उच्च अदालत पोखराको परामादेशः आतसबाजी गर्न मापदण्ड बनाऊ

उच्च अदालत पोखराको परामादेशः आतसबाजी गर्न मापदण्ड बनाऊ

पोखरा : रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी नयाँ वर्षका बेला आयोजना गर्दै आएको सडक महोत्सवमा आतसबाजी गर्न मापदण्ड बनाउनुपर्ने निर्देशनात्मक आदेश गरेको छ।

बितेको नयाँ वर्षको सन्दर्भमा परेको रिट भने समय सान्दर्भिकता सकिएको भन्दै अदालतले खारेज गरेको छ। तर रिटमाथि अदालती आदेशको पूर्णपाठ भर्खरै आएको छ। अदालतको अन्तिम आदेश भने वैशाख २५ गते आएको थियो।

उक्त रिटकै सन् २०१९ सुरु हुँदाको महोत्सवमा रेबानले आतसबाजी गर्न पाएको थिएन। महोत्सव आयोजना हुनुअघि नै अदालतमा मुद्दा परेको थियो। त्यसअघिका वर्षमा भने पोखरा लेकसाइडमा आतसबाजी हुँदै आएको थियो।

अदालतले पुस ११ गते अन्तरिम आदेश गरेको हुँदा रेबानले मध्यपुसको महोत्सवमा आतसबाजी गर्न पाएको थिएन। पुस १६ गते परेको सन् २०१८ को अन्तिम दिन डिसेम्बर ३१ को मध्यरात आतसबाजी गर्ने निर्धारित कार्यक्रम रद्द भएको थियो। 

अदालतले फेवाताल र वरपरका जीवजन्तुलाई सहनयोग्य ध्वनि र आतसबाजी गर्ने पटाकाको गुणस्तरबारे विज्ञबाट अध्ययन गराउन पोखरा महानगरपालिका र रेबानलाई परामादेश गरेको छ। न्यायाधीशद्वय विनोदप्रसाद शर्मा र तेजबहादुर कार्कीको इजलासले त्यस्तो परमादेश गरेको हो।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका रामबहादुर पौडेलले रेबानका अध्यक्ष बुधबहादुर भुजेल (भीमसेन) समेतलाई विपक्षी बनाएर गएको पुस ५ गते रिट दायर गरेका थिए। २०७६ को वैशाख २५ मात्रै उक्त रिटमाथिको अन्तिम आदेश अदालतले गरेको थियो। पूर्णपाठ भने त्यही २५ गतेकै मिति उल्लेख गरी साउन पहिलो साता आएको छ।

अदालतको परमादेशको पूर्णपाठमा सरोकारवाला पक्षसँग छलफल गरी विज्ञहरूहरूबाट असोज मसान्तसम्म अध्ययन गराउनू भन्ने उल्लेख छ।

‘पर्यावरणलाई प्रतिकूल असर पर्न दिन नहुने, जैविक विविधता र विविध प्रजातिको बासस्थानलाई प्रतिकूल असर पर्न दिन नहुने अवस्थासमेतलाई ध्यानमा राखी कुन स्तरसम्मको ध्वनि र अन्य निष्कासन, माछा, चरा लगायतलाई सहनयोग्य हुनेछ भनी सरोकारवालासँग छलफलसमेत गरी विज्ञहरूबाट असोजसम्म अध्ययन गराई’, पूर्णपाठमा उल्लेख छ, ‘अध्ययनबाट देखिनसक्ने सीमाभित्र रही कानुनबमोजिमको अनुमति लिईमात्र आतिसबाजी गर्ने कार्य गर्नु गराउनू भनी निर्देशनात्मक आदेश छ।’

अदालतले आदेशको पूर्णपाठमा अमेरिकी रसायन समाजले सन् २००७ मा गरेको अध्ययन लगायत अनुसन्धानहरूलाई समेत उद्धृत गरेको छ। अमेरिकी अध्ययन अनुसार ठूलो आवाजमा भएको आतिसबाजीको आवाजले चराहरू कहिलेकाहिँ मर्ने अवस्थामा सम्म पुग्ने गरेको उल्लेख छ।

‘युएस जिओलोजिकल सर्भे एन्ड नेसनल पार्क सर्भिसले सन् २०११ देखि १५ सम्म गरेको अध्ययनमा आतसबाजी गरिएको १०६ स्थानको पानीको नमुना र ११ स्थानको माटोको नमुनामा पक्र्लोरेट र धातुको अंश भेटिएको छ’, पूर्णपाठमा उल्लेख छ, ‘क्यालिफोर्निया मा सन् २००६ मा र सिवल्र्डस्यान्डियोमा हुने गरेको आतसबाजी मुद्दाबाट रोक लगाइएको थियो। हवाई र पर्लसिटीमा आतसबाजीको कारणले वायुको गुणस्तरमा ह्रास आएको प्रतिवेदनहरूबाट देखिएका छन्।’

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका पौडेलले वातावरणमा असर गर्ने र फेवातालका माछा तथा वरिपरिको जंगलका चराचुरुंगी एवं जीवजन्तुमा असर गर्ने हुँदा आतसबाजी गर्न रोकिनुपर्ने मागसहित रिट हालेका थिए। रिटको पक्षमा वरिष्ठ अधिवक्ताद्वय तिलक पराजुली र विश्व घिमिरे, अधिवक्ता सुरेन्द्र थापामगरले पैरवी गरेका थिए।

रेबानले सिड्नी, न्युयोर्क, लन्डन र टोकियो लगायत सहर र समुद्री किनारहरूमा आतसबाजी हुँदै आएको भन्दै पोखराको बैदाममा पनि आतसबाजी गर्दा जलचर र थलचरलाई असर नपर्ने दाबी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.