नगरपालिकाको नमुना काम : गाउँमै आयुर्वेदिक औषधि उत्पादन, अब उद्योग नै खोल्ने
कालिकोट : खाँडाचक्र नगरपालिकाले स्थानीय जडीबुटी संकलन गरी आयुर्वेदिक औषधि उत्पादन सुरु गरेको छ ।
चालु आर्थिक वर्षबाट नगरपालिकाले स्थानीय स्तरमा पाइने विभिन्न प्रकारका जडीबुटी संकलन गरी औषधि उत्पादन गर्न सुरु गरेको हो । खाँडाचक्र नगरपालिका आयुर्वेदिक शाखा प्रमुख लक्ष्मीप्रसाद पाण्डेका अनुसार स्थानीय गुर्जोबाट गुडुची चुर्ण, काफलबाट काफल चुर्ण, बकाइनोबाट अर्शनाषक चुर्ण, जामुनबाट मधुमेहनाषक चुर्ण, असुरोबाट असुरो चुर्ण, सोमलटाबाट सोमल्टा पाउडर, असोकगन्धाबाट अशोगन्धा चुर्ण, कुरीलोबाट सतारी चुर्ण, हर्रो, बर्रो र अमलाबाट त्रिफला चुर्ण लगायत १३ प्रकारका जडीबुटीबाट १३ प्रकारका औषधि उत्पादन गर्न सुरु गरिएको छ ।
जुन औषधि कमलपीत्त, ज्वरो, मधुमेह, पिनाश, स्वासप्रस्वास, पाइल्स, दम, खोकी, कब्जियत, पेट सम्बन्धी समस्या, बाथ रोग लगायत समस्यामा उपयुक्त मानिन्छन् ।
जेष्ठ नागरिकको घरमै उपचार
नगरपालिकाद्वारा उत्पादित औषधि महिनाको एक पटक घरमै गएर जेष्ठ नागरिकलाई उपचार सेवा दिइरहेको छ । नगरपालिकाका–१ देखि ११ सम्मका वडाहरुका ६० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई घरमै पुगेर चेक जाँचका साथै स्थानीय जडीबुटीबाट उत्पादित औषधि वितरण गरिएको छ ।
जिल्लामै उत्पादित औषधि प्रत्येक महिनाको एक पटक गाउँमै गएर जेष्ठ नागरिकहरुको उपचार गर्दैआएको नगरपालिका आयुर्वेद शाखा प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए ।
पाण्डेका अनुसार नगरपालिकाले स्थानीय स्तरमा पाइने जडीबुटी संकलन गरी गाउँमै उपचार गराउने तरिका निकालेको हो । यस्तो कार्यक्रमलाई नगरपालिकाले प्रभावकारी भएपछि आफ्नो नीति तथा कार्याक्रममा नै राखेका छ । नगरपालिकाले अर्को वर्ष भने गाउँमै आयुर्वेदिक औषधालय स्थापना गर्ने नीति लिएको छ ।
स्टिम बाथ सेवा पनि
खाँडाचक्र नगरपालिकाले जिल्लाका ९ वटै स्थानीय तहलाई समेटेर मान्ममा वाथरोगीका लागि स्टिम वाथ सेवा सञ्चालन गरेको छ । वाथ रोगीहरुको लागि हप्ताको तीन दिन आइतवार, मंगलवार र बिहीवार सेवा दिँदैआएको छ । दिनमा १० देखि १५ वाथका रोगीले दैनिक सेवा लिने गरेको बताइन्छ ।