गरिबी निवारणको भरपर्दो माध्यम लघुवित्त
गोरखा नगरपालिका–३, नारेश्वरमा जन्मिएका कृष्णबहादुर थापा कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समिति सदस्य थिए। १० वर्ष अन्तर्राष्ट्रिय रेडक्रसमा मानव संशाधन म्यानेजरको पदबाट निवृत्त उनी त्यसअघि विभिन्न संस्थामा करिब १२ वर्षको अनुभव छ। ब्रेन फाउण्डेसन नेपालका उपाध्यक्ष, लाइन्स क्लब अफ काठमाडौंको क्षेत्रीय अध्यक्ष, राधेकृष्ण वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिसदस्यको जिम्मेवारी पूरा गरिसकेका छन्।
उनी हाल साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक अध्यक्षको रूपमा सेवारत छन्। गोरखामै केन्द्रीय कार्यालय रहेको यस संस्थाले साविक आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई लघुवित्तकै क्षेत्रमा पहिलो प्राप्ति (एक्विजिसन) गरी २०७६ असार ३० गतेबाट एकीकृत कारोबार सञ्चालन गरेको छ। यही अवसरमा लघुवित्त वित्तीय संस्थाको हालको अवस्था, भावी योजना र अनुभवबारे अन्नपूर्णकर्मी शिवप्रसाद उप्रेतीसँग गरेको कुराकानी :
साधना लघुवित्तको संस्थागत यात्रा कस्तो छ ?
साधना लघुवित्तले स्थापनाको छोटो समयमै धेरै प्रगति गरेको छ। संस्थाको सबै सूचक सन्तोषजनक छन्। २०७५÷७६ को प्रगतिलाई आधार मानेर विश्लेषण गर्ने हो भने वित्तीय संस्थाले अपेक्षाकृत सफलता हाँसिल गरिरहेको छ।
२०७६ असारमसान्तसम्म प्राप्ति गरेको संस्था समेतलाई लिँदा ४० शाखाबाट करिब ३५ हजार परिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह हुँदै आएको छ। २६ हजार ऋणी सदस्यमार्फत एक अर्ब २० करोड कर्जा प्रवाह गरी २० करोड निक्षेप संकलन गर्न सफल भएको छ। संस्थाको दक्ष व्यवस्थापन समूह, संस्थागत सुशासन, शेयरधनी सदस्यको सहयोग, सञ्चालक समितिका मित्रको योगदान तथा कर्मचारीको लगनशिलता र मिहिनेतका कारण यो संस्थाको हरेक सूचांक उत्कृष्ट भएको हो।
नेपालको इतिहासमै लघुवित्तको पहिलोपटक मर्जर गर्नुभयो। अलि हतार भएन ? संस्थालाई के फाइदा हुन्छ ?
साधना लघुवित्तले नेपालको निजी क्षेत्रबाट स्थापित लघुवित्त वित्तीय संस्थाकै इतिहासमा पहिलोपटक भानु नपा १ तनहुँ मा केन्द्रीय कार्यालय रहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ। यो लघुवित्त क्षेत्रको एउटा उदाहरणीय कार्य पनि हो। तर पनि हामीजस्तो भर्खर पाइला टेक्न सुरु गरेको संस्थाका लागि अलिकति हतार महशुस त भयो नै। कुनै पनि संस्थाले नियमनकारी निकायको नियम मान्नैपर्छ। संस्थाले नेपाल राष्ट्र बैंकबाट २०७६ असार २५ गते अन्तिम स्वीकृति प्राएको हो। असार ३० गतेदेखि एकीकृत कारोबार सुरु पनि गरिसकेको छ। दुई वित्तीय संस्थाको कार्यक्षमता बढ्ने र आगामी दिनमा उच्च परिणाम हासिल हुनेछ भने अपेक्षा छ।
विगतमा धमाधम इजाजत दिने र अहिले आएर मर्जरमा जान बाध्य बनाउने राष्ट्र बैंकको रणनीतिलाई कसरी लिनुभएको छ ?
अझै पनि न्यून प्रतिशत जनंसख्याले प्रत्यक्ष रूपमा वित्तीय सेवा वा भनांै वित्तीय पहुँचमा छन्। सञ्चालनमा रहेको क, ख र ग वर्गका बैंक वित्तीय संस्था सहर केन्द्रित एवं नाफामुखी छ। ग्रामीण क्षेत्रमा वित्तीय पहँुचको वृद्धि, वित्तीय साक्षरता प्रवाह साथै समुदायको सामाजिक आर्थिक रूपान्तरण गर्ने उद्देश्य छ। स–सानो पुँजीबाट सञ्चालन गर्न सकिने लघुवित्त संस्थाको स्थापनाका लागि नियमनकारी निकायले सहज रूपमा इजाजत प्रदान गरेको हुनसक्छ। राष्ट्र बैंकको यो रणनीति वर्तमान आवश्यकतालाई हेर्दा यो स्वागत योग्य छ।
सार्वजनिक फोरमहरूमा लघुवित्त वित्तीय संस्थाले लघुवित्तको भावनाअनुरूप काम नगरेको सुनिन्छ। तर पनि लघुवित्त सेवा नै किन ?
लघुवित्त वित्तीय संस्थाले लघुवित्तको मर्मअनुरूपै काम गरिरहेका छन्। लघुवित्तको मुख्य उद्देश्य नै ग्रामीण क्षेत्रमा छरिएर रहेका स–साना पुँजीलाई निक्षेपका रूपमा संकलन गर्ने काम हुनेछ। संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरी सदस्यकोे आर्थिक अवस्थामा सुधार गरी राष्ट्रिय उत्पादनमा योगदान पुर्याउनु हो।
समूहको माध्यमबाट बिनाधितो कर्जा प्रवाह गरी निरपेक्ष गरिबीको रेखामुनिका नागरिकमा वित्तीय पहँुचको वृद्धि र वित्तीय साक्षरताको विस्तार गर्ने काम लघुवित्तले गर्दछ। कर्जाको सदुपयोग हुने हो भने गरिबी न्यूनीकरणको भरपर्दो माध्यम लघुवित्त वित्तीय संस्थाको सेवा हुन सक्छ। राज्यका लागि दरिलो खम्बाका रूपमा लघुवित्त संस्था उभिन सक्दछ।
लघुवित्त संस्था ग्रामीणमुखी हुनुपर्नेमा किन सहर केन्द्रित देखिन्छन् ?
यसमा दुईवटा कारण हुन सक्छन्। पहिलो वित्तीय संस्थाका लागि आवश्यक पर्ने पूर्वाधार नहुनु जस्तै इन्टरनेट, विद्युत्, सुरक्षा तथा अन्य संस्थाको उपस्थिति नहुनु, दोस्रो ग्रामीण क्षेत्रमा वित्तीय साक्षरताको कमी। तर पनि पछिल्लो पूर्वाधारको विकास हुने क्रमसँगै लघुवित्त संस्था ग्रामीण क्षेत्रमा स्थापित हुन बढी क्रियाशील छन्। साधना कुल शाखा संख्याको ९० प्रतिशत गाउँपालिकामा छन्।
बिनाधितो कर्जामा लघुवित्तको कर्जा लगानीमा जोखिम छ, छैन ?
लघुवित्त वित्तीय संस्थाहरूले समूहको माध्यमबाट सामूहिक जमानीमा कृषि, पशुपालन तथा अन्य व्यवसायको विस्तार गर्ने परियोजनाका लागि बिनाधितो कर्जा प्रवाह गर्दा जोखिम उच्च छ। तर पनि सदस्यसँग हरेक मासिक बैठकमा अन्तक्र्रिया हुने, परियोजनाको स्थलगत अध्ययन अवलोकन हुने र लगानी गरिएका कर्जाको उद्देश्यअनुरूप कार्य गर्न उत्प्रेरित गरिने भएकाले कर्जा असुलीमा भने त्यति ठूलो चुनौती देखिएको छैन। तर पनि जोखिम न्यूनीकरण गर्न वित्तीय साक्षरताको आवश्यकता देखिन्छ।
के लघुवित्तको सफलताको मापन यसको प्रतिफल नै हो ?
तुलनात्मक रूपमा हेर्दा आजसम्म लघुवित्त वित्तीय संस्थाले वाणिज्य बंैकहरूको तुलनामा केही धेरै प्रतिशतले प्रतिफल दिइरहेका छन्। यसको मतलब लघुवित्त संस्थाको आर्थिक अवस्था राम्रै छ। त्यसैले पनि सर्वसाधारणको आकर्षण उच्च भएको हुनसक्छ। समाजले आजसम्म लघुवित्त वित्तीय संस्थाको सफलतालाई मुनाफामा मात्र मापन गर्ने गरिएको छ। जसले अन्य बैंक तथा वित्तीय संस्था जस्तै लघुवित्त संस्था पनि मुनाफा केन्द्रीत वा बढीभन्दा बढी मुनाफा आर्जन गर्ने होडबाजीमा लागेका छन्।
सफलताको मापन गर्ने आधारमा वित्तीय संस्थाले पुर्याएको गुणस्तरीय सेवा, वित्तीय साक्षरता, गरिबी उन्मूलनको प्रयास र सामाजिक प्रभाव पनि हुनुपर्छ। लघुवित्त संस्थाले ऋण प्रदान गरेको ऋणीमा कस्तो आर्थिक परिवर्तन भयो, समाजमा कस्तो परिवर्तन ल्यायो र राज्यलाई कस्तो सहयोग भयो भन्ने कुरा नै सफलताका आधार हुन् जस्तो लाग्छ।
लघुवित्तका चुनौती र समस्या के–के छन् ? समाधानका लागि के गर्नु पर्ला ?
हाल लघुवित्त क्षेत्रमा अन्य बैंकिङ क्षेत्रमा भन्दा पनि बढी प्रतिस्पर्धा छ। आजको अवस्था हेर्दा झन् लघुवित्तको प्रतिस्पर्धा चुनौतीपूर्ण र कतिपय अवस्थामा अस्वस्थ बन्दै गएको अवस्था छ। किनभने अरू बैंक तथा वित्तीय संस्थाले पर्याप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्छन्।
उनीहरूले सकार गर्ने धितोको दोहोरो प्रयोगको कुनै सम्भावना रहँदैन। तर लघुवित्तमा बिनाधितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिने सम्भावना रहन्छ। यो दोहोरोपना नै लघुवित्तको मुख्य समस्या हो। अब लघुवित्त सेवामा विशिष्टीकरण गर्नु जरुरी छ।
अन्त्यमा केही भन्नुहुन्छ ?
अहिलेसम्मको वित्तीय क्षेत्रको अनुभवलाई प्रयोग गरेर एउटा नमूना लघुवित्त स्थापित गर्ने ध्येय हो। राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रममार्फत सहयोग गर्ने हाम्रो प्रतिवद्धता छ।