बाआमालाई गोरखामै माटोको घर बनाइदिने मानुषीको रहर

बाआमालाई गोरखामै माटोको घर बनाइदिने मानुषीको रहर

काठमाडौं : जनयुद्धताका आमा हिसिला मानुषीलाई सम्झाउँथिन्- 'तिम्रो आमाबुवाको ज्यान खतरामा छ। त्यसैले तिम्रो ज्यान पनि खतरामा छ।'

लडाईंमा होमिएका नेता कार्यकर्ताका लागि जनयुद्ध कस्तो भयो ? 'मुक्ति' का लागि मर्नमार्न तम्सेका बाबुआमाका छोराछोरीको एक्लो जीवन कति असहज भयो होला ? एक्लै हुर्किँदै गर्दा आमाबाबुको अभाव कति बिझायो होला ? यी समस्या झेल्ने प्रतिनिधि पात्र हुन् मानुषी।

युद्धमा होमिएका बहुसंख्यक परिवारका सन्तानको तुलनामा आफ्नो जीवन निकै सहज भएको उनको स्वीकारोक्ति छ। उनीहरूका लागि काम गर्ने रहर उनलाई छ।

'राज्यले उनीहरूको राम्ररी रेखदेख गर्न सकिरहेको छैन। उनीहरूले पनि सहज रुपमा शिक्षा लगायतका आवश्यकता प्रप्त गरुन्', उनले सुनाइन्, 'अरु जनताले पनि सोही हक प्राप्त गर्नु जरुरी छ। राजनीतिको प्रमुख उद्देश्य नै यही हो।'

सोमबार नेपाल ल कलेजमा मानुषीको जीवनका केही अंश समेटेर बनाइएको डकुमेन्ट्री 'डटर अफ नेपाल' हेर्न आएकाहरूसँग उनी आफ्ना भावना बाँड्दै थिइन्। भारतीय फिल्म निर्माता सुरभी देवानले बनाएको डकुमेन्ट्रीमा मानुषीको जीवनका विभिन्न पक्षलई कलात्मक ढंगले समेटिएको छ।

राजनीतिको रेस

बाबु बाबुराम भट्टराई र आमा हिसिला यामी जनयुद्धमा होमिएपछि मानुषीले बाल्यकालको अधिकांश समय एक्लै बिताइन्। आमाबाबुसँग वर्षौँ नभेटी होस्टल र आफन्तको घरमा उनले समय बिताएकी थिइन्।

पढाईमा अब्बल मानुषी पढ्नकै लागि भारतको नैनीताल, दार्जिलिङ, नयाँ दिल्लीदेखि बेलायतसम्म पुगिन्। काठमाडौंमा त्रिविबाट उनले इतिहास र राजनीति शास्त्रमा स्नातक गरिन्। जवाहरलाल नेहरु विश्वविद्यालयबाट एमफील् गरिन्।

बाबुआमालाई आदर्श मानेर उनीहरूकै बाटो पच्छ्याएकी उनी विद्यार्थी राजनीतिमा सक्रिय भइन्। २०६५ सालमा स्ववियु चुनावमा सचिव निर्वाचित भइन्। माओवादी, नयाँ शक्ति हुँदै उनी अहिले समाजवादी पार्टी नेपालमा आबद्ध छन्।  

बाबुराम भन्छन्- राजनीति रिले रेसजस्तै हो। मानुषी बाबुको कुरा सम्झिरहन्छिन्। भन्छिन्, 'राजनीतिमा सबै कुरा एउटाले मात्र गर्दैन र सक्दैन पनि। आफ्नो जीवनकालमा गर्न सकेजति काम गर्ने र बाँकी अर्को पुस्तालाई हस्तान्तरण गरेर जाने हो। म पनि त्यही गर्दै छु।'

छोरी हुनुको अर्थ

एकदिन मानुषी आफ्ना बालाई सोध्छिन् , 'बा तपाईँको सन्तानको रुपमा म (छोरी) नै जन्मिएकोमा खुसी हुनुहुन्छ?'

बाबुरामले दिएको जवाफले उनी फुरुङ्ग हुन्छिन्। 'म तिमी नै जन्मिनेमा विश्वश्त थिएँ', उनी बाबुको जवाफ उद्धृत गर्छिन्, 'तिम्रो लागि मैले तिमी जन्मनुअघि नै 'डटर अफ कार्ल मार्क्स' भन्ने पुस्तक किनेर राखेको थिएँ।'

२०४२ सालमा जन्मिएकी मानुषीलाई बाबुरामले ९ वर्षकी छँदा 'डटर अफ कार्ल मार्क्स' किताब उपहार दिए। उनले त्यो किताब कतै हराइन्। हराएको किताबको सम्झनाले खुब सताएको उनी सुनाउँछिन्। बाबुरामले २०६७/६८ तिर फेरि त्यही किताब किनेर छोरीलाई उपहार दिए र, भने- 'अबचाहिँ नहराउनू।'

पैत्रिक थलो गोरखा गएर गाउँका जनताको सेवा गर्ने र सानो माटोको घर बनाएर बुढेसकालमा आमाबाबुलाई त्यही राख्ने चाहाना छ उनको। 'हामी धेरै सहरकेन्द्रित भइरहेका छौँ। मेरो जीवनको लक्ष्य नै जन्मस्थान गोरखा गएर काम गर्ने र ग्रामीण जनताको लागि काम गर्ने हो', उनी भावुक हुन्छिन्, 'मेरा बालाई बुढेसकालमा गोरखामा गएर बस्ने रहर छ। उहाँको लागि गोरखामा नै सानो माटोको घर बनाउन मन छ।'

मानुषीलाई आफू मेहनेती र प्रतिभावान् भएको कुरामा शंका छैन। तर बाबुराम र हिसिलाको सन्तान भएकाले जति मेहेनत गरे पनि आफ्नो स्वतन्त्र पहिचानमा बाधा उत्पन्न भएको उनको गुनासो छ।

१० वर्षको उमेर कक्षा ५ मा निबन्ध प्रतियोगितामा भाग लिएकी थिइन्। उनी २/३ जनामा छानिइन्। तर अरुले 'बाबुराम भट्टराईकी छोरी छनोट भइहाल्छे नि' भनेको सुन्दा उनलाई निकै नरमाइलो लाग्यो। यो बच्चै हुँदाको कुरा थियो। अहिले उनी यस्ता कुरालाई बेवास्ता गर्ने बानी परिसकेको छ।

परिवारमा महिला भएर अलग व्यवहार भोग्नु नपरेकी उनलाई समाजले भने तँ महिला होस् भन्ने कुरा बुझाउन कुनै कसर बाँकी राखेन। 'पारिवारिक रुपमा मलाई छोरी भनेर अलग व्यवहार नगरे पनि समाजले तँ महिला होस्, महिलाजस्तै व्यवहार गर् भनेर औंला उठाइरह्यो', उनी सुनाउँछिन्।

फिल्ममा मानुषी

मानुषीलाई सुरभी देवानले कलेजदेखि नै चिन्थिन्। कलेजमा अस्मिताको रुपमा चिनिँदै आएकी केटी भूमिगत नेता बाबुराम भट्टराईकी छोरी हो भन्ने कुरा उनलाई शान्तिप्रक्रियापछि मात्र थाहा भयो। माओवादी कार्यकर्ता मानुषी र कलेजकी सामान्य विद्यार्थी अस्मिताको दोहोरो भूमिका देखेर यस विषयमा उनलाई फिल्म बनाउने रहर जाग्यो।

अमेरिकाबाट 'फिल्म मेकिङ कोर्स' सकेर नेपाल आएकी देवानले २०६७ सालमा 'डटर अफ नेपाल' नामक डकुमेन्ट्री फिल्म बनाइन्। वार्तालाप शैलीको प्रयोगमा बनेको यो डकुमेन्ट्रीमा सुरभीको दृष्टिकोणबाट आफ्नो जीवन कथालाई प्रस्तुत गरिएको छ। प्रश्नोत्तरात्मक वार्तालापमा नै नेपालको तात्कालीन परिवेश, उनी भारतमा पढ्न जाँदाको अवस्था, गोरखाको परिवेश लगायतका कुरा प्रस्तुत गरिएको छ।

डकुमेन्ट्री 'डटर अफ नेपाल' सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा निःशुल्क प्रदर्शन भइरहेको छ।  विदेशमा यसअघि नै प्रदर्शन गरिएको भए पनि नेपालमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो।

मंगलबार साउन ७ गते मण्डला थिएटर अनामनगरमा दिउँसो ४ बजे प्रदर्शन हुँदैछ। त्यसैगरी साउन ८ गते मार्टिन चौतारी थापाथलीमा दिउँसो ३ बजे र साउन ९ गते सारंगी रेस्टुरेन्ट ठमेलमा बेलुकी साढे ७ मा प्रदर्शन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.