६० क्विन्टल केराउ बरामद
भैरहवा : नेपालबाट भारततर्फ तस्करी गर्नका लागि राखिएको केराउ मटर रुपन्देही प्रहरीले बरामद गरेको छ। भारतमा मटरको मूल्य महंगो भएकाले तेस्रो मुलुकबाट सस्तो मूल्यमा नेपालमा आयात भएको मटर तस्करले देशका विभिन्न नाकाबाट भारततर्फ तस्करी गर्दै आएका छन्। नेपालमा हुने खपतभन्दा बढी मटर तेस्रो मुलुकबाट नेपालमा आयात भइरहेको छ।
तस्करी नियन्त्रणमा कडाई गर्दै आएको रुपन्देही प्रहरीले नाकाबाट तस्करी भइरहेको सूचना पाएपछि निगरानी गर्दै आएको थियो। यसैक्रममा राति तस्करी गर्नका लागि मर्चवारी गाउँपालिका ६ स्थित बैरिहवामा मटर डम्प गरेको अवस्थामा ६० क्विन्टल सेतो केराउ मटर बरामद गरिएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
उनका अनुसार बरामद मटरको बजार मूल्य ३ लाख २४ हजार रुपैयाँ बराबर रहेको र हालसम्म बरामद मटरको कसैले जिम्मा लिएको छैन।बरामद मटर भैरहवा भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।