चाँगुनारायणले दिगो विकासको कार्ययोजना बनाउने
भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र दिगो विकासका सबै लक्ष्य हासिल गर्ने गरी कार्ययोजना तयार गर्ने भएको छ। मेयर सोम मिश्रले शान्ति, न्याय, सुशासन प्रवद्र्वन गर्न सरोकारवाला निकाय तथा सामाजिक संघसंस्थासँग साझेदारी गर्दै अघि बढ्ने बताएका हुन्।
मेयर मिश्रले महिला हिंसा अन्त्य, बालअधिकारको सुनिश्चितता, स्वास्थ्यको अवसर, गुणस्तरीय शिक्षा, रोजगारको अवसर सिर्जना, सुरक्षाको प्रत्याभूति गराउने गरी नगरपालिकाले योजना बनाएर कार्य गरिरहेको जानकारी दिए।
विश्वले सन् २०३० सम्मका लागि तय गरेका १७ मध्ये नेपालको सन्दर्भमा आवश्यक १६ वटा लक्ष्य निर्धारित समयभन्दा अगावै गर्न नगरपालिका प्रतिबद्व रहेको उनको भनाइ छ। ‘यसका लागि ठूलो बजेट, स्रोत र साधन आवश्यक भएकाले सबै सरोकारवालाको साझेदारी आवश्यक छ’, उनले भने।
‘नेपालमा दिगो विकास लक्ष्य १६ को स्थानीयकरण’विषयक नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा मिश्रले यस्तो बताएका हुन्।
गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको कार्यक्रममा सोमबार उपमेयर बिना बास्तोलाले दिगो विकास लक्ष्यले निर्धारण गरेका कार्यहरू कुनै न कुनै रूपमा नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा समावेश भएको बताइन्। नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई दिगो विकास लक्ष्यसँग जोड्ने गरी योजना कार्यान्वयन गर्ने उनको भनाइ छ।