सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक : के छन् एजेन्डा ?
काठमाडौं : कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ। बिहीबारको बैठक बिना निष्कर्ष सकिएपछि शुक्रबार पुनः बैठक बसेको हो। बैठकमा १४ औं महाधिवेशन र पार्टीको संघीय संरचनाको विषयमा छलफल भइरहेको छ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्य महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा।.चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले विचार व्यक्त गरेका थिए।
शुक्रबारको बैठकमा अन्य नेताले धारणा राख्नेक्रम सुरु भएको छ। बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाको विषयमा छलफल भइरहेको छ।
२२ असारमा सुरु भएको केन्द्रीय समिति बैठकमा विभिन्न १४ एजेन्डा प्रस्तुत भएका थिए।
अघिल्लो केन्द्रीय समिति बैठकमा पार्टी सभापतिको निर्देशन अनुसार महामन्त्री पूर्णबहादुर खड्काले बैठकको एजेण्डा प्रस्तुत गरेका थिए। बैठकमा उनले प्रस्तुत गरेका एजेण्डामाथि पनि छलफल हुनेछन्।
खड्काले प्रस्तुत गरेका १४ एजेण्डा
- नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ समितिका संयोजक केन्द्रीय सदस्य रमेश लेखकद्वारा प्रस्तुत गरिने।
- पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा।
- विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्बन्धमा।
- २०७६ वैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको ‘हिमाल, पहाड, तराई-मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन प्रस्तुत गरिने।
- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने।
- केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने।
- नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरिने।
- भातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा।
- पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघका सम्बन्धमा।
- जनसम्पर्क समितिका सम्बन्धमा।
- स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा।
- तनहुँ जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्बन्धमा।
- देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ।
- विविध