शिक्षण अस्पताल बर्सेनि घाटामा

शिक्षण अस्पताल बर्सेनि घाटामा

काठमाडौं : उज्यालो नहुँदै बिरामी टिकट काट्न आइपुग्छन्। जँचाउने तथा भर्ना भई उपचार गराउनेको संख्या बर्सेनि बढ्दो छ। शल्यक्रिया गर्नुपरे महिनौं कुर्नुपर्छ। लाग्छ, अस्पतालले मुनाफा गरिरहेको छ। तर, अवस्था ठीक उल्टो छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ ) अस्पताल सधैँ घाटामा छ। नाफा गर्न नसकेको अस्पतालमा जँचाउन र भर्ना भई उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ।

करिब सात सय शड्ढया क्षमतामा सञ्चालित अस्पतालले आइतबार ३७ औं वार्षिकोत्सव मनाएको छ। अस्पताल जापान सरकारको सहयोगमा स्थापना भएको हो। वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले अस्पताल घाटामा रहेको तथ्य सार्वजनिक गरे। ०७६÷७७को प्रक्षेपित आर्थिक विवरणअनुसार अस्पतालले २ अर्ब १८ करोड ५६ लाख २२ हजार ९ सय ९४ रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। जसमध्ये २ अर्ब १९ करोड २५ लाख १२ हजार ३ सय ५० रुपैयाँ खर्च हुने अनुमान छ। निर्देशक डा. खड्गाका अनुसार ६८ लाख ८९ हजार ३ सय ५५ रुपैयाँ घाटा हुने देखिन्छ।

३७ वर्ष पुरानो अस्पतालमा चिकित्सकसहित करिब १४ सय कर्मचारी कार्यरत छन्। आन्तरिक स्रोतबाटै चिकित्सक, नर्सिङ कर्मचारी, प्यारामेडिक्स, सुरक्षा तथा सरसफाइ कर्मचारी व्यवस्था गर्नुपरेको डा.खड्गा बताउँछन्। ‘यही मुख्य कारण हो जसले गर्दा लामो समयदेखि अस्पतालले बर्सेनि घाटा व्यहोर्दै आएको छ,’ डा. खड्गाले भने।

अस्पतालमा नियमित उपचार गराउने बिरामीको संख्या बढे पनि अस्पताल घाटामा गएको हो। अस्पतालले चालु वर्षमा आन्तरिक स्रोतबाट १ अर्ब १४ करोड ८७ लाख २५ हजार ७ सय ९४ रुपैयाँ आम्दानी गरेको छ। यसबाहेक अस्पताललाई सरकार र त्रिविबाट छुट्टाछुट्टै अनुदानअन्तर्गत ८२ करोड ४ लाख ७२ हजार २ सय रुपैयाँ प्राप्त भएको अस्पतालले जनाएको छ।

अस्पतालले बिरामीलाई न्यून शुल्कमा उपचार गर्दै आएको छ। कर्मचारीको तलब–भत्ता भने अन्य सरकारी अस्पतालमा भन्दा बढी छ।

अस्पतालको इमरजेन्सी, बहिरंग विभाग र भर्ना हुने बिरामीको संख्या बढेको छ। ०७४÷७५ मा बहिरंग विभागमा उपचार गराउन आउने बिरामीको संख्या ५ लाख ८ हजार ३ सय ३१ थियो। ०७५÷७६ मा ५ लाख २५ हजार ५ सय ११ पुगेको छ। अस्पताल भर्ना भई उपचार गराउने बिरामीको संख्या पनि बढेको छ। ०७४÷७५ मा २५ हजार १२ जना बिरामीले भर्ना भई उपचार गराएका थिए। चालु वर्षमा भर्ना गराउनेको संख्या २५ हजार ८ सय ४५ जना पुगेको छ। इमरजेन्सीमा उपचारका लागि आउने बिरामीको संख्या पनि गत वर्षभन्दा झन्डै दुई हजारले बढेको अस्पतालले जनाएको छ।

दशकदेखि मिर्गौला प्रत्यारोपण गरिरहेको अस्पतालमा कलेजो प्रत्यारोपण सेवा पनि सुरु गरिएको छ। अस्पतालका प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा एक महिनामा दुई जनाको प्रत्यारोपण गरिएको छ। न्यून खर्चमा प्रत्यारोपण भइरहेको डा.भण्डारी बताउँछन्।

अस्पतालमा विद्यमान दरबन्दीमा पुनरवलोकन गरी आवश्यकताअनुसार जनशक्ति व्यवस्थाका लागि ओ एन्ड एम सर्भे कार्य अघि बढाइएको कार्यकारी निर्देशक डा. खड्गा बताउँछन्। समितिको प्रतिवेदन पाएपछि दरबन्दी व्यवस्थाका लागि त्रिविमार्फत सरकारसमक्ष पहल गर्ने योजना राखिएको छ। अस्पताललाई सरकारले दिने अनुदानमा वृद्धि गर्न पनि पहल भइरहेको अस्पतालका कार्यकारी निर्देशक डा. खड्गाले बताए। ०००

आन्तरिक स्रोतबाटै चिकित्सक, नर्सिङ कर्मचारी, प्यारामेडिक्स, सुरक्षा तथा सरसफाइ कर्मचारी व्यवस्था गर्नुपरेको डा.खड्गाको भनाइ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.