‘बाढी हेरेर मज्जा लिनेको प्रस्तावमा छलफल गर्ने ?’
काठमाडौं : नेकपा सांसद प्रभु साहले बाढी प्रभावित क्षेत्रका सांसदले दर्ता गराएको सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल नभएको भन्दै आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै साहले आपत्ति जनाएका हुन्।
‘काठमाडौंको एउटा महलमा एसीमा बसेर लेखेको प्रस्तावमाथि छलफल हुनुपर्ने ? म र कांग्रेसका सांसद अमरेशकुमार सिंह जो प्रभावित क्षेत्रका सांसद हौँ। हामीले दर्ता गराएको प्रस्तावमा छलफल नहुने?’, उनले भने, ‘म सभामुखसँग सोध्न चहान्छु। हामी मिलेर दर्ता गराएका थियौँ। तर कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडिदियो। आज न्याय हारेको छ। कांग्रेसको हठ जितेको छ। हामीपीडितले न्याय नपाउने ?’
उनले बाढीपीडित आफूहरु सदनबाट पनि अपमानित भएको बताए। ‘हामी बाढीबाट पीडित थियौँ। आज सदनमा पीडित भयौँ’, उनले भने, ‘जसले भोगेर आएको छ। उसको प्रस्तावमा छलफल नहुने ? बाढी हेरेर मज्जा लिनेको प्रस्तावमा छलफल गर्ने ?’
कांग्रेसलाई विगतबाट सिक्दै पीडितको साथमा आउन उनले आग्रह गरे। ‘पीडितमाथि राजनीतिक छाड्नुहोस्’, उनले भने।