खुल्ने भयो लाली र दौडा जोड्ने पुल
दार्चुला : निर्माण सम्पन्न भएको सात महिनापछि लेकम गाउँपालिकालाई भारतसँग जोड्ने गरी निर्माण भएको (लाली-दौडा) पुल संचालनमा आउने भएको छ। भारतीय अधिकारीले उक्त पुल संचालन गर्न स्वीकृत दिंदै परराष्ट्रमन्त्रालय मार्फत पत्राचार गरेपछि संचालन हुने भएको हो।
२०७३ असोज ४ मा करिब डेढ करोड लागतमा पुल निर्माणको सम्झौता भएर गत वर्षको पुसमा निर्माण सम्पन्न भएको थियो। सम्झौता अनुसार समयमै काम नहुँदा दुई पटक म्याद थप गरेर भारतको दौडा र नेपालको लेकम गाउँपालिकाअन्तर्गत छिरबिला (लाली) जोड्ने उक्त पुल अब उपयोगमा आउन सक्ने भारतीय दूतावासले जनाएको छ। पुल निर्माण सम्पन्न भएपनि संचालनमा आएको थिएन।
नेपाल सरकारको तुइन तथा ट्युब विस्थापन कार्यक्रमअन्तर्गत निर्माण गरिएको झोलुङ्गे पुलले लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रका नागरिकलाई नेपाल–भारत आवतजावतमा सजिलो पार्ने भएपनि औपचारिक रुपमा पुल सञ्चालनमा नल्याउँदा नागरिकले जोखिम मोलेरै ट्युबको सहारा लिनुपरेको थियो। २०४८ सालदेखि नै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७ वर्षपछि पुल त देखे तर उपयोगमा नआउँदा त्यही पुलको मुनीबाट ट्युबमा आवतजावत गर्न बाध्य थिए।
पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले पुल निर्माण सम्पन्न भएको जानकारी स्थानीय प्रशासनलाई गत मंसिरमा नै जानकारी गराएको हो। पत्रअनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले छिमेकी भारतको पिथौरागढ जिल्ला अधिकारी (डिएम)लाई लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा नियमित आवतजावतका लागि पत्राचार गरेको थियो। तर यसको स्वीकृत आउन ढिलाई भएकाले उपयोगमा आउन सकेको थिएन। अहिले सबै प्रक्रिया पुरा भएर जानकारी सम्बन्धित ठाँउमा पुगेको दुतावास अधिकारीले जानकारी दिए। भारतीय दूतावासले आफ्नो स्थानीय निकायसँग कूटनीतिक च्यानलमार्फत पत्राचार गरेर पुल खुला गर्ने सूचना बाहिर ल्याएको दूतवाास अधिकारीले बताए।
दूतावासले उक्त पुलको सबै चेक जाँच गरेर यसलाई खुला गर्न केन्द्रमार्फत पत्राचार गरेको हो। दार्चुला जिल्लामा नेपाल सरकारको तुइन उन्मूलन कार्यक्रमअन्तर्गत स्वीकृत गरेको ८ ओटा झोलुङ्गे पुलमध्ये महाकाली नदीमा ६ वटा पुलको भारतीय प्रशासनको स्वीकृत नगर्दा निर्माण सुरु भएको थिएन। जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रशासकीय प्रमुख शंकरबहादुर विष्टले पुल खुलाउने विषयमा छलफल भइरहेको तर अझै औपचारिक जानकारी कतैबाट नआएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने 'केन्द्रमा जानकारी भएको भए बिहीबारसम्म आउला।'
पुल सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामान, व्यापारिक सामान, औषधी उपचारलगायत विभिन्न सामान किनमेल गर्न लालीका स्थानीय ट्युबकै सहारामा महाकाली वारपार गरेर भारतीय बजार जाने गरेका छन्। नेपालतिर सडक पहुँच नहुँदा अहिले पनि लालीका स्थानीय भारतीय बजारमा निर्भर हुनुपरेको छ। लालीका स्थानीय बासिन्दालाई नेपाली सामान खरिद गर्न बैतडीको झुलाघाट जान सजिलो छ तर, दार्चुला सदरमुकाम खलङ्गा पुग्न टाढा छ।