श्रीमती बोकेर च्याम्पियन
हालसालै फिनल्यान्डमा ‘श्रीमती बोक्ने विश्वव्यापी प्रतियोगिता’ सम्पन्न भयो। अघिल्लो वर्षको विजेता दम्पतीले यो वर्ष पनि बाजी मार्यो। लिथुआनियाका भ्याटाउटास किक्र्लिआउस्कास र उनकी श्रीमती नेरिंगा दोस्रो पटक च्याम्पियन भए। किक्र्लिआउस्कासले श्रीमतीलाई काँधमा बोकेर निर्धारित २ सय ५४ मिटरको बाधा दौड (अब्स्ट्याकल कोर्स) १ मिनेट ७ सेकेन्डमा पूरा गरेका थिए। ‘मलाई त यसपालि जितिँदैनजस्तो लागेको थियो,’ किक्र्लिआउस्कासले भने, ‘तर, मेरी श्रीमती नेरिंगाको साथ र प्रेरणाले दोस्रो वर्ष पनि उपाधि जितियो।’
फिनल्यान्डका टायस्टो मिट्टिनेन छ पटक श्रीमती बोक्ने प्रतियोगिताको विश्व विजेता हुन्। यसपालि उनी नयाँ जोडी काट्जा कोभानेनसँग प्रतियोगितामा सहभागी भएका थिए। तर, लिथुआनियाली दम्पतीले उनीहरूलाई हरायो।
श्रीमती बोक्ने वार्षिक प्रतियोगितामा अस्ट्रेलिया, फ्रान्स, जर्मनीलगायत एक दर्जनभन्दा बढी देशका जोडी सहभागी थिए। प्रतियोगितामा भाग लिन महिला १७ वर्ष नाघेकी र ४८ किलोभन्दा बढी तौल भएकी हुनुपर्छ। महिला प्रतियोगीको तौलले महŒवपूर्ण भूमिका निर्वाह गर्छ। विजेता दम्पतीले श्रीमतीको तौलबराबर बियर पुरस्कार पाउँछन्। ‘श्रीमती जति गह्रुँगो हुन्छिन्, विजेताले त्यति नै धेरै बियर पाउँछन्,’ प्रतियोगिताका संस्थापक एरो पिट्कानेनले भने।
श्रीमती बोक्ने प्रतियोगिता भनिए पनि यसमा भाग लिन विवाहित नै हुनुपर्छ भन्ने छैन। प्रेमी–प्रेमिकाले पनि भाग लिन सक्छन्। ‘छिमेकीको श्रीमती लिएर आए पनि हुन्छ,’ संस्थापक पिट्कानेनले ठट्टा गर्दै भने।
श्रीमती बोक्ने प्रतियोगिताको रोचक इतिहास छ। उन्नाइसौँ शताब्दीमा फिनल्यान्डमा रोन्काइनेन नामक डाँकुको समूहले गाउँहरू लुट्ने गथ्र्याे। अन्नपात, धनसम्पत्तिका साथै डाँकुहरूले गाउँलेका श्रीमती पनि चोर्ने गर्थे। आफ्नी श्रीमती बचाउन उनलाई काँधमा हालेर गाउँलेहरू भाग्ने गर्थे।
फिनल्यान्डबाट प्रेरित भएर श्रीमती बोक्ने प्रतियोगिता अस्ट्रेलिया, पोल्यान्ड, इंग्ल्यान्ड र अमेरिकामा पनि आयोजना हुने गरेका छन्।