प्रथम महिला मेलानियाको बुख्याँचा
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको बुख्याँचा शैलीको सालिक अहिले सर्वत्र चर्चामा छ। स्लोभेनियामा जन्मेकी मेलानियाको विशाल मूर्ति अनावरण गरिएको छ। उनको गृहनगर सेभ्निकाबाट आठ किलोमिटर टाढा साभा नदीको किनारमा रहेको रोज्नो नामक गाउँमा नीलो रङको सालिक उभिएको छ। श्रीमान् डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि देशका नाममा पहिलो पटक सम्बोधन गर्दा मेलानियाले जुन पहिरन लगाएकी थिइन्, त्यही पहिरनको झल्को दिने गरी सालिक निर्माण गरिएको छ।
मेलानियाको विशाल काठको सालिकले कसैलाई हर्षित बनाएको छ भने केहीलाई दुःखी पनि बनाएको छ। उनीजस्ती सुन्दर महिलाको सालिक कुरूप र भद्दा भएको उनीहरूको भनाइ छ।
जर्मनीको राजधानी बर्लिनमा आधारित अमेरिकी कलाकार ब्राड डाउनीले मेलानियाको सालिक बनाउन लगाएका हुन्। स्लोभेनियाली कलाकार अलेस जुपेभकले सालिक बनाएका हुन्।
डाउनीले यसअघि अमेरिकी प्रथम महिलाको पैतृक विवरण समेटेर स्लोभेनियाको राजधानी लुब्लानामा कला प्रदर्शनी गरिसकेका छन्। यो नयाँ मूर्ति त्यसकै अर्को एउटा कडी हो।
राष्ट्रपति ट्रम्पको पहिलो सम्बोधन समारोहमा लगाएको पहिरनबाहेक सालिकको कुनै पनि कुरा मेलानियासँग नमिलेकोमा स्थानीय बासिन्दा रुष्ट छन्। रोज्नो गाउँका एक जनाले बासिन्दाले भने, ‘सालिक मेलानियाजस्तो देखिँदैन। यो अमेरिकी प्रथम महिलाको अपमान हो।’