कर्णालीका डल्फिन संकटमा

कर्णालीका डल्फिन संकटमा

टीकापुर : विश्वमै दुर्लभ मानिएको स्तनधारी डल्फिन केही वर्ष पहिलेसम्म कैलालीका विभिन्न पाँच नदीमा पर्याप्त देखिन्थे। कर्णाली, मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा डल्फिन सहजै देख्न सकिन्थ्यो। त्यतिबेला स्थानीयले डल्फिनलाई स्वाँसु, सोंसलगायत भन्थे। तर, अहिले डल्फिन विस्तारै कम देखिन थालेका छन्। कहिलेकाँही दिनभर पनि देख्न मुस्किल हुन्छ।

अहिलेसम्मको अध्ययनले मोहना–पथरैया र पथरैया–कन्द्रा नदीको दोभानमा धेरै डल्फिन देखिने गरेको छ। यो वर्ष उक्त ठाउँमा समेत डल्फिन देख्न गाह्रो भइरहेको स्थानीय बताउँछन्। ‘पहिले त यही दोभानमा कति धेरै डल्फिन देखिन्थे’ पथरैया नदीमा डुंगा चलाउँदै आएका वीरबहादुर देउवाले भने। तर हिजोआज भने देख्नै मुस्किल भइसक्यो।’

संरक्षणकर्मीका अनुसार डल्फिन कम देखिनुमा नदीमा जलाधार घट्नु, बासस्थान मासिनु, आहार घट्नु, पानी प्रदुषित हुनु, नदीसँगै जोडिएर भौतिक संरचना निर्माण हुनुले डल्फिन देखिन थालेका हुन्। यी कुरामा ध्यान दिन सके मात्रै डल्फिन संरक्षण प्रभावकारी हुने संरक्षणकर्मीको धारणा छ।

यो वर्ष सबै नदीमा पानीको सतह कम छ। प्रयाप्त मात्रामा वर्षा नभएका कारण नदीमा पानीको सतह घटेको छ। डल्फिन गहिरो पानी जमेको ठाउँमा बस्न रुचाउँछ। नदी कटानीले गर्दा त्यस्ता पानी जमेका ठाउँ मासिदै गएका छन्।

डल्फिनलाई अत्यावश्यक कुरा नदीमा पाइने साना माछा हुन्। पानी प्रदुषणलगायत कारण नदीमा माछाको संख्या घटेको छ। आहारका रूपमा रहेको माछा नै नभएपछि डल्फिन नदीमा देखिन छोडेको डल्फिन संरक्षण केन्द्र ढुंगाना टोलका अध्यक्ष संरक्षणकर्मी भोजराज ढुंगाना बताउँछन्।

डल्फिन कम देखिन थालेपछि आफूहरूको अभियान असफल हुने हो कि भन्ने चिन्ता स्थानीयको छ।

उनले नदीमा तटबन्धलगायत भौतिक संरचना निर्माण गर्दा डल्फिनलाई अनुकूल हुने गरी निर्माण गरिनुपर्ने बताए। ‘उसले नदीमा निर्माण भएको तटबन्धका कारण असहज महसुस गरेको जस्तो लाग्छ’, ढुंगानाले भने। ‘ती संरचना डल्फिनमैत्री बनाएर निर्माण गरिनुपर्दछ।’

डल्फिन कम देखिन थालेपछि स्थानीयस्तरबाट संरक्षणमा जुटेकाहरू निराश बनेका छन्। उनीहरू डल्फिनकै कारण नदी तटीय क्षेत्रलाई पर्यटनसँग जोड्ने अभियानमा छन्। डल्फिन कम देखिन थालेपछि आफूहरूको अभियान असफल हुने हो कि भन्ने चिन्ता उनीहरूमा छ।

डल्फिन देखिन कम भए पनि उसको संख्यामा कमी नआएको संरक्षणकर्मी विजयराज श्रेष्ठको दाबी छ। ‘हो, पहिले धेरै देखिन्थ्यो, अहिले कम देखिन्छ’, उनले भने। ‘यसैका आधारमा डल्फिनको संख्या कम भयो भन्नु गलत हुनेछ।’

उनले यी नदीहरूमा करिव १५० को हाराहारीमा डल्फिन रहेको बताए। प्रोफेसर डाक्टर मुकेश चालिसेले गत वर्ष गरेको गणनामा भने डल्फिनको संख्या ४७ मात्रै छ। जसमध्ये १२ वटा बच्चा छन्। सबैभन्दा धेरै मोहना र पथरैया नदीको दोभानमा ७ वटा देखिएका थिए। उनले विगत तीन वर्षदेखि डल्फिन गणना गर्दै आएका छन्। यसअघि २०७२ र २०७४ मा गणना गरेका थिए।

संरक्षणकर्मी श्रेष्ठ सरकारी बेवास्ता नै डल्फिन संरक्षणको सबैभन्दा ठूलो समस्या रहेको बताउँछन्। उनी राज्यस्तरबाटै डल्फिन संरक्षित क्षेत्र घोषणा हुनुपर्ने माग गर्छन्। स्थानीयले भने आफ्नै पहलमा डल्फिन संरक्षित क्षेत्र घोषणा गरेर संरक्षण गर्दै आएका छन्।

स्थानीयकै पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना भएका छन्। समुदायमा ३ वटा इको क्लब र ९ वटा डल्फिन क्लब गठन गरिएका छन्। डल्फिन संरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव ६० हजार स्थानीय सक्रिय रहेको संरक्षणकर्मी ढुंगानाको भनाइ छ।

सबैभन्दा पहिले भोजराज श्रेष्ठ (गुलेली बाजे)ले पहिलोपटक २०५६ मा डल्फिन संरक्षणको पहल थालेका थिए। उनलाई अमेरिकी नागरिकले डल्फिनको महŒवबारे सुनाएपछि यस्तो पहल थालेका हुन्। त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे। कहिलेकाँही स्थानीयले समेत मार्थे। माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए। त्यसको महŒवबारे कसैलाई जानकारी नै थिएन।

कैलालीका यी पाँचवटा नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइन्छ। यो मांसाहारी प्राणी हो। यसले मुख्य आहारका रूपमा माछा, घोँगीलगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.