हरिलालको दुर्लभ संग्रहालय
काठमाडौं : डम्फु आकारका रंगीन बाजाहरू भित्ताभरि झुन्डिएका छन्। तीमध्ये एकलाई उचाल्दै हरिलाल नेपाली कुलू (५८) समुद्रको छालजस्तै आवाज निकाल्छन्। मादल आकारको बाजाबाट उनी नदी किनारामा कराउने कीराहरूको आवाज सुनाउँछन्। डमरुजस्ता देखिने बाजाबाट हावाको तरंग निकालिदिन्छन्। यी आवाजहरू सुन्दा निकै आनन्द आउँछ।
ललितपुरको सौगल टोलमा हरिलालको सानो नेपाली सांस्कृतिक बाजा संग्रहालय छ। उनी यो संग्रहालयलाई उद्योग भन्न रुचाउँछन्। मौलिक सांगीतिक धरोहरलाई संरक्षण गर्नुपर्ने उनको मान्यता छ।
हरिलाल आफैं सबै किसिमका बाजागाजा बनाउन माहिर छन्। घरको कौसीमा उनले काम गर्ने सानो ठाउँ छ। उक्त ठाउँलाई शान्त र रमणीय बनाउन बगैंचा बनाइएको छ। हरिलाल संगीतमा झुम्दै त्यही बगैंचाको एक कुनामा बसेर घण्टौं काममा मस्त रहन्छन्। उनको यो स्वभाव कताकता जिज्ञासु बालकको झैं लाग्छ। फ्याल्न राखिएका सामान उठाएर उनी राम्रा चिटिक्क परेका थरीथरी बाजा बनाइदिन्छन्। भन्छन्, ‘म जस्तोसुकै चीजको बाजा बनाइदिन्छु।’
उनीसँग यति धेरै बाजा बनाएको अनुभव छ कि अब उनी चित्र हेरेकै भरमा जस्तोसुकै कठिन वाद्यसामग्री बनाउन सक्दा रहेछन्।
उनको सानो संग्रहालयमा नेपाली मौलिक तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित बाजागाजा थुप्रै छन्। आफ्नै हातले दिन रात मेहनत गरी बनाएका ती बाजाहरू कोठाको चारैतिर फैलिएका छन्, जुन निकै दुर्लभ दृश्यमध्ये एक हो।
उक्त कोठा प्रवेश गर्नेबित्तिकै सितार, सरोड, तबला, हार्मोनियम, अर्बाज, सारंगी, मादल, बाँसुरी सबै एकसाथ बजिरहेको प्रतीत हुन्छ। उनको संग्रहालयमा ग्राहकहरूको ओहोरदोहोर भई नै रहन्छ। कोही गिटारको तार चुँडियो भन्दै त्यहाँ पुग्छन्। कोही नयाँ बाजाको खोजीमा आउँछन्।
संगीतप्रेमीहरू उनको संग्रहालयमा पुगेपछि दंग पर्दै भन्छन्, ‘यो कति वर्षदेखिको लगानी हो ? ’
हरिलालका पुस्ता बाजागाजा बनाउने कालिगड थिए। सन् १९६० मा उनका बुबा प्रेमलाल कुलूले बाजाहरूले सजिएको स्वागतद्वार नै बनाएका थिए। शीतल निवास जाने बाटोमा बेलायती महारानी एलिजाबेथ नेपाल आउँदा उक्त द्वारको प्रयोग भएको थियो।
त्यतिबेला उनी आमाको गर्भमै थिए। पछि उक्त द्वारलाई हरिलालले ललितपुर महोत्सवमा सार्वजनिक गरे। ‘अब त्यही नेपाली बाजाले भरिएको स्वागत द्वार अन्तर्राष्ट्रिय बाजाहरूले भर्न चाहन्छु,’ उनले भने।
नेपालको पहिचान नै मौलिक संस्कृति हो। यो संस्कृतिलाई यहाँको पारम्पारिक संगीत र वाद्यवादकले सुमधुर बनाएको छ। मानिसको जीवनको धुन बनेर गुञ्जिरहने यी संगीतहरू मन्दिरमा राखिने घण्टदेखि काठका बाँसुरीसम्ममा सुर बनेर फैलिरहन्छ। जुन हरिलालको संग्रहालयमा बडो सानसँग पलेँटी मारेर बसिरहेका छन्।
नेपाली बाजा धिमे, नगाढा, कर्नाल, ढमरु, ढ्याङ्ग्रो, डम्फुजस्ता पचासौं बाजा उनीसँग संग्रृहीत छन्। त्यस्तै गुजरात सारंगी, इरान, टर्किसतिर बजाइने सारंगी, अफ्रिकन, भारतीयलगायत दर्जनौं इन्स्ट्रमेन्ट बनाउने काममा उनी जुटेका छन्। भन्छन्, ‘हरेक अन्तर्राष्ट्रिय बाजाको स्वरूप तयार पार्ने मेरा लक्ष्य छ।’
हरिलाल ठूल्ठूला बाजागाजालाई खेलौना शैलीमा पनि बनाउँछन्। यो काम उनले सन् २००० देखि नै सुरु गरेका थिए। उपहार दिन, होटेल रेस्टुरेन्टमा सजाउन, पुतलीका लागि प्रयोग गर्न उनले बनाएका यी सामान प्रयोगमा आउँछन्। उनीसँग नेपाली मौलिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमै बढी प्रचलनमा आएका बाजाहरूको थुप्रै कलेक्सन भइसके।
उनले आफ्नै क्रियसनमा समुद्री छालको आवाज, तरंग पैदा गर्ने बाजाहरू बनाएका छन्। यसलाई उनी साउन्डथेरापी, म्युजिक मेडिटेसनको लागि समेत प्रयोग गर्न सकिने बताउँछन्। भन्छन्, ‘मैले बनाएका साना शैलीका बाजाहरूमा पनि यो थेरापीको प्रयोग गरेको छु।’
यस्तो किसिमको बाजा पहिलो पटक उत्पादन गर्दा भारतीयहरूले प्रदर्शनीको लागि लगेका रहेछन्। उक्त बाजाको नाम नभएकाले त्यहाँ उनकै नामबाट ‘हरितरंग’ नाम राखिएको प्रसंग उनी हाँस्दै सुनाउँछन्।
हरिलाललाई संगीतप्रतिको रुचि त्यत्तिकै जागेको होइन। उनी कुनै समय नेपाल आर्मी ब्यान्डमा ड्रमर थिए। त्यहाँ ३५ वर्षसम्म काम गरेका उनी विदेशी मात्र होइन, नेपाली ड्रम सेट पनि बजाए। उक्त ड्रममा ६५ ओटा नेपाली बाजाहरू जोडिएका छन्। जसमा तबलादेखि मादल, नगरा छन्। उक्त ड्रम बजाएर उनले टुँडिखेलमा राजा वीरेन्द्रलाई एक समारोहमा सुनाएका थिए। राजपरिवारको हत्यापछि भने उनले उक्त ड्रम औपचारिक रूपमा बजाउने मौका कहिल्यै पाएनन्।
हरिलालको बाजागाजासम्बन्धी काम जिजु हजुरबुबादेखि नै चल्दै आएको छ। उनले त यसलाई निरन्तरता मात्र दिएका हुन्। अब आउने नयाँ पुस्ताले पुराना तथा मौलिक बाजागाजा पहिचान गर्न सकोस् भन्दै उनले सबै बाजाको कलेक्सन राखेको बताए। उनी आफ्ना दुर्लभ कलेक्सन हेर्दै आफैं दंग पर्छन् र भन्छन्, ‘यस्तो संग्रहालय बन्नु हाम्रा लागि खुसीको कुरा हो।’
अहिले हरिलाल विद्यार्थीलाई म्युजिकको नोटेसन सिकाउने गर्छन्। साथै बाजा पनि बनाउँछन्। म्युजिकको ज्ञान भएपछि यस्तो काम गर्न मज्जा आउने उनले बताए।
उनले एउटा टुङ्ना बनाउन आठ वर्ष लगाएका रहेछन्। प्रत्येक बाजाका आवाजलाई चिन्न सक्ने हरिलाल टुङ्नालाई आफ्नो काखमा सानो शिशुलाई राखे जसरी राखेर सुम्सुम्याउँदै भन्छन्, ‘काठ नसुकी बाजा बनाउँदा ट्युन अफ हुन्छ। त्यसैले यो बनाउन लामो समय लाग्यो।’
म्युजिकप्रति यति धेरै ज्ञान राख्ने हरिलाल आफैंले कुनै म्युजिक कम्पोजिसन भने गरेका छैनन्। भन्छन्, ‘अहिले म्युजिक उत्पादन गर्ने एकै खालको समूह छन्। जहाँ पनि उनीहरूकै हालिमुहाली छ। तर उनीहरूबाट नयाँ संगीत सिर्जना हुने सम्भावना देख्दिनँ।’
स्थानीय मौलिक संगीतलाई अगाडि बढाउने हो भने हामीसँग थुप्रै क्रियसन छन्,’ उनले लामो सुस्केरा हाल्दै भने, ‘तर यसको प्रयोग हुनै सकेको छैन।’ सरकारले स्थानीय संगीतलाई विकास गर्न नसकेको उनी बताउँछन्।
संगीतले सामाजिक जीवनमा सधैं बिम्बको काम गरिरहेको हुन्छ। अभिव्यक्ति, सञ्चार, उत्सव, पूजा, अनुष्ठान र आनन्दको स्रोत सबै संगीतमा हुन्छ। नेपालमा शास्त्रीय संगीत र केही लोकसंगीतमा मौलिक बाजाको प्रयोग भएका छन्। बाँकी सबै आधुनिकीकरणमा भइसकेकोमा हरिलालले दुःख व्यक्त गरे। भन्छन्, ‘हाम्रो पुस्तापछि लोप हुने अवस्थामा पुगेका मौलिक बाजागाजाको अस्तित्व अब कसले जोगाउँछ ? ’