छ।
पर्सा, उदयपुर, मुगु, दैलेख, स्याङजा, डोटी र बाजुरा गरी ७ जिल्लाको इन्चार्ज–सहइन्चार्ज दुवैमा तत्कालीन एमाले नेताले जिम्मेवारी पाएका छन्। तत्कालीन माओवादीले रोल्पा, सुर्खेत, जुम्ला, अछाम र सोलखुम्बु गरी पाँच जिल्लाको इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी पाएको छ।
कुन जिल्लामा कसलाई ?
पूर्वएमालेले भूगोलका ४१ र महानगरका ४ ओटाको इन्चार्ज पाएको छ। उसले ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेहथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा, बारा, पर्सा, चितवन, मकवानपुर, नुवाकोट, रामेछाप, काभ्रे, काठमाडौं, लमजुङ, स्याङजा, मनाङ, नवलपरासी पूर्व, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, अर्घाखाची, रुकुम पूर्व, बाँके, बर्दिया, दैलेख, जाजरकोट, मुगु, डोल्पा, दार्चुला, कञ्चनपुर, डोटी, बझाङ र बाजुरा जिल्ला तथा पोखरा महानगरपालिका, काठमाडौं महानगर, ललितपुर महानगर र वीरगन्ज महानगरको इन्चार्जको जिम्मा पूर्व एमालेका नेताहरुले पाएका छन्।
त्यस्तै माओवादी केन्द्र तर्फका ३६ भूगोल र २ महानगरपालिकाको जिम्मा पाएको छ। उसले धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर, सोलखुम्बु, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पाँचथर, इलाम, धनकुटा, भोजपुर, गोरखा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, कपिलवस्तु, गुल्मी, प्यूठान, दाङ, रोल्पा, सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, सल्यान, रुकुम पश्चिम, बैतडी, डडेलधुरा, कैलाली, अछाम र विराटनगर महानगर र भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी पाएको छ।
केन्द्रका मन्त्रीदेखि मुख्यमन्त्रीसम्म इन्चार्ज
संघीय सरकारका दुई मन्त्री, एक राज्यमन्त्री सहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीसम्मले पनि जिल्ला इन्चार्ज, सह-इन्चार्जको जिम्मेवारी पाएका छन्।
संघीय सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले काभ्रे जिल्ला इन्चार्ज, भूमिसधुार मन्त्री पदमा अर्यालले स्याङ्जा जिल्ला इन्चार्ज र कृर्षि राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लाको सह-इन्चार्जको जिम्मेवारी पाएका छन्।
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्ला इन्चार्ज, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले पाँचथर जिल्ला इन्चार्ज, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले धादिङ जिल्ला इनचार्ज, प्रदेश ४ का आन्तकिर मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले तनहुँ जिल्ला इन्चार्ज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्ला जिल्लाको सहइन्चार्जको जिम्मेवारी पाएका छन्।
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पार्टी कमिटिको इन्चार्जको जिम्मेवारी पनि पाएका छन्।
उदयपुरको त्रियुगा नगरपालिकाका मेयर रहेका बलदेव चौधरीले उदयपुर जिल्ला इन्चार्ज, भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर रहेका सोप्रसाद मिश्रले भक्तपुर जिल्ला सह-इन्चार्ज र दाङको घोरही उपमहानगरपालिकाको मेयर रहेका नरुलाल चौधरीले दाङको सहइन्चार्जको जिम्मेवारी पाएका छन्।
महिला इन्चार्ज १० जना
नेकपाले कुल ८३ जिल्ला इन्चार्जमध्ये १० जिल्लामा महिला नेतृलाई इन्चार्जको जिम्मेवारी दिएको छ। यो कुल १२ दशमलव ४ प्रतिशत हो।
तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखमा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, भरतपुर महागरपालिकामा रेणु दाहाल, ललितपुर महागनरपालिकामा सुशील नेपाल, स्याङ्जामा पदमा अर्याल, बाग्लुङमा बलवती शर्मा, मुस्ताङमा श्रीमाया थकाली, कैलालीमा रुपा चौधरीलाई जिल्ला इन्चार्ज बनाइएको छ। यसमध्येका राई, भुसाल, नेपाल, अर्याल र थकाली पूर्व एमालेबाट जिल्ला इन्चार्ज बनेका हुन् भने सुवेदी, खड्का, दाहाल, शर्मा र चौधरी पूर्व माओवादीवाट जिल्ला इन्चार्ज बनेका हुन्।