सुन्दरीजलमा सुनसान बीपी संग्रहालय (फोटो फिचर)
काडमाडौं : सोमबार मध्यदिनसम्म पनि संग्रहालय सुनसान देखिन्थ्यो। वर्षमा दुई दिन, एक दिन बीपीको जन्मजयन्ती र एक दिन स्मृति दिवसमा मानिसहरू सुन्दरीजल आउने, केहीबेर औपचारिक कार्यक्रममा रमाउने र फर्किने उपक्रम यसपटक पनि जारी रह्यो।
बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेकाहरूले संग्रहालया बीपीका सम्झनाहरू हेर्न खोजे। तर भूकम्पपछि फेरि शिलान्यास गरी पुनर्निर्माण थालिएको संग्रहालयमा सामानहरू ठिकठाक अवस्था छैनन्।
२०७२ को भूकम्पले ध्वस्त बनाएको सुन्दरीजलस्थित बीपी संग्रहालयको पुनर्निर्माण अझै सकिएको छैन। कोठाहरूमा सामान यत्रतत्र छन्, रंगरोगन अझै जारी छ। संग्रहालय भवन बाहिर पनि सामानहरू छरपस्ट देखिन्छन्।
संग्रहालय भवनपछाडि टिनको छानामुनी तत्कालीन कांग्रेसले क्रान्तिका लागि आर्थिक स्रोत जुटाउन अपहरण गरेको विमान राखिएको छ। यहाँ पुग्नेहरूले हेर्न लायक बस्तु अहिलेलाई यही नै छ।
प्रथम जननिर्वाचित प्रधाननमन्त्री कोइरालालाई २०१७ सालको 'कू' पछि यहीँ राखिएको थियो। बीपीलाई राखिएको त्यही जेल अहिले संग्रहालयमा रुपान्तरित भएको हो।
अघिल्ला वर्षहरूजस्तै सानो समूहले यहाँ औपचारिक कार्यक्रम गर्यो। बीपीको शालिकमा माल्यार्पण गर्यो र फर्कियो। र, सुन्दरीजल फेरि उस्तै सुनसान बन्यो।
बीपी संग्रहालय कस्तो देखियो आज ? हेर्नुस् उमा विष्टका फोटोहरूः