वायुसेवा निगम संकटमा

वायुसेवा निगम संकटमा

काठमाडौं :  वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन्। निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन्।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन। निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यावासायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको विवरणअनुसार आव २०७५/७६ को औसत घाटा एक अर्ब ८२ करोड रुपैयाँ छ।

निगमले वाइडबडीलाई पूर्णक्षमतामा उडान गर्न सकेको छैन। लामो दूरीको उडान क्षमताका जहाजलाई छोटो दूरी (कतार, यूएई र दिल्ली) मा सीमित बनाएको छ। निगमले तयार पारेको तीन वर्षे कार्ययोजनामै आव २०७६/७७ मा पनि ८५ करोड रुपैयाँ र आगामी वर्षमा समेत ५२ करोड रुपैयाँ घाटा हुने अनुमान छ।

निगमले वाइडबडी भित्र्याएपछि कर्मचारी सञ्चयकोषकै १० अर्ब ऋणबाट खरिद गरेका न्यारो बडी ए३२०–२०० नामक दुई वटा जहाजको पनि नियमित किस्ता तिर्न सकेको छैन। वाइडबडीको उडान सञ्चालन खर्च, उडान व्यवस्थापनमा मिलाउँदा बढेको लागत र जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा घाटा बढेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले अन्नपूर्णलाई जानकारी दिए।

 निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

निगमले किस्ता तिर्न नसकेको र कम्पनी सञ्चालन गर्न नगद अभाव भएको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ। यो रकम सरकारले पुँजीको रूपमा लगानी गर्नुपर्ने माग निगमको छ। जहाज खरिदसहित निगमको ऋण ३७ अर्ब रुपैयाँको पुगिसकेको छ। निगमसँग नगद अभाव भएकाले पुसदेखि असार मसान्तसम्मको तीन किस्ता तिर्न नसकको र अझै २/३ वर्ष तिर्न नसक्ने चन्दले बताए।

सञ्यकोषले माग्यो एक अर्ब ९१ करोड

समयमै ऋण नतिरेको र किस्ता पनि नबुझाएका कारण कर्मचारी सञ्चय कोषले मात्रै २२ अर्ब ऋणको तीन किस्ताको रकमबापत एक अर्ब ९१ करोड रुपैयाँ सरकारसँग माग गरेको छ। निगमले असार मसान्तसम्ममा कर्मचारी सञ्चय कोषलाई न्यारोबडी किन्दा लिएको १० अर्ब र वाइडबडीका निम्ति लिएको १२ अर्बको ब्याज र किस्ता गरी उक्त रकम तिर्न बाँकी छ।

निगमले न्यारो बडीको नियमित किस्ता तिरेर न्यारोबडीको ऋण करिब दुई अर्ब घटाइसकेको थियो। तर, वाइडबडी भित्रिएपछि यसकोे खर्च र उडान व्यवस्थापन मिलाउन नसक्दा घाटा चुलिएको छ। निगमले कर्मचारी सञ्चय कोषलाई मात्रै न्यारोबडीको नौ अर्ब र वाइडबडीको १२ अर्ब ऋण छ।

असारसम्मको एक अर्ब ब्याजलाई पुँजीकरण गरेर निगमको ऋण २२ अर्ब नाघेको कर्मचारी सञ्चय कोषका लगानी विभाग प्रमुख अर्जुनकुमार गौतमले बताए। उनका अनुसार असार मसान्तसम्म निगमले तिर्नुपर्ने एक अर्ब ९१ करोडमा एक अर्ब ४३ करोड रुपैयाँ पुँजीकरण गरिएको छ। ऋण तथा जमानत ऐन २०२५ को दफा ४७ अनुसार सरकार जमानी बसेको र निगमले ऋण तिर्न नसकेपछि उक्त रकम सरकारमार्फत माग भएको गौतमले जानकारी दिए।

सहमति कार्यान्वयन नहुँदा समस्या

निगमले ऋण लिँदा गरको सम्झौतापालन नगरेको र नियमित किस्तासमेत नआएको कोषको भनाइ छ। निगमले गत साउनदेखि चैतसम्ममा अन्तर्राष्ट्रिय उडानबाट पाँच अर्ब ९८ करोड रुपैयाँ कमाएको छ। टिकट बिक्रीबाट भएको यस्तो आम्दानीको ३० प्रतिशत रकम छुट्टै कोष बनाएर राख्नुपर्ने सहमति ऋण लिँदा कोषसँग गरेको थियो। तर, निगमले जहाजको उडान व्यवस्थापन मिलाउनु, कर्मचारी खर्च, इन्धनको शुल्कसहित अत्यावश्यक क्षेत्रमा खर्च गरिएकाले कोषमा रकम जम्मा गर्न नसकेको जानकारी दिएको उल्लेख छ। यस्तो कोषमा अनिवार्य राख्नुपर्ने रकम जम्मा नगरेको र ऋण लिँदा गर्नुपर्ने निगमको राम्रोसँग पालना नगर्दा समस्या भएको पनि कोषको बुझाइ छ।

निगमले ऋण तिर्न नगद अभाव भएको उल्लेख गरेको छ। आगामी वर्ष एक अर्ब २२ करोड र अर्को वर्ष एक अर्ब १७ करोड रुपैयाँ ऋण तिर्न आवश्यक रकम लाग्ने उल्लेख छ। यो रकमअनुसार निगमले सञ्चय कोष र नागरिक लगानी कोषको निम्ति तीन अर्ब आठ करोड रुपैयाँ तिर्न सकेको छैन। नागरिक लगानी कोषबाट लिएका १२ अर्ब रुपैयाँमा पनि निगमले हालसम्म जम्मा २८ करोड रुपैयाँ मात्रै तिरेको छ त्यसपछि थप रकम नबुझाएको नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए।

उनले भने, ‘निगमले तिर्नुपर्ने असारसम्मको तीन किस्ताबापतको रकम एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ।’ नागरिक लगानी कोषले पनि यो रकम सरकारबाटै माग गरेको छ। निगमले यो रकम तिर्न नसकेपछि सावाँमै थप भए पनि यसको ऋण एक अर्ब रुपैयाँले बढेको लगानी कोषले जानकारी दिएको छ।

घाटाको कारण वाइडबडी

वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार निगमले हालसम्म कति आम्दानी गरको र यसको घाटा कति भयो भनेर एकीन तय नभएको बताए। उनले भने, ‘बैंकको जस्तो नाफा घाटा तत्कालै निकाल्न सकिँदैन। तर, वाइड बडीका कारण निगमको उडान भने घाटामा चलेको चाहिँ सत्य हो।

उनका अनुसार कार्ययोजना अनुसार निगमले जहाजको उपभोग क्षमता बढाउन नसक्दा किस्ता तिर्न नसकेको तथा निगमले घाटा सहनुपरेको हो। निगमले आगामी भदौ १२ देखि जापानको ओसाका उडान गर्ने तालिका तय गरेको छ। त्यसपछि वाइडबडीको हालको १० घण्टा उडान समयलाइै दैनिक औसत १२ घण्टामा पुर्‍याइनेछ। न्यारोबडीको पनि औसत उडान समय ११ घण्टा मात्रै छ। यसलाई पनि वाइडबडी लामो गन्तव्यमा गएपनि बढाउन सकिन्छ। हाल निगमको वाइडबडीले न्यारो बडीको गन्तव्यमा उडान गरेकोले गत वर्ष १२ घण्टा औषत दैनिक उडान पुर्‍याएको जहाजको समय पनि १० घण्टामा झर्न पुगेको चन्द बताउछन्।

लामो दूरीको जहाजको उडान छोटोमा

हाल निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य दिल्ली, बैंकक, बम्बै, क्वालालम्पुर, बैंकक, हङ्कङ, दोहा र दुवाई छ। यी सबै गन्तव्यमा १५८ सिट क्षमताका न्यारोबडीले नै भ्याइरहेका थिए। २७४ सिट क्षमतका वाइड बडी थपिएपछि पनि भएको दोहा, दिल्ली र दुवाईमा दैनिक १/१ उडान गर्ने र बाँकी समय वाइडबडी जहाज प्रयोगबिहिन भइरहेको प्रवक्ता चन्दले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.