मलको मूल्यमा मनपरी

मलको मूल्यमा मनपरी

मलंगवा : बजारमा मलको अभाव भएपछि पसलेले किसानसँग चर्को मूल्य लिएर मल बेच्दै आएका छन्। बजारमा मल अभाव भएपछि कृषी सामग्री कम्पनी लिमिटेडको मूल्यभन्दा ३ सयदेखि ४ सयसम्म बढी मूल्य लिएर पसलेले मल बेचेको पाइएको हो।

अनुगमन गर्ने निकाय मौन बस्दा पसलेले मनपरी रकम लिने गरेको किसानले गुनासो गरेका छन्। धान रोपाइँ गर्ने बेलामा मल आवश्यक भएपछि किसान बाध्य भएर चर्को मूल्य तिरेर मल किन्न बाध्य छन्। कृषी सामग्री कम्पनी लिमिटेडमा ७ सय ६५ रुपैयाँ पर्ने युरियाको १२ सयसम्म र २२ सय १५ रुपैयाँ पर्ने डीएपीको २५ सयसम्म लिने गरेको किसानले गुनासो गरे।

धान रोप्ने बेलामा मल नपाएपछि चर्को मूल्य तिरेर मल किन्नुपरेको बरहथवा १२ लौकठका जोगेन्द्र राय यादवले गुनासो गरे। भारतीय बजारमा सस्तोमा मल पाए पनि विभिन्न नदीमा आएको बाढीले बाटो भत्काएपछि त्यहाँबाट ल्याउन समस्या छ। कृषी सामग्री कम्पनी लिमिटेडले पनि कृषकलाई मल दिँदैन। सहकारीको माध्यमबाट मल वितरण गरिए पनि गरिब किसानको हातमा मल पर्दैन। सहकारीले पनि सुकिला मुकिला किसानलाई मात्र मल दिने गरेको यादवले बताए। हामी माग्न गयौं भने मल छैन भन्छ। तर त्यही मल २ दिनपछि बजारको पसलमा पुगेको हुन्छ। पसलेसँग बढी पैसा लिएर सहकारीले थोकमा बेच्दा किसानलाई समस्या भएको यादवको आरोप छ।

रोपाइँ गर्ने बेलामा एक बिघा खेतमा दुई बोरा डीएपी मल हाल्नुपर्छ। त्यसपछि गोडमेल गरेपछि फेरि युरिया मल हाल्नुपर्छ। मलको महँगी, त्यसमाथि बढ्दै गरेको खेतालाको मजदुरी, खेतको जोताइ, गोडमेल, पाकेपछि धान कटाइ सबैको हिसाब गर्दा धान खेती निकै महँगो भएको यादवले बताए। दिनदिनै सबै चिज महँगो भए पनि धानले उचित मूल्य नपाउँदा किसानलाई धान खेतीबाट फाइदा नभएको यादवले बताए।

कृषी सामग्री कम्पनी लिमिटेडमा मल नहुँदा किसानलाई मर्का परेको कम्पनीका मलंगवा सर्लाही प्रमुख ब्रजमणी लामाले बताए। गत महिना ६ सय ५० टन मल बिक्री भयो। अहिले गोदाममा पर्याप्त मल छैन। ‘३५÷४० टन मल मात्र हामीसँग छ’, उनले भने, ‘जिल्लाका सबै सहकारीलाई बराबर बाड्यौं भने एउटाको भागमा ३÷४ बोरा पर्न जान्छ।’ यो वर्षमा ४ हजार टन मल बिक्री वितरण भइसकेको छ। जिल्लामा अहिले पनि मलको आवश्यकता छ। हामीले माग गरेका छौं। तर, ढुवानी गर्ने सवारीसाधन आन्दोलित भएपछि मल ल्याउन समस्या भएको लामाले बताए।

नियमित अनुगमन नहुँदा किसानलाई चर्को मूल्यमा मल खरिद गर्नुपरेको लामाले बताए। कम्पनीबाट मल लिएर गएका सहकारी पनि कृषकलाई दिनुपर्ने मल सोझै व्यापारीलाई बिक्री गर्दा किसान मर्कामा परेको हो। जिल्लामा धेरै झोले सहकारी पनि छ। मल लिने बेलामा मात्र देखा पर्छन्। त्यस्ता सहकारीसँग मल राख्ने गोदाम र बिक्री गर्ने काउन्टर छैन। गोदाम र काउन्टर नभएपछि कसरी बेच्ने भनेर सोझै केही फाइदा लिएर त्यस्ता सहकारी पसलेलाई बेच्ने गरेको लामाले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.