वीरगन्ज नाका : ७ खर्ब ८२ अर्ब व्यापार घाटा
वीरगन्ज : वीरगन्ज नाकाको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ।वीरगन्जमा मुलुककै प्रमुख स्थल नाका वीरगन्ज भन्सार र रेल सुविधासहितको सिर्सिया सुख्खा बन्दरगाहा (ड्राइपोर्ट) छ।
वीरगन्ज नाका हुँदै विदेश निकासी हुने मालसामानको तुलनामा विदेशबाट आयात हुने मालसामानको परिमाण अत्याधिक भएका कारण नाकाको व्यापार घाटा वर्षेनी बढ्दै गएको हो।
गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै वीरगन्ज नाको व्यापार घाटा ७ खर्ब ८२ अर्ब ७२ करोड भन्दा बढी पुगेको छ । यो अघिल्लो वर्ष २०७४/०७५ को भन्दा ७२ अर्ब ८३ करोडले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने वीरगन्ज नाकाको व्यापार घाटा ७ खर्ब ९ अर्ब ८९ करोड मात्र थियो। त्यस अघिको आर्थिक वर्ष २०७३/०७४ मा भने वीरगन्ज नाकाको व्यापार घाटा ४ खर्ब ३२ करोड ३६ लाख मात्र थियो ।
गत आर्थिक वर्ष २०७५/०७६ मा वीरगन्ज (वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह ) नाकाहुँदै ८ खर्ब १२ अर्ब २३ करोड ६६ लाख रुपैयाँ मुल्यका मालसामान भारत तथा तेश्रो मुलुकबाट नेपालमा आयात भएको छ। जबकी गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै नेपालबाट २९ अर्ब ५१ करोड मुल्य मात्रको माल सामान भारत र तेश्रो मुलुकमा निर्यात हुन सकेको छ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने वीरगन्ज नाका हुँदै ७ खर्ब २९ अर्ब ३२ करोड मुल्यको मालसामान भारत तथा तेश्रो मुलुकबाट आयात भएको थियो भने त्यहि आर्थिक वर्षमा यो नाकाबाट १९ अर्ब ४२ करोड मुल्य मात्रको मालसामान विदेश निर्यात भएको थियो।
आर्थिक वर्ष २०७३/०७४ मा वीरगन्ज नाका हुँदै ४ खर्ब ५१ अर्ब ५४ करोड मुल्यको माल सामान विदेशबाट आयात भएको थियो भने १९ अर्ब १८ करोड मुल्यको मात्र मालवस्तु विदेश निकासी भएको थियो।
वीरगन्ज भन्सारको मात्रै व्यपारघाटा ५ खर्ब ५८ करोड
गत आर्थिक वर्ष २०७५/०७६ मा वीरगन्ज नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयको मात्रै व्यापार घाटा ५ खर्ब ५८ अर्ब ६० करोड रहेको छ। यो नाका हुँदै गत आर्थिक वर्ष भारत तथा तेश्रो मुलुकबाट ५ खर्ब ८३ अर्ब ७८ करोड मुल्यको सामान आयात भएको छ भने २५ अर्ब १८ करोड मुल्य मात्रको मालसामान विदेश निर्यात हुन सकेको छ।
वीरगन्ज नाकामै रहेको सिर्सिया सुख्खा बन्दरगाहको गत आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा २ खर्ब २४ अर्ब १२ करोड ५८ लाख रहेको छ। गत आर्थिक वर्षमा सुख्खा बन्दरगाहा नाका हुँदै २ खर्ब २८ अर्ब ४५ करोड ६६ लाख मुल्यको सामान नेपाल भित्रिएको छ भने ४ अर्ब ३३ करोड ८ लाख मुल्य मात्रको सामान नेपालबाट विदेश निर्यात भएको छ।
आयात ३ सय तर निर्यात भने १ सय
भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुँदै इन्धन (पेट्रोल, डिजेल , हवाइ इन्धन, एलपीजी ग्याँस), औद्योगिक कच्चा पदार्थ, नयाँ सवारी साधन, खाद्यान्न (धान , चामल, मकै , गहु , तोरी इत्यादि ) , फुलफूल ,तयारी सिमेन्ट र फलामजन्य पदार्थ ,मेसिनरी पाटपूर्जा ,विद्युतीय उपकरण, कपडालगायत गरी करिब तीन सय प्रकारका मालसामान नेपालमा भित्रिने गरेको छ ।
यस्तै नेपालबाट वीरगन्ज नाका हुदै भारत तथा तेश्रो मुलुकमा सबै भन्दा बढि जुस , स्पोर्टस जुत्ता , उनिको गलैचा , रेसा कपडा , जिआइ फलामे पाइप , ह्याण्डि क्राफट् ,कार्पेट ,जीवजन्तुको दाना ,पिना, आर्युवेदीक औषधी , दन्तमन्जन ,भटमासको तेल , राँगा भैंसीको छाला , तामाको भाडाँ लगायत करिब एक सय प्रकारका मात्र माल सामान निकासी हुने गरेका छन्।
भारत तथा तेश्रो मुलुकबाट आयात हुने मालसामानको तुलनामा निर्यात अत्यन्त न्युन भएकाले वीरगन्ज नाकाको व्यपार घाटा वर्षेनी बढ्दै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले बताए।
खाद्यान्नमा समेत परनिर्भरता बढ्यो
अर्थशास्त्रका प्राध्यापक डाक्टर दिपेन्द्र चौधरीले नेपाल कृषि प्रधान मुलुक भनिएपनि खाद्यान्नमा समेत विदेशमै निर्भर रहनु परेका कारण पनि व्यापार घाटा बढ्दै गएको बताए।
'नेपाल कृषि प्रधान मुलुक हो भनिन्छ, तर आफ्नै मुलुकमा उत्पादन हुन सक्ने खाद्यान्न, फलफूल , तरकारी मात्रै पनि अर्बौ मुल्यको विदेशबाटै आयात भइरहेको छ,' उनले भने, 'यसका साथै वर्षेनी नयाँ गाडीको आयात पनि बढ्दै गएको छ, गाडीको संख्या बढेपछि इन्धनको आयात पनि बढ्दो क्रममा छ, यही कारण पनि व्यापार घाटा बढ्न पुगेको हो।'
यसका साथै नेपालमा विलाशीलताका साधन र उपकरणको खपत दिनानुदिन बढ्दै गएको छ। तर नेपालमा त्यसको उत्पादन शून्यजस्तै छ। त्यसैले ती सबै विदेशबाट नै आयात भइरहेका छन्, 'उनी भन्छन्, 'नेपालको व्यापार घाटा बढ्नुको कारण पनि ती महंगा विलाशीलताका सधानको आयात पनि हो।
निर्यात सहज नहुदा निर्यातकर्ता निरुत्साहित
नेपालबाट मालसामानको विदेशमा निर्यात प्रक्रिया पनि सहज नभएका कारण निर्याकर्ता निरुत्साहित भएर निर्यातमा वृद्धि हुन नसकेको उद्योगी व्यापारी बताउँछन्। नेपालबाट भारतीय बन्दरगाह हुँदै तेश्रो मुलुकमा निर्यात गरिने मालसामान, भारतीय बन्दरगाहमा सिपिङ कम्पनीको ढिलासुस्तीका कारणले सम्बन्धित मुलुकमा समयमै आपूर्ति गर्न नसक्दा पनि व्यापारघाटा बढेको व्यापारीको तर्क छ।
नेपालबाट पठाइएको मालसामानका कन्टेनर रेल यार्डबाट कोलकत्ता बन्दरगाहाको सिपिङ यार्डमा पुर्याउन झन्टझट भएका कारण निर्यातकर्ताले सास्ती खेप्दै आएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए।
कोलकत्तामा रेलयार्डबाट बन्दरगाहको सिपिङ यार्डमा पुर्याउन मात्रै पुरयाउन महिना दिनसम्म लाग्ने गरेको उनले बताए। 'सात दिन मात्र लाग्नु पर्नेमा ३० दिन जति लाग्छ, उनले भने, 'यसले गर्दा ढुवानी खर्च अत्याधिक पर्ने गरेको छ, जसका कारण नेपाली निर्यातकर्ता निरुत्साहित बनेका छन्।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति नै भएन : उद्योगी
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओम प्रकाश शर्माले सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति नबनाएकै कारण व्यापारघाटा बढदै गएको बताए। 'नीति निर्माताले मुलुकको बजेट नै आयातमुखी खालको बनाउँदै आएका छन्, शर्माले भने, 'सरकारले देशभित्र रहेका उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा झन धरासायी बनाउने नीति बनाउँदै आएको छ, त्यसैले व्यापार घाटा बढ्दै गएको हो।
अर्थशास्त्रका प्राध्यापक डाक्टर दिपेन्द्र चौधरी भने मुलुक भित्रै अत्यावश्यक वस्तुको उत्पादन बढाउन सके मात्र व्यापार घाटा कम गर्न सकिने बताउँछन्। आयात घटाएर निर्यात बढाउनुपर्छ अनि मात्र व्यापार घाटा कम गर्न सकिन्छ, उनी भन्छन्, 'यसका लागि आयात प्रतिस्थापन उद्योगको विकास गर्नु पर्छ। व्यापार घाटा कम गर्नका लागि कृषिजन्य उद्योगलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उनको सुझाव छ।