पार्टी एकताकाे काम निष्कर्षतिर पुगेको छ : प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताका काम निष्कर्षतिर पुगेको बताएका छन्। ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
एकताको काम सक्ने वित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो। उनले भने,‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको समेत उनले बताए। पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उनको भनाई थियो। स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकतावद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा प्रचण्डले जोड दिए।