आमसभामा बीपी रुँदा
हिजो बीपीलाई फाँसी दिनुपर्छ भनी विदेशको दलाल र पुँजीवादी देख्नेहरूले पनि आज बीपीलाई देशभक्त देख्न थालेका छन्
बीपीमा राजनीतिक र साहित्यिक व्यक्तित्व अन्योन्याश्रित रूपमा थियो। उहाँ आफैं भन्नुहुन्थ्यो— साहित्यमा म अराजकतावादी हुँ, जहाँ सम्राट् पनि नांगो हुन्छ, राजनीतिमा प्रजातान्त्रिक समाजवादी। उहाँका यी दुवै व्यक्तित्वमाथि धेरै विचार–विमर्श भएको छ। हप्तामा एकदुईवटा लेख विभिन्न विद्वान्हरूले लेख्ने गरेका छन्। हिजो उहाँलाई फाँसी दिनुपर्छ भन्नेहरूका लागि आज बीपीको विचार चाहिएको छ। त्यसैगरी विदेशको दलाल पुँजीवादी देख्नेहरूले पनि आज बीपीलाई देशभक्त देख्न थालेका छन्। राजनीतिक विधामाथि उहाँ आफैंले पनि धेरै लेख्नुभएको छ र विभिन्न व्यक्तिले लेखेका छन्। कतिपयले विद्यावारिधि नै गरेका छन्। साहित्यिक विधालाई लिएर दुई दर्जन विद्वान्ले विद्यावारिधि गरिसकेका छन्। समसामयिक नेपालमा अर्को कुनै नेपाली छैन, जसका सम्बन्धमा यति धेरै विचार–विमर्श भएको होस्।
उहाँको निधन भएको पनि साउन ६ गते ३७ वर्ष पूरा हुँदैछ। यही सन्दर्भ पारेर अहिलेसम्म उहाँको सम्बन्धमा अनुद्घाटित सन्दर्भहरू यहाँ चर्चा गर्नेछु। राष्ट्रमाथि खतरा आइपर्यो, सबै राष्ट्रवादी शक्ति मिलेर देश बचाउनुपर्छ भन्ने नारा लिएर ०३३ सालमा अनन्य सखा गणेमानजीसँग नेपाल फर्कंदा उहाँहरूलाई गिरफ्तार गरियो र सुन्दरीजल जेलमा राखियो, जहाँ ०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्य ‘कू’ गरी गिरफ्तार गरेर आठ वर्षसम्म राखेका थिए। ०३३ सालमा स्वदेश फर्केपछि जेलमा बस्दा नै क्यान्सर रोगबाट ग्रस्त भई राजा वीरेन्द्रले अमेरिकामा औषधोपचार गर्न पठाए। उहाँ अमेरिकामा भएको बेलामै दुई वर्षअघि फाँसीको फैसला गरेर पनि फाँसी नदिई फैसला थाँती राखेका दुईजना कार्यकर्ता क्या. यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिइयो तर पनि उहाँ स्वदेश फर्कनुभयो। स्वदेशी फर्कंदा अहिले देश बचाउन बीपीको विचार आवश्यक छ भन्ने ‘मण्डले’ हरूबाट त्रिभुवन विमानस्थलमा हिंसात्मक प्रदर्शन भयो। स्वागत गर्न उपस्थित कार्यकर्तामाथि हमला गरियो। हमलामा घाइते केहीलाई अस्पताल भर्ना गर्नुपर्यो।
बीपी स्वदेश फर्केपछि छिमेकमा र अन्तर्राष्ट्रिय राजनीतिमा आएको परिवर्तनको दबाबका कारण ट्रिव्युजनलमा रहेको मुद्दा थाँती राखेर बीपी र गणेशमानजीलाई रिहा गर्न राजा वीरेन्द्र बाध्य भए। अमेरिका जानुभन्दा पहिले राजासँगको भेटमा बीपीले देशको राजनीतिका सम्बन्धमा कुरा गर्दा राजाले भनेका थिए, ‘पहिले तिमी उपचार गरेर फर्क अनि मुलुकको परिस्थितिको अध्ययन गरेपछि केकस्तो सुधार गर्ने भेटेर सल्लाह गरौंला।’ राजासँगको सल्लाहअनुसार बीपीले अमेरिकाबाट फर्केपछि पहिलो भ्रमण पोखरामा राख्नुभयो। बीपी पोखरा आउने भएपछि पश्चिमाञ्चलका कांग्रेसका कार्यकर्ता पोखरामा जम्मा भए। सर्वसाधारण मानिस र व्यापारी ठूलो उत्सुकताका साथ स्वागतमा जुटे। प्रशासन पनि प्रतिकूल थिएन। बीपीको स्वागतमा सबै उत्सुक देखिन्थे। यस्तो उल्लासमय वातावरणमा बीपी पोखरा जाने अघिल्लो दिन राति ०३२ सालको दोस्रो संविधान संशोधनपछि अघोषित रूपमा पोलिटब्युरोको भूमिकामा रहेको ‘पञ्चायत नीति तथा जाँचबुझ समितिको तर्फबाट पूर्व कम्युनिस्ट राधेश्याम कमारो पोखरा गएर अञ्चलाधीशसँग कुरा गरेपछि एकाएक कांग्रेसका कार्यकर्ता पक्राउ गर्न थालियो। कतिपयमाथि हातपात भयो। पोखराका अति सम्मानित नेता करुणानिधि कोइरालाको दारी नै उखेलियो। धरपकडमा परेका नेता तथा कार्यकर्ता कास्की जेलमा नअटेपछि दमौली, गोरखा र स्याङजाका जेलमा राखियो। हवाईजहाज आइपुग्नुअघि मण्डलेले हवाई मैदान कब्जा गरेर धर्ना बसे। जहाज पुग्यो तर बस्ने अवस्था नभएपछि काठमाडौं फर्कियो। पञ्चहरूको यो कुकृत्यको सर्वत्र निन्दा भयो।
पहिलो भेटमै बीपीले उनका पिता महेन्द्रजस्तो कुटिल नभएर राजनीतिका विषयमा खुला छलफल गर्ने राजा भएको ठहर्याउनुभयो। वीरेन्द्र अन्तर्राष्ट्रिय परिस्थितिका जानकार र खुला विचारका राजा लाग्यो। अन्तर्राष्ट्रिय परिस्थितिको दबाब र पञ्चहरूमा देखा परेको गुटगत स्वार्थ यस्तो परिस्थिति राजालाई परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास भेटपछि बीपीलाई लाग्यो। त्यसैको परीक्षण गर्न पोखरापछि गृह जिल्ला विराटनगरको कार्यक्रम राख्नुभयो।
पोखरामा पञ्चायत नीति तथा जाँचबुझ समितिका तर्फबाट भएको गुन्डागर्दीको सर्वत्र निन्दा भयो। त्यसको बदला भनी कांग्रेसका कार्यकर्ता ठूलो उत्साहका साथ विराटनगरमा बीपीको स्वागतमा तल्लीन भए। पूर्वाञ्चलका १६ जिल्लाका कार्यकर्ता विराटनगरमा जम्मा भएर पोखरामा बीपीको जहाज बस्न नदिएको बदला लिन तल्लीन कार्यकर्ता भव्य स्वागतको तयारीमा लागे।
बीपी विराटनगर जानुभन्दा दुई दिनपहिले म विराटनगर गएँ। त्यतिबेला कोशी अञ्चलाधीश थिए प्रा. सुरेन्द्रबहादुर श्रेष्ठ। प्रजातन्त्रप्रति आस्था राख्ने श्रेष्ठ पहिल्यैदेखि नै परिचित थिए। उनलाई भेट्न अञ्चलाधीश कार्यालय गएँ। आत्मीय रूपमा उनले भने विराटनगर बीपीको घर पनि हो। यहाँ पोखरामा जस्तो गुन्डागर्दीको व्यवहार हुन प्रशासनले दिने छैन। बीपीलाई विमानस्थलबाट प्रहरीको संरक्षणमा उहाँको निवासमा ल्याएर प्रहरी बाहिरिनेछ। आफ्नो घर कम्पाउन्डभित्र अरू सर्वसाधारणजस्तै उहाँले कसलाई भेट्नुहुन्छ हाम्रो सरोकारका विषय होइन। यो कुरा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई मैले भनेको छु– तपाईंले पनि सम्झाइदिनुहोला यतिबेला बीपी आउनु नै ठूलो उपलब्धि हो। धेरै हौसिएर पञ्चहरूलाई उत्तेजित पार्ने काम कांग्रेसबाट हुनु भएन। यही कुरा साथीहरूलाई भनिदिनु होला। भोलि बिहान आउनुहोस् न, चिया खाएर कुरा गरौंला अञ्चलाधीशले भने। उनीसँग बिदा भएर पार्टी अफिसमा गएँ। अञ्चलाधीशसँग भएका कुरा राखें। धेरै कार्यकर्ता अञ्चलाधीशको विचारसँग सहमत थिए। अहिलेको परिस्थितिमा बीपी विराटनगर आउनु नै ठूलो उपलब्धि हुनेछ भन्नेमा सबै सहमत भए।
अघिल्लो दिन बिदा हुँदा अञ्चलाधीशले भनेका थिए– भोलि बिहान चिया खान आउनुहोला। भोलिपल्ट निवासमा पुग्दा उनको मुखमुद्रा अलि मलिन थियो। उनले नै कुरा सुरु गरे, ‘होमनाथजी, यहाँ पनि पोखराकै वातावरण दोहोरिने भयो। राती पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य पूर्वकम्युनिस्ट यज्ञप्रसाद आचार्य राति आए। उनी आएको केही समयपछि माथिबाट फोन आयो, ‘बीपीका सम्बन्धमा यज्ञप्रसादले जे भन्छन् सोहीअनुसार गर्नू। अब मेरो हातमा केही छैन। यहाँ पनि पोखराकै जस्तो गुन्डागर्दी हुनेछ। तपाईं सुरक्षित हुनुहोला मित्रको नाताले भनेको। त्यसपछि अरू कुराकानी हुने कुरै भएन। बीपी आउनुभन्दा एक घन्टापहिल्यै विमानस्थल पुग्ने भन्ने निर्णयअनुसार कार्यकर्ता विमानस्थलतिर जाँदा बाटोमा प्रहरीले रोक्योे। निर्धारित समयमै विमान विराटनगर पुग्यो। त्योभन्दा पहिले मण्डलेले विमानस्थल नियन्त्रणमा लिइसकेका थिए। केही मण्डले विमानस्थल कब्जा गरेर बसे। केही कांग्रेस र सर्वसाधारण जनता उभिएको ठाउँमा आएर ढुंगा प्रहार गर्न थाले। स्वागत गर्न गएका मानिसलाई चोटपटक लाग्यो। प्रमुख नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गर्न थाल्यो। केही भागे र केही पक्राउ परे। पोखराकै घटना विराटनगरमा पनि दोहोरियो। मण्डलेको यो कुकृत्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रेसले निन्दा गथ्र्यो बीबीसी हिन्दी सेवाले लामो समाचार प्रसारण गर्यो। देश–विदेशमा पञ्चको कुकृत्यको निन्दा भयो।
राजा महेन्द्रको महत्त्वाकांक्षा र नेपालको विकास देख्न नचाहने बाह्य शक्तिले ०१७ सालको काण्ड गरी मुलुकलाई यस्तो दरिद्र अवस्थामा पुर्याएको हो, गरिब जनता देखेपछि भावुक बीपी सार्वजनिक सभामा नै रुनुहुन्थ्यो।
बीपी स्वदेश फर्केको मन नपराउने शक्ति राजा र बीपीका बीचमा मेलमिलाप नहोस् भन्नेमा लागेको थियो। केही समयअघि दुईजना कांग्रेसका कार्यकर्ताको हत्या हुँदा कुनै प्रतिक्रिया नजनाउने विद्यार्थीहरू पाकिस्तानमा पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिँदा काठमाडौंमा उग्र प्रदर्शनमा उत्रिए। ०१७ सालपछि काठमाडौंमा सबभन्दा ठूलो प्रदर्शन भयो। बीपी यो प्रदर्शनीको विरोधमा हुनुहुन्थ्यो। प्रदर्शनीलाई चर्काउन बीपीलाई घरमै नजरबन्द गरियो। प्रदर्शनकारीले आरएनएसीमा आगो लगाएर गोरखापत्र संस्थान जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्यो। हवाई फायरिङसम्म गर्नुपर्यो। एक हप्ताजति विरोध भइरहेपछि राजा वीरेन्द्रले जनमतसंग्रह गराउने घोषणा गरे। आफैं वा अन्य नेतासँग कुनै सरसल्लाह नगरी गरेको जनमतसंग्रहको घोषणा भए पनि राजनीतिक विवाद जनताको अभिमतबाट टुंग्याउने राजाको घोषणाको बीपीले तत्काल स्वागत गर्नुभयो। कार्यकर्ता र सबै प्रजातन्त्रवादी शक्तिलाई जनमतसंग्रहमा बहुदललाई जिताउन अपिल गर्नुभयो। बीपीको अपिलपछि विद्यार्थी आन्दोलन स्थगित भयो। उनीहरू बहुदलको पक्षमा प्रचारमा लागे।
जनमतसंग्रहको घोषणापछि बीपीको काठमाडौंपछि पहिलो कार्यक्रम पोखरामा राखियो। बीपी पोखरा जानुभन्दा दुई दिनपहिले दमननाथ ढुंगाना, डा. रामशरण महत, राधेश्याम अधिकारी, देवेन्द्रलाल नेपाली र पंक्तिकार पोखरा गयौं। पोखराको वातावरण उल्लासमय थियो। ०३५ सालमा बीपीलाई आउन नदिएको बदला लिन कांग्रेसका कार्यकर्ता मात्र होइन, सर्वसाधारण जनता सतर्क थिए। ०१७ सालपछिको यो सबभन्दा ठूलो राजनीतिक वातावरण थियो। पोखरामा भव्य स्वागत भयो। कुनै किसिमको प्रतिरोध भएन। पोखराको कार्यक्रम सकेर बीपी दमौली जानुभयो।
पोखराको भन्दा दमौलीको वातावरण भावुक थियो। गुरुङ र मगर समुदायका महिला गरगहनामा सज्जिएर ठूलो संख्यामा उपस्थित थिए। आमसभालाई सम्बोधन गर्ने क्रममा सर्वसाधारण जनतासहित महिलाको असंख्य उपस्थिति देखेपछि बीपीले भन्नुभयो, ‘मैले गल्ती गरेको थिएँ भने मलाई फाँसी दिएको भए हुन्थ्यो। यी गरिब जनताले के गल्ती गरेका थिए ? ’ मुलुकलाई आज विश्वको गरिब राष्ट्रमा पुर्याइयो यो भावुक भाषण गर्दागर्दै मञ्चमै बीपी रुनुभयो। बोली बन्द भयो। केही दिनपछि रुमाल निकालेर आँसु पुछ्नुभयो। उपस्थित महिला पनि रुन थाले। बीपी रोएको देखेपछि उपस्थित जनता पनि भावुक बने।
पाकिस्तानी कूटनीतिज्ञसँग बिहे गरेकी बीपीकी बहिनी बनु, बुहारी रोषा कोइराला, गोरखापत्रका पूर्वसम्पादक गोपालप्रसाद भट्टराई पनि बीपीसँग जानुभएको थियो। उपस्थित सबैका आँखाबाट आँसु झरे। सबै भावुक भए आफूलाई सम्हाल्दै बीपीले जनतासँग अनुरोध गर्नुभयो बहुदलको पक्षमा मतदान गर्न। अघिल्लोपटक विमान बस्न नदिएको र व्यापक रूपमा धरपकड गरेको बदला लिन सम्पूर्ण कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारण जनता बीपीको स्वागतमा लागे। कास्कीको वातावरण बहुदलको पक्षमा देखियो।
जुन शक्तिले पहिले पोखरा र विराटनगरमा हवाईजहाज बस्न दिएको थिएन, त्यो शक्तिका लागि बीपीको भव्य स्वागत असह्य भयो। दमौलीबाट स्याङजा जाँदा अप्ठ्यारो भीरको माझमा लुकेर बसेका पूर्वकम्युनिस्ट मण्डलेले बीपीलाई लक्ष्य गरेर गोली चलाए। गोली बीपीलाई नलागेर लमजुङ जिल्लाका पार्टी सभापति तारानाथ कोइरालालाई लाग्यो। सौभाग्यवश गोली हान्नेमाथि कारबाही भएन। उहाँ बच्नुभयो। यी घटनाबाट बीपी झन् विश्वस्त हुनुभयो। विदेशी शक्ति पञ्चायतभित्र घुसेर राजा र जनताबीच सम्बन्ध सुध्रन नदिने राष्ट्रवादी शक्तिबीच विभाजन ल्याएर आफ्नो कुटिल अभीष्ट पूरा गर्न चाहन्छ भन्नेमा बीपीको झन् बढ्यो। त्यसपछि नै उहाँले राजासँग आफ्नो गर्धन जोडिएको उद्घोष गरी बाह्य शक्तिलाई चुनौती दिनुभयो—राजाको गर्धन छिनाउनुभन्दाअघि मेरो गर्धन दिनाउनुपर्छ किनकि राजाको गर्धनमाथि मेरो गर्धन छ।
गण्डकी अञ्चलपछि सुदूर पश्चिमका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कार्यक्रम राखेर बीपी नेपालगन्ज जानुभयो। त्यसबेलासम्म निर्दलको तर्फबाट कार्यक्रम भएको थिएन। नेपालगन्जमा भव्य स्वागत भयो। आमसभाको भोलिपल्ट कार्यकर्ता र स्थानीय बुद्धिजीवीसँग भेटघाट कार्यक्रम थियो।
भेटघाटपछि सबै हिँडिसक्दा पनि कमजोर अवस्थामा रहेका ४/५ जना वृद्ध महिला बसिरहे। तिनको नजिक गएर मैले सोधें– सबै हिँडिसके तपाईंहरू किन बसिरहनुभएको ? उपस्थितमध्येकी एकजना अति दरिद्र अवस्थामा रहेकी वृद्धले भनिन्— हामीलाई राजाले जग्गा दिन्छ भनेर दैलेख पहाडमा भएको जेथाजमिन बेचेर यहाँ आयौं, यहाँ न जमिन दिए न त बसोबासको व्यवस्था छ, यी ठूला मान्छे रे, राजासँग पनि लड्न सक्ने उनीहरूसँग हाम्रो बसोवासको व्यवस्था हुनुपर्यो भनेर आएका हौं, तिमीले हामीलाई भेटाइदेऊ। उनीहरूले दैलेखी भाषामा अरू केके भने सबै बुझिनँ। बीपीलाई भनें, दैलेखबाट आएका वृद्धाहरू भेट्न चाहन्छन्। उहाँले बोलाउनु भन्नुभयो। बीपीलाई भेटेर तिनले गुनासो गरे– पञ्चले छक्याएर यहाँ ल्याए। १२/१५ वर्ष भयो, न जग्गा दिन्छन् न त कुनै घरवास छ। पुरुषजति भारत गएका छन्। हामी मर्ने बेलामा आफ्नो घरमा मर्न पाऊँ। बीपीले सम्झाउनुभयो– अब छिटै चुनाव हुन्छ। हाम्रा मानिस आएर बहुदलमा भोट हाल्नु भन्नेछन्, तपाईंहरूले भोट हाल्नुभयो भने पञ्चायत हार्छ र बहुदलले जित्छ अनि तपाईंहरूको गाँसबासको व्यवस्था हुन्छ। वृद्धाहरूको शारीरिक अवस्था हेर्दा तिनको प्रस्तुुति सुनेर बीपी भावुक हुनुभयो। राजा महेन्द्रको महत्त्वाकांक्षाले मुलुक यस्तो दरिद्र अवस्थामा पुग्यो। गरिब किसानका लागि काम गर्ने उहाँको योजना भताभुंग भएकोमा बीपी भावुक बन्नुभयो।
नेपालगञ्जबाट गुलरिया जाँदा त्यहाँको आमसभाको दृश्य अझ वीभत्स र कारुणिक थियो। मञ्चमा सुकिलामुकिला भए पनि आमसभामा उपस्थित हुनेको आङमा वस्त्र थिएन। सबैले कछाडले लाज छोपेका थिए। यस्तो दृश्य देख्दा जोकोहीको मन खिन्न हुन्थ्यो। पहाडबाट आएका र २०२१ सालमा भूमिसुधार लागू हुँदा ठूलाठालु पञ्चले जग्गा हडपेका थारूहरूको अवस्था कारुणिक थियो। बाबु र बाबुसाहेब सबै पञ्च थिए। बहुदल घोषणापछि केही बाबु (ब्राह्मण) बहुदलको पक्षमा आए। बाबुसाहेब पञ्चायतमा नै बसे। त्यहाँको दृश्यले देखाउँथ्यो– धनी पञ्चायतमा र गरिब बहुदलमा। मंगल थारू बीपीको अगाडि धक मानेर बोल्न सकिरहेका थिएनन्। जननेताले भने, ‘अपने भाषामा कहो’ त्यसपछि बोल्दै उनले भने, ‘मान्छे घोडामाथि चढ्यो भने त्यो स्वाभाविक हुन्छ, तर पञ्चायत व्यवस्था त मान्छेमाथि घोडा चढ्ने व्यवस्था हो। हामी सबै मिलेर गरिबमाथि घोडा चढ्ने यो व्यवस्था फाल्नुपर्छ।’ त्यसपछि बोल्दै बीपीले मंगल थारूको भनाइको समर्थन गर्नुभयो र धेरै ठाउँमा त्यसलाई दोहोर्याउनुभयो। मंगल थारू बहुदल आएपछि कांग्रेसको तर्फबाट चुनाव लडेर सहायक मन्त्री बने।
नेपालगन्जपछि बीपीको कार्यक्रम धनगढी र महेन्द्रनगरमा थियो। हवाई जहाजमा मसँगै थिए। कर्णाली आफ्नो गतिमा थियो। बर्दिया र कञ्चनपुरको जमिन सुक्खा, जनताका घर सबै झुपडी मात्र, पक्की घर एउटा पनि थिएन। प्रधानमन्त्री हुँदा इजरायलको भ्रमण गरेको र त्यहाँको संसदलाई सम्बोधन गर्दै इजरायल एक मरुभूमि मुलुक भएर पनि आज हराभरा र समृद्ध छ, नेपाल प्राकृतिक रूपमा अति सुन्दर भएर पनि अति गरिब छ। मैले यहाँका प्रधानमन्त्री र अन्य मन्त्रीसँग कुरा गरिसकेको छु, इजरायलले कृषिमा हासिल गरेको प्रगतिबाट नेपाल पनि लाभ लिन चाहन्छ, इजरायली कृषि वैज्ञानिकलाई नेपाल पठाउन इजरायल र नेपालबीच सहमति भइसकेको छ। इजरायलको संसद्लाई सम्बोधन गर्दा आफूले भनेको प्रसंग सुनाउनुभयो।
‘जसको जोत उसको पोत’ भन्ने नारा साकार पार्न बिर्ता उन्मूलन योजना लागू भइसकेको थियो। पूर्वको मोरङ, बीचको चितवन, पहाडको पोखरा र पश्चिम कैलाली जिल्लामा कृषक अगुवा तालिम केन्द्र स्थापना गर्ने र इजरायली कृषि विशेषज्ञहरूले तालिम दिने परिकल्पना राखेर अघि बढेको सरकारलाई महेन्द्रले डेढ वर्षमै विघटन गरे। बीपीलगायत नेताहरूलाई जेल हालेर पार्टीमाथि प्रतिबन्ध लगाएर मुलुकलाई विश्वका गरिब राष्ट्रहरूका समकक्षमा पुर्याए। बीपीको यो योजना सफल पार्न अमेरिका तयार थियो। केही विशेषज्ञ आएर झापामा भूमिसुधार कार्यक्रम सञ्चालन हुन थालेको थियो। ०२१ सालमा भूमिसुधार लागू भएपछि अमेरिकी विशेषज्ञलाई पञ्चायत सरकारले देशनिकाला गरेको थियो। राजा महेन्द्रको महत्त्वाकांक्षा र नेपालको विकास देख्न नचाहने बाह्य शक्तिले ०१७ सालको काण्ड गरी मुलुकलाई यस्तो दरिद्र अवस्थामा पुर्याएको र गरिब जनता देखेपछि भावुक बीपी सार्वजनिक सभामा नै रुनुहुन्थ्यो।