दश दिनदेखि बाँधमा बास
मलंगवा : धनकौल गाउँपालिका–३ टावटोलका स्थानीय गाउँमा बाढी पसेपछि १० दिनदेखि नदीकिनारको बाँधमा बस्दै आएका छन्। पूर्वमा मनुष्मारा र पश्चिममा बागमती नदि बीचको बाँधमा ७६ परिवार जोखिम मोलेर बसिरहेका छन्।
गत असार २७ गते मनुष्मारा खोलाको पानी गाउँमा पसेपछि उनीहरु गाउँबाट विस्थापीत भए। दुबै खोलामा बाढी आएपछि ज्यान जोगाउन उनीहरु बाँधमा आ श्रय लिन पुगेका हुन्।
खोला अहिले सामान्य अवस्थामा रहे पनि कुन बेला बाढी आउँछ र बगाएर लान्छ भन्ने त्रासले बाँधबाट घरमा फर्कन कसैले आँट गरेका छैनन्। विपन्न परिवार रहेको बस्तीका अधिकांश घर बाढीका कारण हालसम्म हिलाम्य छन्। रातीको बेला मनुष्मारा खोलाको बाढी गाउँमा पसेपछि बाँधमा भागेर ज्यान जोगाएको स्थानीय जदु महतोले बताए।
‘बाँध अग्लो भएका कारण ज्यान जोगियो। बाँध नभएको भए बागमतीको बाढी पनि बस्तीमा पस्थ्यो। दुबै खोलाको पानी बस्तीमा पसेको भए कोही पनि बाँच्दैन्थ्यो’ उनले भने, ‘गाउँको पश्चिममा बाँध भएकोले बागमतीको पानी गाउँ पसेन।’ गाउँ अहिले दुबै नदीको चेपुवामा छ। आकाशबाट पानी पर्न सुरु हुनेबित्तिकै गाउँलेहरु चिन्तित हुन्छन्।
अर्की स्थानीय अस्मितालाई सुत्केरी भएकै समयमा गाउँमा बाढी पस्यो। ‘करिब साँझ ६ बजेतिर छोरी जन्मिइन्’, अस्मिताले भनिन्, ‘त्यसको केही घण्टामै गाउँमा बाढी पस्यो, बच्चासँगै भागेर ज्यान जोगाएँ।’ बाढीले सबै बगाएपछि अहिले खाने लाउने केही नभएको उनी बताउँछिन्। ६ जनाको परिवार अहिले बाँधमा बनाएको सानो झुपडीमा बस्दै आएका छन्।
बाढीले भिजाएको माटोको देवाल अहिलेसम्म सुक्न सकेको छैन। नवजात शिशुलाई लिएर १० दिनदेखि बाँधमै बस्दै आएको अस्मिताले दुःखेसो पोखिन्। दुईदिन अघिमात्रै घरमा बुहारी भित्र्याएकी राजकुमारी देवीले बाढी पसपेछि दुलहीकै पहिरनमा बुहारीलाई बाँधमा राखेको बताइन्। ‘भर्खर भित्र्याएकी दुलही बाँधमा राखे आफन्तले के भन्छन् भनेर हिलाम्य घरमै खाट राखेर घरमा ल्यायौं,’ उनले भनिन्। राहतका नाममा दिइएको २५ किलो चामल, २ किलो च्यूरा केही दिनमै सकिएको उनले गुनासो गरिन्।
बाँधको दुबैतिर झाडी छ। विषालु सर्पको जोखिम बढी छ। तर, पनि बाढीबाट बच्न बाँधमा बस्नु परेको पीडित बताउँछन्। भर्खर लगाएको बाली बाढीले बगाउँदा वर्षभरी परिवार कसरी पाल्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ।