बाढी नियति नै हो त ?
संवत् २०७६ असारको तेस्रो सातादेखि नेपालमा मनसुन सक्रिय भई पानी पर्न थाल्यो। प्रमुख खाद्यान्न बाली धान रोप्न सकिने भयो भनी उत्पादनको विशेष क्षेत्र तराईका जनता खुसी भए। मानो रोपेर मुरी फलाउने बेलाको यो खुसी धान रोप्ने बेलासम्म टिक्न सकेन। असारको अन्तिम हप्तामा परेको अविरल वर्षाले मध्य र पूर्वीतराईका करिब सबै भागमा बाढीको प्रकोप सुरु भयो। असार ३१ सम्मको सार्वजनिक आँकडाअनुसार बाढीबाट ८४ जनाको मृत्यु भइसकेको छ भने ३५ जना बेपत्ता छन्। व्यक्तिगत र सार्वजनिक धनसम्पत्ति कति क्षति भयो भनी प्रशासन तथ्यांक संकलनमा व्यस्त छन्। सरकारले पीडितको उद्धार र राहतमा खट्न आफ्ना सबै निकायलाई निर्देशन दिएको छ। पार्टीले आफ्ना कार्यकर्तालाई पनि निर्देशन दिएका छन्।
काठमाडौंका सडक बजारमा पीडितलाई सहयोग जुटाउन तुुल लिएर हिँड्नेको लर्को देखिन थालेको छ। पीडितले सरकारी दाबीका अनुसार राहत पाउन नसकेको सञ्चारमाध्यमले समाचार पस्किइरहेका छन्। भूभागको हिसाबले १४ र जनसंख्याको हिसाबले करिब ५० प्रतिशत मानिस बसोवास गर्ने १० देखि ५० किलोमिटर चौडाइको तराईमा यस प्रकारको पानीजन्य प्रकोप नौलो होइन। बारम्बार दोहोरिइरहने दुःखद यथार्थ हो। तर, पछिल्लो केही वर्षदेखि यस प्रकारको घटनाबीचको दूरी र संख्या बढ्दै छ। चुरे क्षेत्रको वन विनास र बढिरहेको मानवीय हस्तक्षेप, तराई र चुरेमा बनेका सडक र वरपर अनियन्त्रित रूपमा विस्तार भइरहेका बस्ती, चुरे संरक्षण र नदी नियन्त्रणको अपर्याप्त र निष्प्रभावी सार्वजनिक खर्च, सीमा क्षेत्रका बाँध आदिलाई प्रमुख कारणका रूपमा मौसमी हिसाबले अगाडि सारिन्छ। कुनको योगदान कति छ ठ्याक्कै भन्न नसकिए पनि समास्या उत्पादनमा यी सबैको योग जिम्मेवार छ।
तत्कालै देखिने र मानवीय संवेगसँग जोडिँदा बाढीको चर्चा धेरै भएको हो, तर तराईमा पानीजन्य समस्याले निरन्तर र विस्तारै विकराल रूप ग्रहण गरिरहेको छ। पानीको सतह तल झर्दै गएको छ। खोलानालामा गेगर आदिको मात्रा बढ्दा कटान क्षमता बढेको छ। गेगर आदि मिसिँदा पानी गह्रौं भई जमिनमा सोसिने प्रक्रिया ह्रास भएको छ। गेगर आदिका कारण पानीको आयतन बढ्दा खोलानालाले ओगटेको क्षेत्र बढी रहेको छ भने बाटो परिवर्तन हुँुुदा कृषियोग्य जमिन बगरमा परिणत भइरहेको छ।
पानी बढी वा कम हुने र भूबनोटको परिवर्तन सबै पानीजन्य प्रकोप हुन्। यी पानीको गतिशीलतासँग जोडिन्छन्। मानवका लागि अपरिहार्य र निर्विकल्प पानी धेरै वा थोरै दुवै प्रतिकूल हुन्छन्। धेरैले बाढीपहिरो ल्याउँछ भने कमले सुक्खा र खडेरी।
तराईको पानीजन्य प्रकोप त्यहाँको पानीसँंग मात्र सम्बन्धित छैन। नेपालमा मनसुनी बादलको पहिलो अवरोधक चुरे शृंखला, दोस्रो अवरोध महाभारत शृंखला र अन्तिम अवरोधक हिमालय हुन्। फलस्वरूप, चुरेमा धेरै, महाभारतमा कम र हिमालमा एकदमै कम मात्र वर्षा हुन्छ। त्यसकारण चुरेमा हुने वर्षा र तराईमा निकास हुने पानीले नै तराईको पानीजन्य प्रकोप धेरै हदसम्म नियन्त्रण गर्छ।
चुरेमा पर्ने पानीको मात्रा मानिसको नियन्त्रणमा छैन। तर, परेको पानीको व्यवस्थापन मानिसको क्षमताभित्र छ। चुरेमा परेको पानीको व्यवस्थापन तीन सूत्रका आधारमा गरियो भने तराईमा पानीजन्य प्रकोप न्यूनीकरण गर्न सकिन्छ। बाढीको नियति रोक्न सकिन्छ।
चुरेमा पोखरी सूधार वा निर्माणमा निजी क्षेत्रसँग पर्यापर्यटनका लागि लागत साझेदारी गर्न सकिन्छ। चुरे क्षेत्रमा व्यापक वृक्षरोपण र संरक्षणका लागि सुरक्षा निकायको तागतलाई उपयोग गर्न सकिन्छ।
प्रथम सूत्र ः वैज्ञानिकका अनुसार चौबीस घन्टाभित्र सय मिलिलिटरभन्दा बढी पानी पर्यो भने मात्र जमिनले अड्याउन सक्दैन। पहिरो जाने वा यताउता बग्ने हुन्छ। जमिनले जति धेरै पानी सोस्न सक्छ उति नै कम पानी जम्छ वा बग्छ। जंगलको छिद्रयुक्त माथिको बाक्लो माटोको पत्रले धेरै पानी सोस्छ। त्यसैगरी धेरै बेर र धेरै जमिनको सतहमा रहँदा पनि पानी बढी सोसिन्छ।
बाटोघाटो निर्माण वा चोरी-तस्करीलगायतका अन्य मानवीय कारणले चुरेमा वनको क्षेत्र घट्दै छ। चुरेका खोलानालाको सतह तल हुँदा सिँचाइ गरेर थोरै जमिनबाट धेरै उत्पादन लिन सकिँदैन, जंगली जमिन नै थप्नुपर्छ। बाँसको झाडीका लागि प्रख्यात चुरेका हजारौं खोच र खोल्सीमा बाँस मासिँदा पानी अड्ने ठाउँ छैन। तल्लो भाग र खोलानालाका किनारको सिसौ र खयरका जंगल र मैदानको घाँसे चउर मासिँदा पानी अड्याउने र सफा गर्ने प्राकृतिक व्यवस्था खल्बलिएको छ।
द्वितीय सूत्र पानीको बहाब र भार घटाउने सफा पानीको बहाब कम हुन्छ। सफा पानीको क्षति गर्ने क्षमता पनि कम हुन्छ। पानीको बहाबलाई अवरोध गरेर घटाउँदा जमिनमा सोस्नका लागि बढी समय उपलब्ध हुन्छ। पानीमा अरू चिज मिसिनबाट रोक्दा पानीको तौल कम हुन्छ। यस्तो पानीको कटान क्षमता र पानी धेरै भएर बग्नका लागि नयाँ ठाउँबाट खोज्ने सम्भावना कम हुन्छ।
भूक्षय हुँदा चुरेका खोलानालामा ढुंगामाटो, गेगर आदि फोहोर मिसिँदा पानी फोहोर एवं भारी हुने गरेको छ। भारी पानी जमिनमा कम सोसिँदा बहने पानीको मात्रा धेरै हुन्छ। पानीमा मिसिएको फोहोर जमिनमा थुपिँ्रदा जमिनको शोषण शक्ति झन् कम भएको छ। फोहोरका कारण तीव्र रूपमा बग्ने खोलानालाले धेरै कृषियोग्य जमिन कटान गरेको छ। खोलामा पानीको आयतन बढेर पानी नयाँ ठाउँमा बग्दा बस्तीमा पस्ने गरेको छ। फोहोरले खोलाको पिँध उकासिएर अनि पानीले बाटो बदलेर कृषि क्षेत्र बिग्रेको छ। खोलाको पिँधमा फोहोर थुपिँ्रदा पानीको सतह तल गएर हिउँदमा सिँचाइ गर्न समस्या आएको छ।
तृृतीय सूत्र पानीको पुनः वितरण ः जमिनको धेरै भागमा पानी फिँजारिँदा सोसिने क्षेत्रफल बढ्न गई पानीको मात्रा घट््छ। त्यसैगरी पानीलाई एकै ठाउँमा सोहोरिन नदिई विभिन्न ठाउँमा जम्मा गरेर राख्दा पनि बहने पानीको मात्रा घट्छ। पानी बग्ने मार्गमा ठाउँठाउँमा अवरोध सिर्जना गरेर पनि पानीको परिमाण र बहाब नियन्त्रण गर्न सकिन्छ। हिमाल र पहाडबाट सोहोरिएर आएका सबै पानी निर्बाध कोशी, बागमती, नारायणी र कर्णाली हँुदै तराईमा प्रवेश गरिरहेको छ।
त्यसैगरी वर्षाका कारण चुरेबाट निस्किने १६४ वटा खोलानालाका पानी बेरोकटोक तराईमै पुगेको छ। यी दुवै कारणले तराईमा पानीको मात्र बढ्दा प्रकोपको जोखिम बढेको हो। पानी व्यवस्थापनका यी सूत्र प्रयोग गरेर तराईमा कम सफा पानी पुर्याउँदा पानीजन्य प्रकोप कम हुन्छ। पानीलाई बढीभन्दा बढी जमिनमा शोषित गराउन चुरे क्षेत्रमा जंगल संरक्षण र विस्तार, खोच खोल्सामा बाँस रोप्ने तथा तल्लो भागका नदी किनारमा खयर र सिसौको जंगल हुर्काउने तथा घाँसे चउर पुनःस्थापना गर्नुपर्छ। चुरेमा नयाँ पोखरी बनाएर र सुधार गरेर पानी भर्ने, खोच र गल्छीमा धेरैभन्दा धेरै चेक ड्याम र चुरेका नदीनालाका दुवै किनारमा तटबन्ध गरेर बहाबमा अवरोध ल्याउनुपर्छ। एकै नाकाबाट तराईमा पस्ने कम रोक्न पहाडमा सुरुङ खनेर विभिन्न ठाउँमा निकास बनाएर पानी वितरण गर्न सकिन्छ।
पानी जमिनमा फिँजारिँदा बढी सोसिन्छ र पानीको मात्रा घट्छ। चुरेमा जताततै समस्या छ। सीमित पैसा छरेर यो समस्या समाधान हँुदैन। एक ठाउँमा मिलायो भने अर्को ठाउँमा भ्वाङ पर्छ। पलपलमा पीडित जनता लामो समय कुर्न सक्ने अवस्थामा छैनन्। त्यसकारण चुरे संरक्षण अभियान जनपरिचालनमार्फत नै गर्नुपर्छ। सबैभन्दा पहिला अप्रिय कदम उठाएर भए पनि चुरे क्षेत्रलाई थप बिग्रनबाट तत्काल रोक्नुपर्छ। उल्लिखित कार्य गर्न साधनस्रोतको समस्या पनि देखिँदैन। बाँस रोप्ने र पुनः प्राप्त हुने जमिन प्रयोगमा निजी र समुदायसँग साझेदारी गर्न सकिन्छ। खोलानालामा थुप्रिएका ढुंगा, गिटी, बालुवा नियन्त्रित रूपमा बेचेर नगद जुटाउन सकिन्छ।
सुरुङलाई विद्युत् उत्पादनका लागि पनि उपयोग गर्न सकिन्छ। खोला किनारमा वृक्षरोपण र आसपासमा घाँसे मैदान पुनस्र्थापना र संरक्षणमा स्थानीय वासिन्दा परिचालन गर्न सकिन्छ। चुरेमा पोखरी सूधार वा निर्माणमा निजी क्षेत्रसँग पर्यापर्यटनका लागि लागत साझेदारी गर्न सकिन्छ। चुरे क्षेत्रमा व्यापक वृक्षरोपण र संरक्षणका लागि सुरक्षा निकायको तागतलाई उपयोग गर्न सकिन्छ। आखिर वातावरणीय संकटको बेला सुरक्षा निकाय परिचालन गर्ने चलन जहाँ पनि छ। यी कुरा सम्भव छन्। किनकि, चुरोट त विज्ञापन गरेर बिकेकै छ भने जनताको हित हुनेमा जनताको साथ अवश्य रहन्छ। खालि सम्झाउन र कार्यशैलीमा परिवर्तन गर्न सक्नुपर्छ।