गण्डकीको भरोसा पर्यटन

गण्डकीको भरोसा पर्यटन

सात प्रदेशमध्ये गण्डकी धनी मानिन्छ। यसलाई समृद्धिको शिखरमा पुर्‍याउने आधार पनि प्रशस्त छन्। तीमध्ये मुख्य हुन्– पर्यटन, ऊर्जा र कृषि। अन्नपूर्ण मिडिया नेटवर्कले पोखरामा आयोजना गरेको ‘गण्डकीको समृद्धि’ विषयक राउन्ड टेबल छलफलमा यसका विस्तृत पक्ष उठाइए।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटनदेखि संस्कृतिसम्मका सम्पदालाई उदाहरण दिई यस प्रदेशलाई उन्नत बनाउने आधार प्रस्तुत गरे। मूल रूपमा समृद्धिको आधार पर्यटनलाई मानेर सोही अनुसारका योजना बनाउनु पर्नेमा सरोकारवालाको जोड थियो। पर्यटन एवं अन्य व्यवसायी, सरकारी अधिकारी तथा नागरिक समाजका अगुवाले गण्डकी प्रदेशको समृद्धिलाई बुँदागत रूपमा प्रस्तुत गरे। प्रस्तुत छ राउन्ड टेबलमा व्यक्त धारणाहरूका सम्पादित अंश–:

सन् २०२२ मा २० लाख पर्यटक

- पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री, गण्डकी प्रदेश

भर्खरै अस्ट्रेलियन सरकारको सहयोगमा ‘नेपाल कहाँ जाँदैछ’ भनेर काठमाडौं विश्वविद्यालयले एउटा सर्भे गरेको छ। त्यो सर्भेले आशावादी बनाएको छ। परिस्थितिले पनि साथ दिएको छ। त्यो सर्भे रिपोर्टअनुसार बिजुली र खानेपानीको राम्रो प्रबन्ध गण्डकीमै रहेछ। सडकको पहुँच पनि राम्रो छ। गुणस्तरीय शिक्षा पनि गण्डकीमै रहेको सर्भेले भन्छ। यी हाम्रा विकासका महत्त्वपूर्ण पाटा हुन्। ग्रामीण तहका बासिन्दाको आर्थिक वृद्धिदर पनि गण्डकीमै राम्रो छ। गण्डकीका ७८ प्रतिशत घरधुरीका मानिससँग बैंक खाता छ। सुरक्षाको हिसाबले पनि सबैभन्दा सुरक्षित प्रदेश गण्डकी।

पर्यटक आगमन सुरक्षामा निर्भर रहन्छ। लगानीमा सुरक्षा महत्त्वपूर्ण हुन्छ। त्यस हिसाबले पनि हाम्रो प्रदेश अनुकूल छ। भौगोलिक हिसाबले हामी बीचमै छौं। दुई देशको ट्रान्जिट प्वाइन्ट पनि पोखरा। लुम्बिनी गण्डकीसँग जोडिएको छ। ३ नम्बर प्रदेश गण्डकीसँग जोडिएको छ। पर्यटनका सम्भावना भएका ती दुई प्रदेशसँग जोडिनु हाम्रा लागि सौभाग्य हो। प्रकृतिले वरदान दिएको छ। अब हामीले यी सौभाग्यहरूलाई समृद्धिसँग जोड्नुपर्छ।

जनसंख्या २४ लाख छ, पर्यटक आगमन संख्या पनि जनसंख्याकै हाराहारीमा पुर्‍याउने हाम्रो लक्ष्य हो। भन्नचाहिँ हामीले २० लाख पर्यटक भनेका छौं। १० लाख पर्यटक त अहिले नै छन्। मुस्ताङको कोरला नाका खुल्यो भने मानसरोवर जाने बाटो पनि त्यही हुन्छ।

स्वास्थ्योपचारको केन्द्र बनाएर मेडिकल टुरिजमको सम्भावना पोखरामै छ। दक्षिण एसियाली देशका विद्यार्थी यहाँ पढ्न आउने बनाउन हामी सक्छौं। पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाएर भारत र पाकिस्तानबीच क्रिकेट खेलाउन सकिन्छ। खेलकुद पर्यटनको ठूलो सम्भावना बोकेको राजधानी पोखरा हो। पर्यटनको मात्रै होइन खेलकुदको पनि राजधानी हुनसक्छ पोखरा।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुपर्छ भनेर हाम्रो क्याबिनेटले निर्णय गरेको हो। १ सय रोपनीभन्दा बढी जमिन खोजिरहेका छौं। हाइनान र बोआओ गएर त्यहाँ हलभित्र गएर हेरेर पनि आएको छु। मरुभूमिजस्तो ठाउँमा बोआओ कन्फ्ररेन्स हलले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। तर हामीले जग्गा पाएका छैनौं। स्थानीय तहले र प्रदेशले जे बनाउन चाहे पनि जग्गा पाएको छैन। संघ संघीयता भन्या छ तर केन्द्रीयकरणमात्रै गरिरहन्छ। संघले हामीलाई अस्पताललाई जग्गा दिएको छैन। रंगशालालाई जग्गा दिएको छैन। चिडियाखानाका लागि दिएको छैन। कति माग्या छौं माग्या छौं। तर दिएको छैन। अब त संघले प्रयोग गरेको छैन, स्थानीय तहले प्रयोग गरेको छैन भने सार्वजनिक जमिन हामीले प्रयोग गर्ने मुडमा पुगिसकेका छौं। देश, जनता र समृद्धिका लागि प्रयोग गर्ने हो हामीले।

फेक इन्सुरेन्सका कारण युरोपेली पर्यटक पोखरामा घटे। रवीन्द्र नबित्दै मैले कारबाही गर्न सुझाएको थिएँ। यसभित्र कोको छन् थाहा छैन। यसबारे क्लियर गर्नु नै छ। पोखराको लेकसाइड २४ घन्टा खुल्नुपर्छ भनेर धेरैपटक कुरो भएको छ। मापदण्ड तोकेर खोल्नेतर्फ मेरो ध्यान जाने छ। केही कमजोरी भएका छन् भने मनले चाहेर होइन। आलोचना र सुरवा लिन्छौं। निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छौं। पूर्वाधार राज्यले बनाइदिनुपर्छ। लगानी निजी क्षेत्रले गर्ने हो। सन् २०२२ मा १ जना पनि नघट्ने गरी २० लाख पर्यटक भित्र्याउन लागेका छौं। यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं।

गण्डकी प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राखेको छ। समृद्धिको आधार भनेको सुशासन हुँदै हो। समृद्धिको आधार भनेर हामीले पर्यटन भनेका छौं। गरिबी निवारण, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने हाम्रो ध्येय छ। समृद्धिका लागि जनशक्ति विकास र शान्ति सुरक्षा प्राथमिकतामा राखेका छौं। पर्यटनलाई प्राथमिकतामा राख्दा २०१९ हाम्रो आन्तरिक पर्यटन प्रवर्द्धन वर्ष भनेका छौं। २०२०लाई छिमेकी पर्यटन प्रवर्द्धन वर्ष भनेका छौं। २०२२ मा भिजिट गण्डकी एयर मनाउँछौं। त्यतिबेला २० लाख पर्यटक भित्र्याउने भनेका छौं। सबै प्रदेश सुन्दर छन्। तर सबैभन्दा सुन्दर प्रदेश हाम्रो गण्डकी हो। त्यस कारणले पर्यटनको सम्भावना छ। प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्छौं।

गण्डकीको खेलकुद विकासलाई पर्यटनसँग जोड्दै छौं। शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गरेर पर्यटनसँगै जोड्ने हो। धार्मिक पर्यटक पनि हाम्रोमा अत्यधिक आउँछन्। शक्तिपीठ धेरै छन्। नेपालको काशी देवघाट गण्डकी प्रदेशमै छ। आध्यात्मिक गन्तव्य धेरै छन्। मल्टिकल्चर भिलेज बनाएर पर्यटक आकर्षण गर्ने विचार छ। अन्तर्राष्ट्रिय प्रतियोगिता वर्षको प्रत्येक दिनै गर्ने स्टेडियम बनाउने योजना छ। हाइड्रोको पनि प्रचुर सम्भावना गण्डकीमा छ।

पोखराबाट बुटबल र त्रिवेणी फास्ट ट्र्याकको कुराकानी भइरहेको छ। कोरलाबाट बाटो बन्दैछ। पोखरालाई कुनै हिमाल र डाँडाकाँडाले छेक्दैन। त्यो भएपछि पर्यटक सीधै पोखरा आउँछन्। अहिले नेपाल आएका ४० प्रतिशत पर्यटक पोखरा आइरहेका छन्। पहुँच बनेपछि ६०÷७० प्रतिशत पर्यटक आउनेछन्।

पर्यटन नीति बनाउँदैछौं

- विकास लम्साल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

हामीले पहिलो नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकतामा राख्यौं। ऊर्जा, कृषि र उद्योग क्रमशः दोस्रो, तेस्रो र चौथो प्राथमिकतामा छन्। पूर्वाधार र जनशक्ति निर्माण पनि अर्को महत्त्वपूर्ण प्राथमिकताको विषय हो।

गण्डकी प्रदेशमा यो महिना ७ हजार पर्यटक बढेका छन्। १२ लाख पर्यटक आएका छन्। पर्यटकको अभिलेख पनि राख्न थालेका छौं। पहिला पर्यटन नीति तय गर्नु छ। प्रदेशको पर्यटन ऐन र प्रदेशको पर्यटन गुरुयोजना कस्तो बनाउने भनेर लागेका छौं। पर्यटन गन्तव्य तय गरेर डीपीआर निर्माण गर्न लागेका छौं। ८५ वटै स्थानीय तहले केही नै केही गरिरहेका छन्। प्रदेशका ११० गन्तव्य पहिचान गरेका छौं। एउटा जिल्लाका ४ वटा गन्तव्यको पूर्वाधार तय गर्ने भनेर बजेट छुट्याएका छौं।

२० लाख पर्यटक ल्याउन सकिन्छ गण्डकीमा भनेर लागिरहेका छौं। अहिले एक दिनमा २५ हजार पर्यटक पोखराले राख्न सक्छ। त्यो क्षमता बढाउन निजी क्षेत्रलाई हौस्याएका छौं। पर्यटक बोलाएर मात्रै भएन। उनीहरूलाई के खुवाउने ? कृषिलाई पर्यटनसँग जोड्ने भनेर १४ सय किसानलाई अर्गानिक उत्पादनका लागि सपोर्ट गरेका छौं। गण्डकी प्रदेशको ब्रान्ड ग्लोरियस गण्डकी भनेर तय गरेका छौं। सरकारले नीति बनाउने हो। सुशासन कायम गर्ने हो। व्यवसायीका लागि वातावरण बनाउने हो। लगानी व्यवसायीले नै गर्ने हो। व्यवसायीले चाहेको कुरा गर्न गण्डकी प्रदेश सरकार तयार छ।

अहिले मनाङले ‘मनै छुने मनाङ’ बनाउँदैछ। मुस्ताङमा उस्तै सम्भावना छ। म्याग्दीमा तातोपानी कुण्ड व्यवस्थित गर्ने हो भने धेरै दिन पर्यटक राख्न सकिन्छ। दक्षिणमा जंगल सफारी छ। गण्डकीका सबै जिल्लामा पर्यटनको सम्भावना छ। लमजुङलाई होमस्टेको राजधानीको रूपमा विकास गर्ने भनेर लागिरहेका छौं। पोखरा पर्यटनको राजधानी नै हो। हामीले राजधानी घोषणा गर्नुपर्छ भनेर लागिरहेका छौं। संघ सरकारबाट घोषणा पक्कै हुनेछ। संघलाई यो प्रस्ताव पठाएका छौं। ०००३. समृद्धिको यात्रामा प्रतिपक्ष पनि साथमै छ

कृष्णचन्द्र नेपाली,नेपाली कांग्रेस संसदीय दलका नेता,गण्डकी प्रदेश गण्डकी प्रदेशको विकास निर्माण र समृद्धिको यात्रामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस साथमा छ। प्रदेशको विकासका लागि प्रदेश सरकार र प्रमुख प्रतिपक्षबीच लोकतान्त्रिक अभ्यासअनुसार सहकार्य भइरहेको छ। विकासको योजना र गतिलाई कसरी अघि बढाउने भन्ने प्रमुख चुनौती हो। प्रदेशको विकास कसरी अघि बढाउने भन्ने विषयमा प्रदेश स्पष्ट कार्यदिशासहित अघि बढ्नुपर्छ। तर प्रदेश त्यो गतिमा अघि बढ्न सकेको छैन।

गण्डकी प्रदेशले धार्मिक पर्यटकबाटै मात्र पनि धेरै फाइला लिन सक्छ। मुस्ताङको मुक्तिनाथ मन्दिरमा लाखौं भारतीय पर्यटक लैजान सकिन्छ। लुम्बिनीमा लाखौं चिनियाँ धार्मिक पर्यटक लैजान सक्यौं भने गण्डकी प्रदेश पनि त्यसबाट लाभान्वित हुनेछ। यसका लागि योजना बनाएर भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्छ।

प्रदेशको विकासका लागि त्रिवेणी नाका खोल्नु आवश्यक छ। संरक्षण क्षेत्र भएको कारण यो नाका खोल्ने कार्य रोकिएको छ। यो नाका नखोलेसम्म पर्यटन विकासको सम्भवना छैन। ८ किलोमिटर संरक्षण क्षेत्रमा पर्ने भएकाले त्यस क्षेत्रमा अण्डरग्राउड सडक निर्माण गरेर भए पनि अघि बढ्नुको विकल्प छैन। यसले पर्यटन विकासमा ठूलो सघाउ पुग्ने छ।

पर्यटक बसाई लम्ब्याउन नयाँ गन्तव्य विकास आवश्यक

- राजीव पहारी, गण्डकी प्रदेश सांसद

गण्डकी प्रदेशको समृद्धिका प्रमुख आधार पर्यटन, ऊर्जा र कृषि हो। यसै अनुसार सरकारले नीति बनाएर अघि बढ्नुपर्छ। अहिलेका युवा पिढीले विकास निर्माणको परिणाम छिटो खोज्छ। त्यसैअनुसार काम गर्न चुनौती छ।

पोखरा पर्यटन राजधानीको रूपमा प्रख्यात छ। पदयात्रा पर्यटनकै कारण पोखराको पर्यटन उद्योग विकास भएको हो। पछिल्लो समयमा पदयात्रा क्षेत्रमा वैकल्पिक पदयात्रा मार्ग नबनाई पुराना पदयात्रा मार्ग हुँदै सडक विस्तार भएकाले पर्यटकको बसाई न्यूनतम ४ दिनबाट घटेर १ दिनमा झरेको छ। पर्यटकले खर्च गर्ने दर पनि पहिलेको भन्दा निकै कम छ। यसैले पर्यटकको बसाई लम्ब्याउन र खर्च गर्ने ‘क्वालिटी पर्यटक’ भित्र्याउन नयाँ पर्यटकीय गन्तव्य विकास गर्नुका साथै पर्यटकीय पूर्वाधारको विकास गर्न सरकार र निजी क्षेत्र लाग्नुपर्छ।

पोखरामै पर्यटकको बसाई लम्ब्याउन रत्नमन्दिर र हिमागृहलाई म्युजियममा विकास गरी खुला गर्नुपर्छ। यहाँका ९ तालको संरक्षण महत्त्वपूर्ण आधार हुन सक्छ। समृद्धिका आधार प्रष्ट भएकाले अब सरकार एक्सनमा गएर कार्यान्वयन गर्नुपर्छ। आन्दोलनबाट प्राप्त उपलब्धि जोगाएर समृद्धिको यात्रामा अघि बढ्नु सरकारको प्रमुख दायित्त्व हो। प्रदेश सरकारले एक वर्ष नीतिनियम र कानुन बनाउन खर्चनु परेकोले सरकारको मूल्यांकनको काउन्ट डाउन अब सुरु हुन्छ।

गणतन्त्र प्राप्तिको आन्दोलनमा लामो समय खर्चनुपरेकाले आन्दोलनमा हामी एक्सपर्ट भयौं। अब ती उपलब्धि जोगाएर अघि बढ्न सरकारसामु चुनौती छ। सत्ता मात्र होइन प्रणाली नै परिवर्तन भएकाले नागरिकले अनुभूति हुने गरी सरकार अघि बढ्नुपर्छ।

शान्तिसहितको फास्टट्र्याकको विकास

कृष्ण केसी, अध्यक्ष, नेपाली कांग्रेस कास्की

पर्यटन विकास र समृद्धिको पहिलो आधार शान्ति र सुशासन हो। मुलुकको सिंगो हितका लागि सरकारले शान्ति कायम गर्दै विकास निर्माणमा अघि बढ्नुपर्छ। हामीले संविधनमै बहुलवादमा आधारित समाजउन्मुख राज्य व्यवस्था भनिसकेपछि त्यहीभित्र केन्द्रित रहेर सरकार अघि बढ्नुपर्छ।

हामीले चाहेको शान्तिसहितको फास्टट्र्याक दिगो विकास हो। नेपालको समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोत हो। गण्डकी प्रदेशका यी तीनै विषय समृद्धिका आधार हुन्। पर्यटनबाटै समृद्धि हुन्छ। प्रदेश सररकारले २०२२ मा २० लाख भित्र्याउने योजना ल्याए पनि त्यसका लागि आवश्यक तयारी अहिलेबाटै गर्नुपर्छ। २० लाख पर्यटक भित्र्याउने योजना के छ त प्रदेश सरकारको ? यसका लागि के पूर्वाधार तयार गर्दै छौं ? नयाँ पर्यटकीय गन्तव्य कुन कुन हुन्। यस विषयमा सरकार स्पष्ट दृष्टिकोणसहित कार्यान्वयनमा अघि बढ्नुपर्छ।

विदेशी पर्यटकले प्रकृतिसँग सम्बन्धित नयाँ गन्तव्य खोजिरहेका हुन्छन्। धार्मिक पर्यटक पनि उत्तिकै संख्यामा ल्याउन सकिन्छ। यस प्रदेशका मुक्तिनाथ, गोरखा दरबार, दूधपोखरीलगायतका क्षेत्रको प्रवर्द्धन गरेर धार्मिक पर्यटकको विकास गरी आन्तरिक र भारतीय पर्यटक आकर्षण गर्नुपर्छ।

प्रदेशलाई स्वास्थ्य र शैक्षिक हवमा विकास गरौं

- अशोक पालिखे, पूर्वअध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

गण्डकी प्रदेश सम्भावना नै सम्भावना भएको प्रदेश हो। यहाँको वातावरण र मौसम सबै क्षेत्रबाट आउने पर्यटकका लागि सुहाउँदो छ। यहाँको वातावरण शैक्षिक र स्वास्थ्य हवको रूपमा विकास गर्न सकिने खालको छ। भारतको हरियाणको गुणगाउँमा रहेको एउटा मेदान्त अस्पतालका कारण त्यहाँका होटेल, रेस्टुराँ, अपाटमेन्ट चलेका छन्। यहाँ पनि त्यस्तै सुविधासम्पन्न अस्पताल खोली नागरिकलाई उपचार गर्न भारत जाने अवस्थाबाट रोक्न र विदेशीलाई उपचारका लागि यहीं आकर्षण गर्न सकिन्छ।

त्यसतर्फ सरकारले उद्योग व्यवसायीमैत्री वातावरण बनाउनुपर्‍यो। शैक्षिक हवको रूपमा पनि पोखरालाई विकास गर्न सकिन्छ। आज हजारौं युवा अस्टेलिया पुगेका छन्। अस्टेलियाले नेपाललाई दिने अनुदान भन्दा कयौं गुणा रकम यहाँबाट जाने युवाले खर्चिएका छन्। युरोप, अमेरिका, चीन र भारत अध्ययनका लागि जाने विद्यार्थीको पनि उस्तै अवस्था छ।

हामी कहाँको प्राकृतिक सुन्दरतासँग रमाउँदै अध्ययन गर्न वातावरण बनाउन सरकारले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हव बनाउन व्यवसायीलाई प्रोत्साहन मिल्ने गरि नीति बनाउनुपर्‍यो। मनिपाल कलेजले धेरै दुःख पाएको छ। आएका यस्ता कलेजलाई सहयोग गरेर अन्य यस्ता कलेज, अस्पतालमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ।

संघ सरकारले गण्डकी प्रदेशलाई सबैभन्दा कम बजेट दिएको छ। यो हेर्दा हामी त्यसै समृद्ध छांै कि भन्ने हुन्छ। प्रदेशको समृद्धिका लागि प्राकृतिक सम्पदाको संरक्षण गर्दै, धार्मिक, हेल्थ र शिक्षा टुरिजमको विकासमा सरकारले सोच्ने हो कि।

देशमा दक्ष जनशक्ति अभाव छ। विकास निर्माणका काममा ढिलासुस्ती छ। प्रदेश सरकारको गत आर्थिक वर्षमा जम्मा ५५ प्रतिशत मात्र बजेट खर्च भयो। ४५ प्रतिशत बजेट खर्च हुन सकेन। किसानले सिँचाइ सुविधा नहुँदा जमिन बाँझै छन्। यम्पाफाट र धादिङबाट तरकारी आइरहेको छ। यहाँ उत्पादन हुन सकेको छैन। जेठभित्र योजना सक्ने गरी विकास निर्माणको काम गर्नुपर्छ।

विद्युत् उत्पानबाट प्रदेश समृद्ध बन्न सक्छ

- धनराज आचार्य, व्यवसायी

गण्डकी प्रदेशले पर्यटनको साथै विद्युत् उत्पादनबाट समृद्धि हासिल गर्न सक्छ। कालीगण्डकी, मस्र्याङ्दी जस्ता ठूला र मोदीजस्ता मझौला जलविद्युत् आयोजना यहीं छन्। यसैले गण्डकी प्रदेश ऊर्जाका लागि राम्रो छ। तर, विद्युत् उत्पादनको क्षेत्रमा काम गर्दा समस्यै समस्या छन्। स्थानीयले विद्युत्मा लागनी गर्ने मान्छे अन्तरिक्षबाट आउनेले बनाउन लागेको जस्तो व्यवहार गर्छन्। सरकारले अर्कै ग्रहबाट आएको हो कि जस्तो व्यवहार गर्छ। कर्मचारीतन्त्र पुरातन मात्र छैन असहयोगी पनि छ। पैसाबिना कामै हुँदैन। यस्ता झन्झन् सरकाले हटाएर लगानी गर्ने व्यवसायीलाई आकर्षण गर्नुपर्छ। संरक्षण र ऊर्जा क्षेत्रमा संरक्षण क्षेत्र आयोजना सहयोगी छैनन्।

कास्कीकै एउटा खोलामा ४४ मेगावाटको प्रोजेक्ट गरिरहँदा स्थानीय आमा समूहलगायतका विभिन्न समूहले ३ अर्ब रुपैयाँ माग गरे। ८ सय करोडको प्रोजेक्टमा ३ अर्बको मागको विषय समाधानमा ठूलै कसरत गर्नु पर्‍यो। ७ सय जना स्थानीयलाई पार्टनर पनि बनाएर अघि बढियो।

उत्पादन भएको बिजुली पनि नेसनले ग्रीडमा जोड्न सकिएको छैन। आज पनि पूरा भएका ५० प्रतिशत योजना नेसनल ग्रिडमा जोडिएका छैनन्। यसको जिम्मेवारी कसले लिने ?       प्रदेशका खोला, नदीमा जलासय बनाएर फेवाताल जस्ता ठूला ताल बनाउन सक्छौं। मादीमा ९० मेगावाटको जलासय बनाउन सक्छौं। यसबाट पर्यटन विकास पनि हुने विद्युत् उत्पादन पनि। सेतीको १ सय ४० मेगावाटको प्रोजेक्ट अब हामीले बनाउने हो कि ? यसतर्फ पनि अघि बढ्नुपर्छ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको कन्फरेन्स हल आवश्यक छ। अहिले तत्कालै हजार अट्ने कन्फरेन्स हल बनाउनुपर्छ। क्वालिटी पर्यटक भित्र्याउन पाँचतारे स्तरका ठूला होटेलका पूर्वाधार बनाउनुपर्छ। यसका लागि लगानीमैत्री वातावरण बनाएर लगानीकर्ता भित्र्याउनुपर्छ। मिडिया पनि विकास र समृद्धिको यात्रामा सहयोगी हुनुपर्छ।

नयाँ पर्यटकीय गन्तव्य विकास गरौं

- रेणु थापा, उपाध्यक्ष पर्यटन महिला समाज पोखरा

गण्डकी प्रदेश प्राकृतिक सम्पदा र पदयात्राका कारण विश्व पर्यटन बजारमा परिचित छ। यसको विकासका लागि नयाँ नयाँ पर्यटकीय गन्तव्य विकास र पूर्वाधार बनाउनुपर्छ। पूर्वाधार बनाउने नाममा पर्यटकको बसाई नै घट्ने गरी जहींतहीं अध्ययन बिना केवलकारलगायतका क्षेत्रमा लगानी गर्नु हुँदैन। आवश्यकता हेरी यस्ता क्षेत्रमा लगानी गर्न सके लगानी पनि सुरक्षित हुने र पर्यटकको बसाई पनि लम्बिने गरी लगानीका क्षेत्र छनोट गर्नुपर्छ।

प्रदेशमा एड्भान्चर पर्यटकको थप आकर्षण गर्न स्काइवाक जस्ता नयाँनयाँ आकर्षण थप्नुपर्छ। यहाँ रहेका पाँचतारे फूलबारी होटेल बन्द भएका छन्। नयाँनयाँ स्टार होटेल थपिनुपर्नेमा पुराना पनि बन्द हुनुले लगानी कर्तामाझ नकारात्मक सन्देश गएको छ। यस्तो समस्या समाधान गरिनुपर्छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छिटै नै सञ्चालनको चरणमा छ। यसअघि नै त्यसैअनुसार पोखरामा पूर्वाधार निर्माण गरिनुपर्छ।

पर्यटकलाई आकर्षण गर्न रेडलाइट एरिया बनाउने भन्ने विषयले चर्चा पाएको छ। यस्तो काम उचित होइन। यसको विकल्पमा धेरै पैसा खर्च गर्न सक्ने पर्यटकलाई आकर्षण गर्न क्यासिनो खोल्न सकिन्छ। यसले क्वालिटी पर्यटक मात्र भित्त्िाने छैनन् रोजगारीका अवसर पनि सिर्जना हुनेछ।

प्राकृतिक स्रोतको संरक्षण गरौं

जमुना पराजुली, अध्यक्ष, महिला पर्यटन व्यवसायिक मञ्च पोखरा

पोखराका प्राकृतिक सम्पदा संकटमा पर्दै गइरहेका छन्। फेवाताल पुरिँदै गएको मात्र छैन प्रदूषणको चपेटामासमेत पर्दै गएको छ। पर्यटकको मात्र होइन मानव जीवनका लागि नभइ नहुने यस्ता पानीको स्रोत ताल तलैया, नदीलगायत प्राकृतिक स्रोतको संरक्षणमा सरकारले ध्यान दिनुपर्छ। प्राकृतिक स्रोत र साधानको संरक्षण गर्दै नयाँ नयाँ पर्यटकीय गन्तव्यको विकासमा लाग्नु आजको आवश्यकता हो। पर्यटन नै प्रदेशका समृद्धिको आधार भएकाले यसको विकासका लागि सबैको सहकार्य आवश्यक छ।

कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि महिला पुरुषको समान उपस्थिति रहनुपर्छ। पर्यटन क्षेत्रको विकासमा सरकारले गर्ने नियुक्तिमा महिलाको प्रतिनिधित्व पनि समानुपातिक हुनुपर्छ। आन्तरिक पर्यटन भ्रमण वर्षलगायतका पर्यटन समितिमा प्रदेश सरकारले समावेसी गर्न सकेको छैन। अबदेखि यस विषयमा सरकारले सच्याएर अघि बढ्नुपर्छ। यस्ता छलफल, अन्तरक्रिया पछि आउने निचोडलाई व्यवहारमा लागू गर्नुपर्छ। छलफल छलफलमै सीमित नहोस्। १०. बाँझा जमिन गुल्जार बनाउँ

गणेशबहादुर भट्टराई, पूर्व अध्यक्ष, पोखरा पर्यटन परिषदगण्डकी प्रदेश तरकारी, खाद्यान्न, फलफूल हरेक क्षेत्रमा परनिर्भर बढ्दै गएको छ। पर्यटनसँग जोडेर किसानलाई कृषि उत्पादन बढाउने गरी कार्यक्रम ल्याउनुपर्‍यो। हामीले पर्यटक भित्र्याउने तर उनीहरूलाई पस्कने तरकारी, खानादेखि थाल, चम्चासमेत विदेशबाट आयात हुँदा हामी विदेशका सामान बेच्ने र नाफा उतै पठाउने गरिरहेका छौैं। यस्तो किसिमको पर्यटन होइन अबको पर्यटन विदेशीलाई पस्कने हरेक उत्पादन गण्डकी प्रदेशमै, नेपालमै गर्नुपर्छ तब मात्र पर्यटनबाट समृद्धि सम्भव छ। गण्डकी प्रदेश सरकारले २०२२ मा २० लाख पर्यटक भित्र्याउने महत्त्वकांक्षी योजना घोषण गरेको छ। यो सकारात्मक छ। यस लक्ष्यलाई सफल बनाउन अहिलेदेखि नै स्पष्ट दृष्टिकोणसहित सरकार अघि बढ्नुपर्छ। राज्यको ढुकुटीको सही सदुपयोग हुनुपर्छ। पोखराको दृष्टिमा पर्यटनमा खर्च गर्दा उत्तम हुन्छ। व्यापार घाटा कम गर्ने गरी राष्ट्रिय र प्रदेश सरकारले नीति बनाउनुपर्छ, लगानीकर्तालाई आकर्षण गर्नुपर्छ। बैंक ब्याज बढ्दै जाँदा लगानी गर्ने वातावरण नै छैन। राष्ट्र बैंकले बैकलाई लगाम लगाउन सक्नुपयो। फेक रेस्क्युको कारण अन्तर्राष्ट्रिय बजारमा नकरात्मक सन्देश गएको छ। यसैको कारण युरोप, अमेरिकन पर्यटकको आगमन कम भएको छ। यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ।

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्नुपर्छ

- गणेशबहादुर थापा, सचिव, रेवान पोखरा

देशका समृद्धिका आधार पर्यटन, ऊर्जालगायतका क्षेत्र हुन्। सरकारको नीति व्यवसायीमैत्री नहुँदा यस क्षेत्रमा लगानी आउन सकेको छैन। उद्योगधन्दा फस्टाउन व्यवसायीमैत्री नीति सरकारले अवलम्बन गर्नु पर्‍यो। हरेक क्षेत्रमा व्यवसायीले अप्ठ्यारो सामना गर्नु परेको छ।

बैंकको चर्को ब्याजका कारण पनि व्यवसायी मर्कामा छन्। बैंक, कर्मचारी संयन्त्र, सरकारी नीतिका कारण लगानीकर्ता झस्कनुपर्ने अवस्था छ। लगानीकर्तालाई आकर्षण गर्न सरकारले व्यवसायीमैत्री नीति बनाउनुपर्ने आवश्यकता छ।

निजी क्षेत्रले राज्यलाई कर तिरिरहेको छ। त्यसअनुरूप पर्यटनको विकासका लागि पूर्वाधार विकास राज्यले गर्नुपर्छ। राज्यले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा जोड दिनु पर्‍यो। हाम्रो कर्मचारी संयन्त्र परम्परागत ढंगको छ। नयाँ प्रविधिमा गएर छिटोछरितो सेवा दिनुपर्‍यो। गुणस्तरीय पर्यटन विकासका लागि लागनीमैत्री नीति आवश्यक छ।

विकल तुलाचन

- अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ

पोखराको लेकसाइडमा मात्र पर्यटन क्षेत्रमा ६÷७ अर्बको लगानी छ। पर्यटक आगमनको तुलनामा लागनी बढिरहेकाले पर्यटन प्रवर्द्धनका लागि व्यवसायी आफैं पर्यटक बोलाउन पोखरा अभियान लिएर भारतका विभिन्न सहरमा गइरहेका छौं। अन्य देशमा पनि निजी क्षेत्रले पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डको समेत सहयोगमा अघि बढेका छौं। पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनात्मक कार्यक्रम जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। राज्यले समृद्धिका प्रमुख आधार पर्यटन भनिसकेपछि त्यहीअनुसार प्रवर्द्धनात्मक कार्यक्रममा लाग्नुपर्छ।

चर्को बैंक ब्याजका कारण पनि पोखराका होटेलको लगानी जोखिमपूर्ण छ। क्वालिटी पर्यटक भित्र्याउने पाँचतारे होटलमा लगानी गर्ने व्यवसायीलाई आकर्षण गर्नुपर्छ। अर्गानिक कृषि उत्पादन गर्न किसानलाई प्रोत्साहित गरी कृषिमा परनिर्भरता घटाउँदै लैजानुपर्छ।

नयाँ पर्यटकीय पदयात्रा मार्ग विकास गरौैं

- हरि भुजेल, अध्यक्ष, टान पोखरा

गण्डकी प्रदेश समृद्धिको आधारको पहिचान भइसकेको छ। यसलाई अब एक्सन प्लान बनाएर पर्यटन, ऊर्जा र कृषि क्षेत्रको विकासमा लाग्नुपर्छ। अहिलेसम्म हामीले यस्ता सम्भावना भएका कुनै पनि क्षेत्रबाट आम्दानी लिन सकिरहेका छैनौ। यसको विकासका लागि निजी क्षेत्रलाई आकर्षण गर्नुपर्‍यो। कुन जिल्लामा के के सम्भावना छ अध्ययन गरेर निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्छ। अहिले पनि कम्पनी रजिस्टारका लागि काठमाडौं धाउनुपर्छ। यसको अन्त्य हुनुपर्छ। मूल्य नियन्त्रण नहुँदा पोखरेली महँगीको चपेटामा परेका छन्। तरकारी, ग्रोसेरीलगायत हरेक उत्पादनमा कालोबजारी छ। काठमाडौंको कालिमाटीमा पाइने तरकारी र यहाँको मण्डीमा पाइने तरकारीको मूल्यमा धेरै फरक छ।

खरिद महँगो परेपछि पाहुनालाई पस्कने परिकार पनि महँगो पर्न गएको छ। यातायात खर्च पोखरा आउँदा काठमाडौं भन्दा किन बढी हुन्छ भन्नेतर्फ पनि सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्छ। पोखराको लेकसाइडमा पर्यटकले खाना खाइरहेको बेलामा साढे दश बजेदेखि नै प्रहरीले सटर ढकढक्याउँदै आउँछन्। यसले पनि पर्यटकलाई असुविधा पुगेको छ। पदयात्राबाट थाकेर ढिलो आउने पर्यटक पनि अप्ठेरोमा परेका छन्। यसले नकरात्मक म्यासेज गएको छ। रेस्टुराँलाई मापदण्ड बनाएर २४ सै घन्टा खोल्ने व्यवस्था मिलाउनुपर्छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ। त्यसैअनुसारका भौतिक पूर्वाधार बनाउनुपर्छ। राज्यले राम्रो काम गर्नेलाई प्रोत्साहन र गलन गर्नेलाई दण्डित गर्नुपर्छ न कि सबैलाई सोलोढोलो एकै ढोकामा राख्ने काम।

पछिल्लो समयमा भारतीय पर्यटकले निजी सवारी साधन ल्याउने र मुक्तिनाथसम्म जाने गर्दा पर्यटकका लागि करोडौं खर्च गरेर व्यवसाय गरेका यहाँका ट्राभल्स व्यवसायी मर्कामा परेका छन्। पोखरासम्म आएपछि यहींको सवारी साधन प्रयोग गर्ने नियम बनाउनुपर्छ। पोखरामा पर्यटकको आगमन अन्नपूर्ण क्षेत्रका पदयात्राबाट सुरु भएको हो। तर, अहिले पदयात्रा मार्गमा वैकल्पिक पदयात्रा मार्ग नबनाई सडक सञ्जाल विकास हुँदा पर्यटकको बसाइ घटेको छ। प्रदेशकोे पर्यटनको विकास पदयात्रा पर्यटनबाट सुरु भएको हो। यसतर्फ सचेत हुँदै नयाँ पर्यटकीय पदयात्रा मार्गको विकास गरौं।

प्रदेशलाई शैक्षिक हवमा विकास गरौं

- विश्वेश्वर आचार्य

पोखरालाई शैक्षिक हवको रूपमा विकास गर्न सकिन्छ। यसका लागि लगानीमैत्री वातावरण राज्यले बनाउनु पर्‍यो। गुणस्तरी शिक्षाका लागि भन्दै वर्षेनी हजारौं युवा विदेश पलाउन भएका छन्। यस्ता युवालाई यही अध्ययन गर्न र त्यसैअनुसार रोजगारका अवसर सिर्जना गर्नुपर्छ।

सरकारले पर्यटन सँगसँगै शिक्षा, स्वास्थ्यमा पनि लगानी आकर्षण गर्नुपर्छ। भारतको मेदान्त अस्पतालमा वर्षमा ६० हजार विदेशी उपचारका लागि जान्छन्।

हामीले स्वास्थ्य क्षेत्रको विकास गर्न सके पनि प्राकृतिक सुन्दरता हेर्न मात्र होइन उपचार र अध्ययन गर्न पनि पर्यटक आउने छन्। ०००

बार र डिस्कोमा जान उमेर हद तोकौं

- मीना भट्टराई, अध्यक्ष, सामुदायिक सेवा केन्द्र बैदाम

पर्यटक शान्तिपूर्ण रूपमा घुम्न पोखरा आउँछन्। राति खुल्ने डिस्को, क्लब चलाउँदा शान्ति सुव्यवस्था खलबलिने गरी चलाउनु हँुदैन। पर्यटन क्षेत्रका विकासका लागि सुरक्षित रूपमा हिँड्न मिल्ने अवस्थाको सिर्जना गर्नु पहिलो काम हो। डिस्को, क्लबमा विदेशी त्यतै जाँदैनन्। नेपाली युवायुवतीकै बाहुल्य त्यस्ता क्लब र डिस्कोमा जाने र राति होहल्ला गर्ने, बियरको बोतलले हिँडेको मान्छेलाई लाग्ने हो कि भन्ने अवस्थाको अन्त्य हुनुपर्छ। बार, डिस्कोमा जान उमेरको हदबन्दी तोकिनुपर्छ। धार्मिक पर्यटनको विकास गर्न पूर्वाधारमा लगानी बढाउनुपर्छ।

पर्यटन नै समृद्धिका आधार

- मीरा पौडेल, पर्यटन व्यवसायी

पर्यटन नै प्रदेशको समृद्धिको आधार हो। अन्नपूर्ण क्षेत्रको पदयात्रामा जान पर्यटक पोखरा आउँछन्। पदयात्रा गर्नुअघि र पछि पर्यटक पोखरामा बस्ने हुन्। पछिल्लो समयमा ट्रेकिङ रुटमा सडक बन्यो। वैकल्पिक पदयात्रा नहँुदा धुलो, धुवाको कारण पर्यटक बिच्किँदै गएका छन्। अन्नपूर्ण पदयात्रामा पर्यटक नआउने अवस्था छ। वैकल्पिक पर्यटक विकास गर्नु पर्‍यो। पर्यटन प्रवर्द्धन गर्न पोखरा आएका पर्यटकलाई पोखराको उत्पादन कोसेलीस्वरुप किनेर लैजाने वातावरण बनाउनुपर्छ। त्यस्तो कोसेली के हुन सक्छ भन्नेतर्फ ध्यान दिनुपर्छ।

सुशासन र सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो

- सुन्दर गुरुङ, नागरिक समाज प्रतिनिधि

२०२२ मा २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना महत्त्वाकांक्षी छ। सरकारको लक्ष्य महत्त्वाकांक्षी पनि हुनुपर्छ। गण्डकी प्रदेशको पर्यटन विकासको आधार प्रकृति र संस्कृति हुन्। गण्डकी प्रदेश सम्भावना नै सम्भावनाको प्रदेश भएकाले समृद्धि नहुने केही कारण छैन।

प्रदेश सरकारले प्रदेश सरकार छ भन्ने अनुभूति हुनेगरी काम गर्नु पर्‍यो। प्रदेश सरकार हुनुअघि र अहिले विकास निर्माणमा भएको परिवर्तनलाई अनुभूति गराउने गरी काम गर्न सक्नुपर्छ। संघीय सरकारले अधिकार आफूमै राख्ने होइन। प्रदेश सरकारलाई जवाफदेही बनाउन पनि अधिकार दिनुपर्छ। सरकार आधारभूत शिक्षा प्राणालीमा जानु पर्‍यो। सुशासन र सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो।

प्राकृतिक स्रोत र साधन संरक्षणमा चुनौती

- धनबहादुर नेपाली, प्रवक्ता, पोखरा महानगरपालिका

प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दैै पर्यटन विकासमा लाग्नुपर्छ। यहाँका ताल, नदी र खोलाको संरक्षण र अतिक्रमणबाट जोगाउनु पोखरा महानगरपालिकाका चुनौती छन्। खोला, नदी किनारमा अव्यस्थितरूपमा बसेका बस्ती व्यवस्थित गर्नु पनि अर्को चुनौती छ। यसको समाधानका लागि महानगरपालिका लागिरहेको छ। नदी, खोला किनारको बस्ती प्राकृतिक दुर्घटनाको हिसाबले पनि जोखिममा छ। त्यसलाई व्यवस्थित गरी पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने योजनामा महानगर छ।

किसानका उत्पादनलाई पर्यटनसँग जोडेर बाँझो जमिन गुल्जार बनाउँ

- पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई

पोखरा पर्यटन परिषद गण्डकी प्रदेश तरकारी, खाद्यान्न, फलफूल हरेक क्षेत्रमा परनिर्भरता बढ्दै गएको छ। पर्यटनसँग जोडेर किसानलाई कृषि उत्पादन बढाउने गरी कार्यक्रम ल्याउनु पर्‍यो। हामीले पर्यटक भित्रयाउने तर उनीहरूलाई पस्कने तरकारी, खानादेखि थाल, चम्चा समेत विदेशबाट आयात हुँदा हामी विदेशका सामान बेच्ने र नाफा उतै पठाउने गरिरहेका छौं।

यस्तो किसिमको पर्यटन होइन अबको पर्यटन विदेशीलाई पस्कने हरेक उत्पादन गण्डकी प्रदेशमै, नेपालमै गर्नुपर्छ तब मात्र पर्यटनबाट समृद्धि सम्भव छ। गण्डकी प्रदेश सरकारले २०२२ मा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ। यो सकारात्मक छ। यस लक्ष्यलाई सफल बनाउन अहिलेदेखि नै स्पष्ट भिजनका साथ सरकार अघि बढ्नु पर्छ।

राज्यको ढुकुटी ठीक ठाउँमा उपलब्धीमूलक रूपमा खर्च गरी पर्यटन विकास गर्नुपर्छ। व्यापार घाटा कम गर्ने गरी राष्ट्रिय र प्रदेश सरकारले नीति बनाउनु पर्छ, लगानी कर्तालाई आकर्षण गर्नुपर्छ। बैंक ब्याज बढ्दै जाँदा लागनी गर्ने वातावरण नै छैन। राष्ट्र बैंकले बैकलाई लगाम लगाउन सक्नुपर्‍यो। फेक रेस्क्युको कारण अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश गएको छ। यसैको कारण युरोप, अमेरिकन पर्यटकको आगमन कम भएको छ यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.