खाडीचौर–चरिकोट सडकमा यात्रुलाई सास्ती

खाडीचौर–चरिकोट सडकमा यात्रुलाई सास्ती

दोलखा : खाडीचौर–चरिकोट सडकको विभिन्न खण्ड खाल्डाखुल्डी र हिलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नुपरेको छ।  तीन जिल्लाका यात्रुले प्रयोग गर्ने उक्त सडक बिग्रँदा एक सातादेखि ढुवानीमा समेत समस्या भएको छ। जसले गर्दा जिल्लामा अत्यावश्यक सामग्री खाद्यान्न, औषधि, इन्धनलगायत अभाव हुन थालेको छ। 

ठेकेदार कम्पनीको र परामर्शदाताको लापरबाही, सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौंदेखि चरिकोटसम्मको १ सय ३३ किलोमिटर दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने यात्रुको गुनासो छ। 

यात्रुले सबैभन्दा बढी खाडीचौर–मुडे खण्डको २५ किलोमिटर सडकमा सास्ती व्यहोर्नुपरेको छ। उक्त खण्डमा ठेकेदार कम्पनीले गुणस्तरहीन सब–बेस बिछ्याएका कारण बाटोमा ४ फिटसम्मका खाडल बनेका छन्। साताभन्दा अघिदेखि सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन डोजर प्रयोग गर्नुपरेको छ। सिन्धुपाल्चोक जिल्लाको लिशंखुपाखर गाउँपालिका–७, डाँडापाखरमा खटिएका प्रहरी हवल्दार ज्ञानबहादुर बोहराले दैनिक डेढ सयभन्दा बढी सवारीसाधनलाई डोजरले नै तानेर पठाउने गरेको बताए। ‘सडकको दुर्दशाले सयांै यात्रुले कष्ट व्यहोर्नुपरेको छ’, उनले भने, ‘आफू चढेको गाडीलाई डोजरले तान्ने पालो कहिले आउला भनेर घण्टौंदेखि पर्खिनुपर्ने बाध्यता बनेको छ। ’

गुणस्तरहीन सब–बेस बिछ्याएको देख्दादेख्दै पनि परामर्शदाता कम्पनी इटेको नेपालले काम रोक्न पहल नगरेको सरोकारवालाको आरोप छ। खाडीचौर–चरिकोट सडकअन्तर्गत पहिलो प्याकेजको ठेकेदार गौरीपार्वतीका प्रतिनिधि रामकुमार थापाले सडक सुधार गर्न पहल गरिरहेको बताए। 

भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार गरिएको छ। तर, ढल तथा नालाको व्यवस्थापन नगरेकै कारण यात्रु तथा ढुवानीका साधनले सास्ती खेप्नुपरेको पाखरका स्थानीय सानुकान्छी तामाङले बताइन्। ‘हामीलाई आफ्नै घरमा पुग्न पनि समस्या छ, सवारीसाधन त गुड्न नसकेर २÷३ दिनसम्म थन्किएर बसेका छन्’, उनले भनिन्, ‘सडकको दुवै किनाराबाट हिँड्नसमेत चरम समस्या छ। ’ सडक व्यवस्थापनका लागि कर्मचारी तथा ठेकेदार कम्पनीका कोही पनि उपस्थित नभएको तामाङले बताइन्। 

जीर्ण सडकका कारण पर्यटन व्यवसाय प्रभावित बनेको छ। मालवाहक गाडीलाई राजधानीबाट चरिकोट पुग्न चार दिनसम्म लाग्ने गर्छ। जोखिमपूर्ण सडकमा सामान बोकेर गाडी चलाउनुपरेको भन्दै मालवाहक गाडीको भाडा बढेको छ। 

मुडे–चरिकोट सडकखण्डको लाम्चेआहाल क्षेत्रको जोखिमपूर्ण यात्रा गर्दै। 

खाडीचौर–मुडे खण्डको २५ किलोमिटर र मुडे–चरिकोट खण्डको ३० किलोमिटर सडक विस्तारका लागि ०७२ भदौमा सम्झौता भएको थियो। कालोपत्रेसहित दुवै सडक सम्पन्न गर्ने अवधि दुई वर्षको थियो। सम्झौता अवधि थप गरिएको म्याद नाघेको डेढ वर्ष बितिसक्दासमेत दुवै कामको प्रगति ७० प्रतिशत मात्र भएको छ। 

थपेको म्यादमा समेत सडक निर्माणले उल्लेख्य प्रगति गर्न नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ। खाडीचौर–मुडे सडकखण्डको ठेकेदार कम्पनी सिमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभीले अहिले दैनिक करिब ३ लाखका दरले हर्जना तिरिरहेको छ।

मुडे–चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले दैनिक करिब ४ लाखका दरले हर्जना तिरिरहेको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख एवं आयोजना प्रमुख धमेन्द्रकुमार झाले बताए। आयोजना प्रमुख झाका अनुसार अहिले खाल्डाखुल्डी पुर्ने र अन्य आवश्यक व्यवस्थापनको काम भइरहेको छ। 

कांग्रेस दोलखाले बिहीबार दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर ७ दिनभित्र सहज आवागमनका लागि अल्टिमेटम दिएको छ। शुक्रबार दोलखा उद्योग वाणिज्य संघले प्रजिअलाई ज्ञापनपत्र बुझाएर शनिबार चरिकोट बजार बन्द गर्ने घोषणासमेत गरेको छ। शुक्रबार नै सिन्धुपाल्चोकमा आयोजित ठेकेदार, आयोजना र प्रशासन सम्मिलित त्रिपक्षीय छलफलले शनिबारदेखि सोमबारसम्म ३ दिन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म आवतजावत पूर्णरुपले बन्द गरी सडक मर्मत गर्ने निर्णय गरेको आयोजना प्रमुख झाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.