सिरहामा बाढी सकस : बाँधमै बास, सधैँभरी त्रास
सिरहा : गत शुक्रबार साँझदेखि कमला नदीमा बाढीको बहाव बढेसँगै सिरहा नगरपालिका ६ बसपिटा गाउँका महेश साहको ढुकढुकी पनि बढ्दै जान्छ। उनमा घर कमला नदीको बाँधमै भएकाले बगाउला भन्ने डर छ। उनी घरी घरतिर हेर्छन् भने घरी नदीतिर हेर्न जान्छन्। उनको घर अगाडी नदीको बाढीले कटान गरेको छ। पानीको बहाव कम भएपछि स्थानीयले कटान रोक्न प्लाष्टिको बोरामा माटो हालेर पुरेका छन्।
उनका छिमेकी राजेश साह पनि उनीजस्तै चिन्तामा परेका छन्। बाढीले घर भत्काइ दियो भने कसरी बाँच्ने भन्ने डर उनमा छ।खाना त्यागेर दिनभरी बाँधमै बसेर बाढी नियालिरहेको उनले सुनाए। उनीहरु रातभरी जाग्राम पनि बसेका थिए। बाँधमै घर हुँदा उनीहरुलाई सधैंभरी बाढीकै त्रासमा बाँच्नु परेको छ। नदीको कटानले बाँध दिनदिनै बस्तीतिर धकेलिदै गएको छ।
'छिमेकी गाउँ सारश्वरमा बाँध फुटेर आएको पानीले गाउँ पसेको थियो,' महेशले भने, 'यता पनि बाँध भत्किने हो कि भन्ने डरले सताउन थालेको छ।'प्रत्येक वर्ष बाढीले बाँध भत्काउँदा त्यसको मर्मत सम्भार नहुँदा जोखिम बढ्दै गएको उनले बताए।
'बाँधमा वर्षेनी निर्माणका लागि लाखौं खर्च भइरहेको छ तर, टिकाउ काम भइरहेको छैन्,' सोही गाउँका रन्जित ठाकुरले भने, 'बाढीले वस्ती जोखिममा परेको छ।' बाँध मजबुत बनाए मात्रै बस्ती सुरक्षित हुने उनले बताए।
कमलाको बाढीले बसपिटा गाउँमा मात्रै होइन बाँधमा बस्ती भएका सबैको चिन्ता एउटै छ। पूर्व-पश्चिम लोकमार्गको कर्जन्हा नगरपालिका ३ देखि सिरहा नगरपालिका १६ सम्ममा दुई दर्जनभन्दा बढी बस्ती बाँधमै छन्।यसवर्षको बाढीले ती वस्तीमा व्यापक क्षति पुर्याएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार बाढीबाट सिरहाका ५ हजार ३ सय २६ घरमा पूर्ण र १० हजार एक सय ८९ घरमा आंशिक क्षति पुगेको छ।
दुई हजार ६ सय ३१ परिवार विस्थापित भएका छन्। ठाउँठाउँमा सडक भत्किएका कारण आवतजावत रोकिएको छ। बाढीबाट करिब ७५ हजार मानिस प्रभावित भएको तथ्यांक छ।
सिरहामा बाढीमा परी मिर्चैया नगरपालिका ४ का पाँच वर्षीया प्रियंका महतो र रागिनी महतो, नरहा गाउँपालिका ३ का ५५ वर्षीय शोभित कटुवाल, २० वर्षीय वली साहको मृत्यु भएको छ।