भारतसँग कूटनीतिक पहल गरौँ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा भएको डुबानको समस्या समाधान गर्न भारतसँग कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्। भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्न उनले आग्रह गरेका हुन्।
संसदमा कांग्रेस-राजपाले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा आफ्ने धारणा राख्दै उनले एकअर्कालाई गाली गरेर मात्रै समस्याको समाधान हुन नसक्ने बताए।
‘अब भारत सरकारसँग कूटनीतिक तबरले कुरा गर्नुपर्ने बेला आएको छ’, उनले भने, ‘एकले अर्कालाई गाली गरेर मात्रै केही हुँदैन। दुवै पक्षले छलफल गरेर दीर्घकालीन समस्याको समाधान खोज्नुपर्छ।’ यो विषयमा सरकारले चासो नदेखाएको देउवाको आरोप छ।
‘तर सरकारले केही मतलब गरेन’, उनले भने। उनले देशमा बाढी पहिरोले भयावह अवस्था आउँदा पनि सरकार थाहा नभए जस्तै गरी बसेको आरोप लगाए।
‘पीडितको टहरामा बास छ। खद्यन्न छैन। लत्ताकपडा छैन। सरकारको पहिलो दायित्व नै खाद्यन्न, लत्ताकपडा पुर्याउनु हो’, उनले भने, ‘यस्तो भयावह अवस्था छ। तर त्यहाँ स्थानीय सरकार पनि पुगेको छैन। जनतालाई दुःख परेको बेला सरकार प्रमुख नै त्यहाँ पुगेर जनताको सेवा गर्नुपर्ने हैन र !’
उनले खोलाले तठबन्ध भत्काएर गाउँ पस्दा पनि सरकारले समस्याको दीर्घकालीन समाधान नखोजेको आरोप लगाए। हेलिकप्टरमा जाँदैमा जनताको दुःख कम नहुने उनको भनाइ छ। ‘सरकारी टोली पठाएर वा के गरेर हुन्छ। त्यहाँको वास्तविक कुरा ल्याउनुपर्छ’, उनले भने, ‘सरकारले छिटो गरेन भने हामी अरू कदम पनि उठाउछौँ।’