जीपको ठक्करले मान्छेको मृत्यु भएपछि भागेका चालक पक्राउ
दमौली : तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भयो । तर, जीप भने फरार भयो। प्रहरीले सीसीटीभी फुटेजका आधारमा शुक्रबार जीप चालकलाई नियन्त्रणमा लिएको छ । बाग्लुङको बुर्तिवाङबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जीपलाई आँबुुखैरेनी प्रहरीले शुक्रबार नियन्त्रणमा लिएकोछ हो ।
जीपले बिहीबार बिहान सवा पाँच बजे आँबु २ बगुवास्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा स्थानीय पानी घट्टा घर भएका ७९ वर्षका खड्गबहादुर दर्लामीको ज्यान गएको थियो ।
बिहानै भएको घटनालगत्तै चालक फरार भएकाले प्रहरीले पहिचान गर्न सकेको थिएन । प्रहरीले राजमार्गको सीसीटीभी फुटेज अध्ययन गर्दा सवारी पहिचान गरे पनि नम्बर चिन्न सकेको थिएन ।
सोही सवारीको धादिङस्थित बेनीघाटको फुटेज अध्ययन गरेर नम्बरसमेत पहिचान गरेपछि प्रहरीले सवारी र चालकको विवरण संकलन गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक महेशराज पाठकले बताए ।
जीपका चालक सम्पर्कमा आएपछि कार्यालयबाट खटिएको टोलीले चालक बाग्लुङ गल्कोटका २४ वर्षका दीपक दर्जीलाई पक्राउ गरेको हो । चालक दर्जीले मानिसको ज्यान गएको र आफूसँग बिरामी भएकाले असुरक्षाका कारण भागेको बयान दिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । प्रहरीले चालक दर्जीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।