पाँचथरमा जताततै पहिरो : फालेलुङमा दुई घर भत्किए
पाँचथर : मंगलबार रातिदेखिको अबिरल बर्षाले फालेलुङ गाउँपालिकाको दर्जनौ स्थानमा पहिरो गएको छ । पहिरोले फालेलुङ ७ बाँस्बोटेमा दुई घर भत्काएको र दुई ओटा घर जोखिममा रहेको वडाध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए ।
घर माथिबाट आएको पहिरोले राजमान रिजाल र डिल्ली रिजालको घर भत्काएको हो । ‘बस्नै नमिल्ने गरी घर भत्काएको छ,’ केरुङले भने ‘घरमा मान्छे नभएकाले मानवीय क्षति हुन पाएन।’
काठ, ढुंगामाटो र टिनले छाएका तीन तले दुई घर पहिरोले भत्काएको हो । सोही स्थानमा बाचसपति रिजाल र फेमलाल रिजालको घर पनि पहिरोको जोखिममा परेका छन् ।
गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार बर्षाका कारण जताततै पहिरै पहिरो गएको छ । सडक अबरुद्ध भएका छन् । फालेलुङ ७ स्थित फासेबुङ खोलामा बाढीसहित आएको पहिरोले हजारौ रोपनी अलैँची बगान बगाएको छ । सडकबाट सुरु भएको पहिरोले पापुन्दिनसम्मको अलैँची बगान सखाप परेको हो ।
पहिरोले कुलो पनि भत्काएको स्थानीय प्रेमकुमार बाँस्कोटाले जानकारी दिए । ‘यो खोला आसपासमा पर्ने सबैको अलैँची बगान पहिरोले सखाप पारेको छ,’ उनले भने । फालेलुङ ३ को दुई स्थानमा पहिराले ठूलो क्षति पु¥याएको छ । वडा नम्बर ३ र पाँचलाई जोड्ने झोलुङ्गे पुल पनि पहिरोले भत्काएको अध्यक्ष केरुङले जानकारी दिए ।
‘हालै सम्पन्न झोलुङ्गे पुल भत्काएको हो,’ उनले भने ‘पहिरोको कारण सडक पनि अवरुद्ध छन् ।’ नवमी खोलामा गएको पहिरोले गाउँपालिका जाने मुख्य सडक नै अवरुद्ध गरेको हो । पहिरोकै कारण एक सातादेखि मेची राजमार्ग अवरुद्ध छ ।