रौतहटमा भारी वर्षा : नदीमा पानीको बहाव बढ्यो, सचेत हुन आग्रह
रौतहट : लगातारको वर्षाले बागमती र लालबकैया नदीमा पानीको सहत बढेको छ।बाढी मापन केन्द्र कर्मैयाले बागमती नदी किनारका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।
बागमती नदीको बाढीले रौतहटको दुई स्थानमा बाँध कटान गरेको छ। राजदेवी नपाको ब्रम्हपुरी र गढिमाइ नपाको ३ नम्बर वडा लक्ष्मीपुर नजिक बाँध भत्किएको छ।
करिब दुई साताअघि आएको वर्षाका कारण लालबकैया नदीमा आएको बाढीले कटहरिया, बुनियाद, लक्ष्मीनिया, लक्ष्मीपुर, परोहा, राजपुर, देवाही,बन्जरहालगायतका स्थानमा बाँध भत्काएको थियो।
चाँदी, झाँझ नदीमा पनि ठूलो बाढी आएको छ।ती नदीमा आएको बाढी बस्तीमा पस्ने खतरा रहेको स्थानीयले बताएका छन्। रौतहटमा रातिदेखि परेको पानी बुधबार दिउँसोसम्म पनि रोकिएको छैन। पालमुनी बस्दै आएका बाढीपीडित थप पीडामा परेका छन्। रौतहटका हजारौं बाढीपीडित पालमुनी तथा विधालयमा बस्दै आएका छन्।
बाढी मापन केन्द्र कर्मैयाले बागमती नदीमा अझै ठूलो बाढी आउन सक्ने भन्दै बुधबार साँझसम्म सतर्क रहन नदी आसपासका बासीन्दालाई आग्रह गरिएको छ।