सिरहामा तीन घटनामा तीनजनाको मृत्यु, पाँच घाइते
सिरहा : मंगलबार सिरहामा विभिन्न तीन घटनामा तीनजनाको मृत्यु भएको छ । अरु पाँचजना घाइते छन् ।
घरको वाल भत्किँदा मृत्यु
वर्षाको पानीमा भिजेको घरको वाल भत्किँदा धनगढीमाई नगरपालिका–२ का ५५ वर्षीया कुशमा खातुनको मृत्यु भएको छ ।
सोही घटनामा परी ७२ वर्षीय रहिमान मियाँ, ६५ वर्षीया जनकी खातुन र २० वर्षीय सुभाष गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार घाइेतहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
चट्याङबाट मृत्यु
धान रोपाइँका लागि कोदालोले खेत सम्याइरहेको बेला चटयाङ लागेर अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको मृत्यु भएको छ । चट्याङकै कारण भगवानपुर गाउँपालिका–२ का ४० वर्षीया नगमा खातुन र नवराजपुर गाउँपालिका–१ करमनियाँका ७० वर्षीय रामविलाश ठाकुर घाइते भएको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।
चट्याङ लाग्दा नगमा घरमै काम गरिरहेकी थिइन् भने रामविलाश खेतमा काम गरिरहेका थिए । उनीहरुको लहानमा उपचार भइरहेको छ ।
करेन्टबाट मृत्यु
मंगलबार नै सिरहा नगरपालिका–२ का ५२ वर्षीय विन्देश्वर महासेठको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटर चलाइ नुहाएर मोटर बन्द गर्न जाँदा उनलाई करेन्ट लागेको थियो ।
उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।