कांग्रेसभित्र कसरी खेल्थ्यो दरबार ?
म प्रधानमन्त्री भएको बखतमा नेपाली कांग्रेसको एउटा ठूलो अधिवेशन भयो–सातौं महाधिवेशन। त्यसमा विश्वबन्धुले सरकारलाई पूरा च्यालेन्ज दिएजस्तो लाग्यो। अलिकति अनुशासनहीनता पार्टीमा पनि भएको थियो। पार्टीको अध्यक्ष र सरकारको प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुँदैन भन्ने कुरा चल्यो। त्यसभन्दा अरु कुरामा पनि, औद्योगिक नीतिमा पनि उसले आक्रमण गर्यो।
औद्योगिक नीतिको सम्बन्धमा उद्योगहरू पहाडतिर पनि हुनुहुँदैन, मधेसतिर पनि हुनुहुँदैन, उसको सम्पूर्ण भनाई भने उसको जमिन भएको ठाउँ भित्रीमधेसमा हुनुपर्छ भनेर उनले बोल्यो। पूरा विघटनकारी भूमिका उसको रह्यो। र, एकपटक त बडो संकटमा पनि उसले सृजना गर्यो। आधिकारिक लाइन नै परास्त हुन्छजस्तो लाग्यो। त्यसमा अनि मैले बोलेको छु।
मैले बोलेपछि विश्वबन्धुलाई के लागेछ भने अब त सबै प्रभावित होलान्। अनि मनेर आएर माफी माग्छ र भन्छ, ‘त्यो कुरा मैले फिर्ता लिएँ उहाँले अनुरोध गरेको हुनाले।’ बडो उदार भएर मलाई बचाउनको निम्ति जस्तो ‘हामीले उहाँको हात बलियो गर्नुपरेको छ’ भनेर प्रस्ताव फिर्ता लिएको छ। एकदम हंगामा खडा गरेको थियो त्यसबखत। फेरि १०/१५ जना मान्छे त भइहाल्छन् हँगामा गर्नलाई।
यद्यपि संसदमा केही छुन सक्तैनथ्यो। र, पार्टीमा त्यो गरेर विफल भयो। सरोजहरू पनि त्यस्तै त्यस्तै कुरा गर्ने, धेरै उग्र किसिमका कुरा गर्ने। त्यसरी त्यो अधिवेशन सम्पन्न भयो। एउटा विशाल प्रदर्शन भयो, मिटिङ भयो। ठूलो आमसभा भयो पार्टीको तत्वावधानमा। जुलुस निस्क्यो।
विदेशका प्रतिनिधिहरू आएका थिए। बर्माबाट, भारतबाट आएका थिए। तिनीहरू बडो चकित भए त्यत्रो ठूलो जुलुस देखेर। त्यसरुपमा त्यो बडो सफल भयो भन्नुपर्यो। तर, यसले बिघ्न गर्ने कोशिश गरेको थियो। अनि अरु विरोधी तत्वहरू छँदै थिए–मैले बिगारेको भन्नेहरू। कम्युनिस्टहरू त जहिलेपनि जुलुस लिएर आउने सिंहदरबार अगाडी कहिले डाल्डा घिउ त कहिले के, कहिले के चलेको थियो।
डाल्डाको बारेमा त कुरा पनि चलेको थियो। कुरा नचलेको होइन। त्यो खुला छलफल थियो, कुनै गुपचुप कुरा थिएन। संसदमा त खुला छलफल चलेको थियो र छलफल के चलेको थियो भने डाल्डा हामीले पैठारी गर्न दिनुपर्छ र हाम्रो कहाँबाट उत्पादित घिउ बाहिर बिक्री गर्नुपर्छ। भारतसँगको व्यापार असुन्तलनलाई केबाट पुरा गर्नेभन्दा त्यो एउटा सुझाव आएको थियो। त्यो कताकता मलाई चित्त बुझ्यो। कताकता डाल्डाको लबी पनि थियो क्यारे, त्यसमा त्यसको पनि प्रभाव हुँदो हो। त्यसमा कम्युनिस्टहरूले ‘हामीलाई मार्न आँटे, डाल्डा खुवाइकन हामीलाई मार्न लागे, राम्रो घिउ खानबाट नेपाली बञ्चित हुनथाले’ इत्यादि–इत्यादि नारा लगाएर विरोध गर्ने। तैपनि त्यसबाट कुनै खतरा थिएन। त्यस्तो विरोध भएपनि परिस्थिति मेरो नियन्त्रणमा थियो। विदेशमा प्रतिष्ठा राम्रो थियो र पार्टीभित्र जतिधेरै बिघ्न ल्याउने कोशिश भएपनि त्यसबाट हलचल हुँदैनथ्यो। किनभने कसैले केही भने पनि च्वास्स आएर अर्कोले भनिहाल्थ्यो यसले यसो भन्यो भनेर।
अर्को कुरा, मेरो संसदलाई पनि हलचल गर्न नसक्ने कुरा के भइदियो भने विरोधी पक्षको नेता भरत शमशेरले आएर मलाई के प्रतिक्षा गर्यो भने यस संसदलाई तपाईंलाई बिथोल्ने कोशिश भयो भने ‘मेरो पार्टीका १८ जना सदस्यले तपाईंलाई समर्थन गर्नेछन्’ भनेका थिए। यस प्रकारले १८ र ४ गरेर २२ जनाको थप बल मलाई प्राप्त थियो। हाम्रो जति संख्यामा बहुमत हुने हो, त्यसमा म सँग पार्टीको २५ जना बढी थिए। कोही गए पनि त्यति फरक पर्ने सम्भावना थिएन।
मलाई के लाग्दछ भने यी सब विघ्नबाधाहरू खडा गर्नमा दरबारको हात छ। स्वर्गीय राजा महेन्द्रको नभए पनि दरबारभित्रका तत्वहरूको हात छ तुलसी उठाउन भड्काउनमा। राजा के गर्थे भने कुनै प्रतिनिधिमण्डल आयो, भूमिपतिहरू वा कसैको भने भेट गरिदिन्थे, कुरा सन्थे। अनि उनीहरू प्रोत्साहित भएर मकहाँ आउँथे।
एकपटक मलाई याद छ, एउटा प्रतिनिधिमण्डल राजाकहाँ गयो अनि मकहाँ आयो। प्रधानमन्त्री निवासमा मैले बोलाएँ। अगाडिपट्टि एउटा बरण्डा थियो–ठूलो। त्यहीँ मैले मिटिङ राखेको थिएँ। ५० जनाजति तिनीहरू आएका थिए। अनि मैले भने, ‘तपाईंहरू गलत ठाउँमा जानुभएछ, महाराजधिराजकहाँ। यी कानुनहरू बनाउने त संसद हो। आउनुपर्थ्यो यहाँ।’
त्यसैगरी मैले भने, ‘मकहाँ आउनुपर्छ, मलाईं चित्त बुझाउनु पर्थ्यो। कानुन त हामीले बनाउनु पर्ने हो। र, म तपाईंहरूलाई सचेत पनि गर्छु। मैले त केबल तपाईंहरूको जमिनलाई मात्रै खोस्न थालेको छु। तपाईंहरूको टाउको काट्न थालेको छैन। अरु कुनै उग्रवादी आयो भने तपाईंहरूको टाउको काट्छ। यो दुनियाको तपाईंहरूले देख्नुभयो होला, जति पनि क्रान्ति भएका छन्, सुधारहरू भएका छन्, जमिन मात्र खोसिएको छैन, उनीहरूको टाउको पनि गएको छ। र, त्यसो हुनाले, तपाईंहरूको जमिन पनि त्यति कडा तरिकाले खोजेको छैन।’
मैले के कानुन बनाएको थिएँ भने २५ बिगाहा भन्दा बेसी कसैले राख्न नपाउने र, त्यसभन्दा माथिको लागि उत्तरोत्तर कर लाग्ने व्यवस्था गरिदिएको थियो। हदभन्दा बढी राखेपछि त्यो अनुत्पादक हुन्थ्यो। स्वामित्वहरणकारी करले कसैले पनि एक हदभन्दा बेसी जग्गा राख्न सक्तैनथ्यो। मैले उनीहरूलाई भनें,‘यो तपाईंहरूको बचाउ होस भनेर तपाईंहरूको वर्गको विचार मैले राखेको हुँ। यसलाई तपाईंहरू मान्नुहुन्न भने र उग्रतत्व आयो र त्यसले खोस्नथाल्यो भने धेरै नै ट्याक्स तिर्नुपर्ने छ।’
उनीहरूसँग जवाफ केही थिएन। मैले बोलाएको थिएँ ‘आउनुस् मसँग कुरा गर्न’ भनेर। मलाई के लाग्यो भने उनीहरूले चित्त बुझाएर गए। तर राजाले उचालेका थिए तिनीहरूलाई। त्यसबखतका पत्रकार पनि थिए त्यहाँ। तिनीहरूले त्यो समाचार छापेको होलाजस्तो लाग्छ। त्यो कुरा बडो महत्वपूर्ण थियो, किनभने मलाईं दुख दिनेहरूमध्ये त्यो एउटा ग्रुप थियो, त्यो पनि सन्तुष्ट भयो। त्यसो हुनाले, मलाई लाग्दैनथ्यो राजाले कसैसँग मिलेर केही गर्न सक्लान भनेर।
('विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त' बाट लिइएको अंश। गणेशराज शर्माले टेपमा संकलन गरी बीपीले बोलेका कुरा उतारेर २०५५ सालमा आत्मवृतान्तको पहिलो संस्करण प्रकाशन भएको थियो। बीपी स्मृति दिवसका अवसरमा सान्दर्भिक हुने ठानेर हामीले यो अंश साभार गरेका हौँ।)